दाङ, १५ साउन । राप्ती उपक्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट को हुने भन्ने विवाद चुलिँदा सर्वसाधारणले उपचार पाएका छैनन् ।
अस्पतालका दसौँ तहका डाक्टर विकास देवकोटा र नवौँ तहका डाक्टर विष्णु पौडेलबीच भएको पद तानातानको विवादले अस्पतालको सेवासमेत अस्तव्यस्त भएको छ । डाक्टरबीच झाँगिएको पद–विवाद अस्पताल विकास समितिको टाउको दु:खाइको विषयसमेत बनेको छ । दुवै डाक्टरले मेडिकल सुररिटेन्डेन्टको पद आफूले पाउनुपर्ने माग गरेपछि अस्पतालको दैनिक कामकाजमा समेत अवरोध सिर्जना भएको अस्पताल विकास समितिले जनाएको छ ।
समितिले डा. देवकोटालाई सुपरिटेन्डेन्ट तोकेको थियो । तर, सर्जन विशेषज्ञ डा.पौडेललाई चित्त नबुझेपछि विवाद बढेको हो । अस्पतालमा आफू नै मेडिकल सुपरिटेन्डेन्ट भएको उनको दाबी छ । डा. देवकोटा भर्खरै सल्यानबाट सरुवा भएर दाङ आएका हुन् भने डा.पौडेल डा. देवकोटा आउनुपूर्व सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका थिए ।
समितिका कार्यबाहक अध्यक्ष उमानन्द भट्टराईले पद विवाद टुंग्याउन प्रयास गरे पनि सफल नभएको बताए । ‘विवाद गर्न नहुने विषयमा विवाद भरहेको छ,’ उनले भने, ‘अस्पताल विकास समितिले डा. देवकोटालाई तोकेको छ । अरू कुरा कहाँबाट आयो र विवाद सुरु भयो, बुझ्न सकिएको छैन ।’
उनले अस्पतालमा देखिएका विवादमा राजनीतीकरण भएको दाबी गरे । डा. देवकोटा र डा. पौडेल फरक राजनीतिक धारका भएकाले पनि विवाद चुलिएको उनले बताए । यस्तै, समितिले तोकेको मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले आफू जहाँ गए पनि मेसुको पद कहीँ नजाने बताए । उनले आफूले अस्पतालमा पद नखोजेको तर सरकारले नै आफूलाई मेडिकल सुपरिटेन्डेन्टको अधिकार दिएको बताए ।
उप क्षेत्रीय अस्पतालमा दुवै डाक्टरबीचको पदका विषयमा निरन्तर छलफल भए पनि त्यसको टुंगो लाग्न सकेको छैन । विवादका कारण अस्पतालको सेवासुविधामा समेत अवरोध सिर्जना भएको छ । अस्पतालमा भएका वरिष्ठ डाक्टरबीचको विवादकै कारण कनिष्ठ स्वास्थ्यकर्मीमा समेत फाटो सिर्जना भएको बताइएको छ ।
स्वास्थ्यकर्मी संघका अध्यक्ष मदनकुमार वलीले मेडिकल सुपरिटेन्डेन्टकै विवादका कारण डाक्टरहरू नियमित रूपमा अस्पतालमा नआएको बताए । उनले डाक्टर नियमित अस्पताल नआउँदा सेवाग्राहीलाई नियमित सेवा दिन नसकिएको जानकारी दिए ।
अस्पतालको विवादबारे जानकारी दिँदै डा. जनार्दन पन्थीले डा. देवकोटाले अख्तियारीविना नै अस्पतालमा सुपरिटेन्डेन्ट बन्न खोजेको आरोप लगाए । उनले अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका ठाउँमा मानसिक रोग विशेषज्ञ ल्याउन खोजे पनि विवादका कारण अल्झिएको बताए । उनले सामान्य प्रशासनमा प्रक्रियाको फाइल पुगिसकेको र कुरा मन्त्रालयमा अल्झिएको बताए ।
विवाद बढ्दै गएपछि अस्पतालमा डा. देवकोटा र डा. पौडेलका दुई समूह खडा भएका छन् । अस्पतालका अन्य स्वास्थ्यकर्मी पनि कोही डा. देवकोटाको पक्षमा त कोही डा. पौडेलको पक्षमा उभिएका छन् ।
प्रतिक्रिया