प्रख्यात समाचारवाचक प्रवीण गिरी रहेनन्

काठमाडौं, १५ साउन । ‘यो रेडियो नेपाल हो । अब प्रवीण गिरीबाट समाचार सुन्नुहोस्’ रेडियो नेपालका पुराना श्रोताले कहिल्यै नभुल्ने यो गह्रुँगो आवाज सधैँका लागि अस्ताएको छ । अब उनी टेलिभिजनको पर्दामा दुई हात निधारमा ल्याएर दर्शकलाई अभिवादन गरिरहेको पनि देखिनेछैनन् ।

वरिष्ठ पत्रकार एवं समाचारवाचक प्रवीण गिरीको आइतबार निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित ६२ वर्षीय पत्रकार गिरीको उपचारका क्रममा आइतबार बिहान चाबहिलस्थित ओम नर्सिङ होममा निधन भएको हो । उपचारका लागि एक साताअघि अस्पताल भर्ना गरिएका गिरीको आइतबार बिहान साढे सात बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
फरक शैलीको समाचारवाचनका कारण उनी रेडियो र टेलिभिजनमा लोकप्रिय थिए । समाचार प्रस्तुतिमा छुट्टै छाप छाड्न सफल उनले रेडियो नेपालमा तीन दशक, नेपाल टेलिभिजनमा दुई दशक र पछि निजी सञ्चारमाध्यममा पनि काम गरेका थिए । उनले मीनभवन क्याम्पसमा तीन दशक अर्थशास्त्र विषय अध्यापनसमेत गरेका थिए । सञ्चार क्षेत्रसहित आर्थिक पत्रकारमाझ उनी बढी लोकप्रिय थिए ।
लामो समयदेखि पेटको ट्युमर र कलेजोको क्यान्सरबाट ग्रस्त उनको निधनको खबरलगत्तै सञ्चारकर्मी, कलाकार, शुभचिन्तक तथा आफन्त अस्पतालमा जम्मा भएका थिए । फरक आवाज र शैलीका साथ समाचार वाचन गरी अलग्गै पहिचान बनाउन सफल उनी पछिल्लो समय हिमालय टेलिभिजनमा कार्यक्रम सञ्चालक र समाचार सम्पादक थिए । नेपाल टेलिभिजनको सरकारी जागिर छाडेपछि उनले एभिन्युज टेलिभिजनको संस्थापक समाचार प्रमुख भएर काम गरेका थिए । एभिन्युज उनको पत्रकारिता जीवनको पहिलो निजी टेलिभिजन थियो । एभिन्युजपछि उनी हिमालयमा पुगेका थिए ।
२१ पुस २००८ मा जन्मिएका गिरीका पत्नी, दुई छोरा र दुई छोरी छन् । उनका छोरा अस्ट्रेलियामा भएकाले उनी आइपुगेपछि मात्र अन्त्येष्टि गरिने र त्यस समयसम्मका लागि गिरीको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालमा राखिने परिवारले जनाएका छन् । परिवारका अनुसार गिरीको सोमबार अन्त्येष्टि गरिनेछ ।
नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । गिरीको निधनले महासंघ स्तब्ध भएको भन्दै महासंघले गिरीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । यसैगरी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन शाखालगायत सञ्चार क्षेत्रका संघसंस्थादेखि अन्यले पनि विज्ञप्तिमार्फत गिरीको निधनमा दु:ख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

असाध्यै रसिक हुनुहुन्थ्यो
बद्री गौतम
सहकर्मी नेपाल टेलिभिजन
दोस्रो जनआन्दोलनपछि पनि उहाँलाई एनटिभी छाड्न मन थिएन । तर, आन्दोलनपछिको राजनीतिक परिवर्तनपछि उहाँप्रतिको व्यवहारमा फरक गर्न थालियो । समाचार पढ्न दिइएन । पटक–पटक ह्युमिलिएसन गरियो ।
उहाँ चुरोट धेरै खानुहुन्थ्यो । साथीहरूमाझ रमाइलो गर्न रुचाउने उहाँ दुर्गानाथ शर्मा, वसन्त सापकोटाहरूसित रसिक र ननभेज ठट्टा गर्नुहुन्थ्यो । पहिला त मदिरा पनि सेवन गर्नुहुन्थ्यो तर पछि छाड्नुभयो । दुई छोरामध्ये एक छोरा बिग्रेको भनेर उहाँ चिन्तित हुनुहुन्थ्यो । क्यान्सर भएको थाहा भएपछि पनि अफिस जान छाड्नुभएन । उहाँमा साहस थियो । बुढेसकालमा पनि पढाउने, एनटिभी र रेडियोमा एकैचोटि भ्याउनुहुन्थ्यो । एनटिभीले पहिलोचोटि आर्थिक समाचार गर्दा पहिलो संयोजक हुनुहुन्थ्यो ।

प्रतिक्रिया