मविरुद्ध गलत हल्ला चलाइयो

गत वर्ष विराटनगरमा पत्रकार कुटपिट प्रकरणमा विवादमा तानिएका युवासंघ नेपालका कार्यकर्ता पर्शुराम बस्नेतलाई युवासंघको भर्खरै सम्पन्न बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पत्रकार कुटपिट प्रकरणमा संलग्नता नभएको पुष्टि भएपछि युवासंघले केन्द्रीय सदस्यमा मनोनयन गरेका उनै बस्नेतसँग  राजनीतिक सहभागिता र विराटनगर घटनाका विषयमा सौर्यले गरेको कुराकानी : 

तपाईं भर्खरै युवा संघको केन्द्रीय समितिमा चयन हुनुभएको छ, युवासंघ सरकारविरोधी आन्दोलनमा छ, यो समयमा युवाहरूको खास समस्या के हुन् भन्ने लाग्छ ?
हाम्रो मुलुकमा चेतनाको कमी छ । चेतनाको कमीका कारण विभिन्न राजनीतिक दलले आन्दोलनको नाममा युवालाई दुरूपयोग गरिरहेका छन् । जस्तो दसवर्षे हिंसात्मक युद्धको सिकार सबैभन्दा धेरै युवा भए । इतिहासमा सबैभन्दा बढी युवाको दुरूपयोग भएको छ । युवासंघ नेपालले युवालाई दुरूपयोग गर्नु हुँदैन, युवालाई सिर्जनशील काममा लगाउनुपर्छ । युवा भनेका परिवर्तनका संवाहक हुन् । त्यसैले रचनात्मक हिसाबले आन्दोलन अगाडि बढाउनुपर्छ । युवाको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई राज्यले सम्बोधन गर्न सक्नुपर्छ । युवाका यी सवाल र समस्या समाधानका लागि राज्यलाई घच्घच्याउन युवासंघ अगाडि बढेको छ ।
राजनीतिक दलले युवालाई दुरूपयोग गरेको भन्नुभयो, विराटनगरमा एमाले युवा कार्यकर्ताको नाममा भएको घटनामा तपाईंको पनि नाम जोडियो । तपाईंको संगठनचाहिँ यस्ता कुराबाट टाढा छ त ?
पूरै टाढा छ म भन्दिनँ । जानेर नजानेर, चाहेर नचाहेर हाम्रै संगठनबाट केही जिल्लामा त्यस्ता घटना भएका छन् । वास्तवमा विराटनगरको घटनामा मेरो कुनै संलग्नता थिएन । न त मेरो निर्देशन नै थियो । तर, राजनीतिक प्रतिशोधका कारण मेरो नाम जोडिएको हो । हाम्रै पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण विरोधीहरूले टाउको उठाउने मौका पाए । राति खानपिनका क्रममा भएको त्यो सामान्य घटनामा म उपस्थित नै थिइनँ । त्यसमा मलाई मुछ्नु बेकारको कुरा थियो ।
तपाईं नै उपस्थित नभएको घटनामा नाम कसरी आयो त ?
नेपालीको संस्कार नै कसैले प्रगति गरेको देख्न नसक्ने रहेको छ । जसले प्रगति गर्छ उसको खुट्टा तान्छन् । म ०४८ सालमा विद्यार्थी संगठनदेखि यो पार्टीमा लागेको छु । नेकपा एमालेमा लागेपछि मैले जति कुर्सी कसैले पुछेको छैन होला । मैले जति पम्प्लेटिङ माइकिङ पनि कसैले गरेको छैन होला र मैले जति भेला, सम्मेलनमा सहभागीहरूलाई पानी कसैले खुवाएको छैन भन्ने लाग्छ । त्यो हिसाबले म शुन्यबाट जनता र श्रमजीवीको पार्टीमा लागेको कार्यकर्ता हो । अब अहिले जुन हिसाबले मविरुद्ध जसरी प्रचार भएको छ त्यसले मलाई नै अचम्मित बनाएको छ । किन गलत प्रचार भएको छ भनेर आफैंले विचार गरें । यो पार्टीमा शून्यदेखिको मेरो निरन्तरता, सुरुदेखि मेरो विचार जुन हाम्रो पार्टीभित्र भएका विभिन्न विचारहरूमध्येको एक हो । म पार्टीभित्रकै एक विचार समूहको नजिक छु । यसैको कारण समूहकै बद्नाम गर्ने, समूहको नेतृत्वकर्ताको बद्नाम गर्नका लागि मलाई हतियार बनाएर केही विरोधी लागेका हुन् । ममाथिको त्यो आरोप एमालेकै शीर्षस्थ नेताको बद्नाम गर्नका लागि गरिएको षड्यन्त्र हो । यस्तो प्रवृत्ति विभिन्न समयमा देखिन्छ ।
राजनीतिबाहेक तपाईंको आफ्नो पेसाचाहिँ के हो ?
राजनीति सेवा हो, पेशा होइन । म राजनीतिबाट जनताको सेवा गर्छु । परिवार पाल्न, छोराछोरी पढाउन म ०५२ सालदेखि व्यापारमा संलग्न छु । मैले व्यापार सुरु गर्दाखेरीे २० हजार ऋण लिएर सुरु गरेको थिएँ । श्रीमतीको सिक्री धितो राखेर र ससुरासँग १५ हजार सापटी लिएर होटल व्यवसाय सुरु गरेको हो । अहिले आएर म दुई/तीनवटा व्यवसाय गर्छ । पार्टीमा लाग्न पनि समय मिलाएको छु । सेवाको लागि पार्टीमा छु, पेशाको लागि व्यवसाय गर्छु ।
तपार्इंं जतिबेला विराटनगर काण्डमा चर्चामा हुनुहुन्थ्यो, त्यतिबेला आफ्नो राजनीतिक, सामाजिक जीवन समाप्त भयो भन्ने लागेको थियो कि थिएन ?
थिएन । किनभने सत्य कुरा के हो त्यो त मलाई थाहा थियो । वास्तवमा दुनियाँलाई झुटो बोलेर ठगे पनि आफंैले आफंैलाई ठग्न सकिँदैन । किनभने म त्यो घटनामा संलग्न थिइनँ । त्यो मलाई र केही मेरा नजिकका साथीलाई थाहा थियो, उहाँहरू त्यो दिन घटना हुँदा मसंगै सुत्नुभएको थियो । मोरङका युवासंघ अध्यक्ष रविन थापा, युवासंघका केन्द्रीय रचनात्मक विभागका प्रमुख रमेश पौडेललगायत साथीहरू मसँगै सुत्नुभएको थियो । अघिल्लो दिन युथफोर्सको स्थापना दिवस थियो । म त्यही कार्यक्रममा थिएँ । अर्को कुरा, पत्रकार खिलानाथ ढकाल जो घाइते हुनुभयो, उहाँले पनि के भन्नुभएको छ भने– ‘वास्तवमा दाइ त्यहाँ हुनुहुन्थेन तर मलाई साथीहरूले कुटपिट गरे । चोरचोर भनेर चाहिँ बाटो हिँड्नेले पनि कुटपिट गरे ।’
घाइतेले नै त्यसो भनेपछि पुष्टि हुन्छ  । जाँड खाएको टेबुलमा झगडा भयो । झगडा हुँदाखेरी अलि बढी खाएका संगठनका साथीहरूले बेलुका खानपिनको क्रममा विवाद हुँदा कुटपिट भयो । तर के विवादमा कुटपिट भयो भन्ने पनि मलाई थाहा छैन । कुटपिट हुँदा चोरचोर भनेपछि उनी भागे र चोर भनेपछि स्थानीय व्यक्तिहरूले पनि कुटे भन्ने खिलानाथकै वयानमा छ । त्यो बयानको आधारमा पनि पुष्टि हुन्छ कि पर्शुराम बस्नेतलाई टपक्क टिपेर बद्नाम गर्न खोजेको मात्रै हो । मलाई विराटनगरबाट विस्थापित गर्ने नियतले घटनाको विकासक्रम गरियो । मेरो पारिवारिक र आफूलाई नै थाहा नभएको कुरा पनि पत्रिकामा लेखियो । मेरो बुबादेखि मेरो पैतृक सम्पत्तिसम्म, मैले गरेकादेखि नगरेका कुरासम्म प्रचार गरियो । तर, त्यस्तो होइन । मेरो बुबा अझै दोलखा जिल्लामा हुनुहुन्छ । उहाँको पनि राम्रो राजनीतिक जीवन छ । म सबै हिसाबले प्रष्ट छु । म त्यो घटनामा संलग्न छैन । म त संघर्ष गरेर अगाडि बढेको युवा हो ।
त्यो घटनाले तपाईंको राजनीतिक जीवनलाई प्रभाव पारेको छ कि छैन ?
मलाई राजनीतिकरूपमा फाइदा नै भएको छ । गलत हल्ला जुन चलाइएको छ, त्यो गलत नै हुन्छ र एउटा काम थपिएको छ, त्यो गलत हो है भन्नका लागि । आमरूपमा जनतालाई जानकारी गराउनको लागि मैले लाग्नुपर्छ । मेरो क्रियाशिलताले नै जनतालाई म त्यो बद्नाम गरिएको पर्शुराम बस्नेत होइन भन्ने स्थापित गर्छु । वास्तवमा पर्शुराम बस्नेत भनेको एमालेको इमान्दार कार्यकर्ता हो । २०/२१ वर्षदेखि निरन्तर पार्टी नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसात गर्दै नेकपा एमाले बनाउने अभियानमा लागेको छ । त्यसकारण यो मान्छे एमालेको एउटा सच्चा सिपाही हो । र, अरु जति हल्ला र प्रचार भएका छन्, त्यो गलत हो भन्नेचाहिँ मैले गरेको भूमिका र क्रियाशिलताले नै पुष्टि हुने कुरा हो । त्यसमा चाहिँ सही पत्रकारिता गर्ने साथीहरूको पनि सहयोगको अपेक्षा राख्छु म ।
अबको राजनीतिलाई कसरी अगाडि बढाउनुहुन्छ ?
मैले अघि पनि भनें, व्यवसायिक हिसाबले म एउटा व्यापारी पनि हो । सेवाको हिसाबले राजनीति गर्छु । अहिले म एमालेको निर्वाचन क्षेत्रीय कमिटीको सदस्य छु, युवासंघ नेपालको केन्द्रीय सदस्य छु । र, मैलेचाहिँ यही मोर्चामा बसेर युवासंघ नेपालले तयारी गरेको आन्दोलनको कार्यक्रमलाई देशव्यापी बनाउन लाग्छु । साथै, बाबुराम भट्टराइको अवैधानिक सरकार कुर्सीमा जबर्जस्तरूपमा बसिरहेको छ, त्यसलाई हटाउनुपर्छ । आमजनता मिलेर नयाँ सहमतिको सरकारको आधार बनाएर राष्ट्रलाई समृद्धितर्फ अगाडि बढाउनुपर्छ । युवासंघ नेपाल र व्यक्तिगतरूपमा मेरो पनि राय र लक्ष्य यही हो ।
युवासंघ नेपाललाई लडाकु संगठन बनाउन लागेको हो ?
युवासंघ नेपाल लडाकु संगठन थिएन । तर, के हो भने हामीले राजनीतिक र सामाजिक काम गर्दै जाँदा हाम्रा साथीहरूका हात काटिए, हाम्रा साथीहरूले कुटाइ खाए, खोलामा बगाइए । यसले हामीलाई असह्य दु:ख, पीडा भयो । साँच्चै हामी विचारका आधारमा चल्ने पार्टी भए पनि हामीले इँटाको जवाफ इँटाले नै दिनुपर्छ भनेर हामीले युथफोर्सको अभियान चलायौं । त्यो अभियानमा हामीले १० वर्षे युद्धको नाममा आतंक मच्चाइरहेको आतंककारी संगठन वाइसिएल र माओवादीका गलत गतिविधिविरुद्ध अभियान सञ्चालन गर्‍यौं ।
वास्तवमा १० वर्ष युद्ध लडेको संगठनलाई एकै वर्षमा ठिक लगायौं र सही बाटोमा हिँड्न उनीहरूलाई बाध्य बनायौं । उनीहरूलाई पनि खुकुरीले काट्दो रैछ । उनीहरूलाई पनि ढुङ्गाले हान्दा टाउको फुट्दो रहेछ । उनीहरू पनि प्रतिरोध गर्दा भाग्ने रहेछन् भन्ने कुराको पुष्टि युवासंघ र युथफोर्सको अभियानले पुष्टि गर्‍यो । त्यो अभियानले १० वर्ष लगाएर जनतालाई आतंकित गरेको दस्तालाई पाखा लगाउँदा हामी लडाकु हौं कि भन्ने जनतालाई लाग्यो । तर, वास्तवमा हामी लडाकु होइनौं । हामी राजनीतिक, सामाजिक कार्यकर्ता नै हौं ।
माओवादीको हिंसात्मक गतिविधिको विरोध गर्दागर्दै एमालेले पनि युथफोर्स बनायो । त्यो हिंसात्मक विशेषता भएको दस्ता बनायो भन्ने त थियो नि ?
आमरूपमा त्यस्तो पर्न गयो । कसैले आक्रमण गर्दैछ भने त्यसलाई प्रतिकार गर्ने क्रममा त्यस्तो हो कि भन्ने पर्‍यो । तर, वास्तवमा त्यो थिएन । आफू बच्न, आत्मरक्षाको लागि हामीले प्रतिरोध गर्नु, आत्मरक्षा गर्नु हिंसा होइन ।
योभन्दा तीन वर्षअगाडि र अहिले युवासंघको अगाडि वाइसिएल उत्तिकै चुनौतीपूर्ण हो कि होइन ?
होइन । अब वाईसिएलसँग हाम्रो कुनै प्रतिस्पर्धा छैन । वाइसिएलको न कुनै गतिविधि नै छ । माओवादी फुटेर हिसाबकिताब भागवण्डा नमिलेर आफूबीचमै लडाईँ गरिरहेका छन् । आफूबीचमै गोली हानाहान गरिरहेका छन् । जसरी उनीहरूको शक्ति निर्माण भएको थियो विनाश पनि त्यसैगरी हुन्छ भन्ने पुष्टि भएको छ । यिनीहरूको अन्त्य आफूआफूमा लडेरै हुन्छ भन्ने हामीलाई पहिल्यै थाहा थियो । वाइसीएलको आतंकलाई निस्तेज पार्न युवासंघले अभियान चलायो । त्यो अभियानले वाइसिएल साइजमा पनि आयो । सुध्रिन चाहने सुध्रिएका पनि छन् र अहिले उनीहरूको गलत गतिविधि कम छ । त्यो भनेको युवासंघ र युथ फोर्सको अभियानकै कारण हो । अहिले हाम्रो उनीहरूसँग कुनै प्रतिशोध छैन । युवाको ढुकढुकीका रूपमा युवासंघ नेपाल सक्रिय तथा क्रियाशिल छ ।
अब तपाईंको कामको क्षेत्र कहाँ हुन्छ ? राजधानी कि विराटनगर ?
जिम्मेवारीको हिसाबले मेरो कोसी अञ्चल हो । कोसी अञ्चलका गाउँ र टोलसम्म युवासंघको अभियान पुर्‍याउनु मेरो जिम्मेवारी हो । केन्द्रीय कमिटीको सदस्य भएकाले युवासंघले सञ्चालन गर्ने देशव्यापी अभियानमा म संलग्न हुन्छु ।
अबको आन्दोलन कस्तो हुन्छ ?
हामीले पहिलो चरणको सांकेतिक आन्दोलन भनेर नेताहरूलाई घच्घच्याउने, दबाब दिने, राष्ट्रलाई बन्दी बनाउनु हुँदैन र छिटो निकास दिनुपर्छ भन्ने नै हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि युवाहरूको भूमिका दबाबमूलक कार्यक्रममार्फत घच्घच्याउने हो । हामी पनि त्यसखालको आन्दोलनबाट यो अवैधानिक सरकारलाई विस्थापित गरेर नयाँ सहमतिको सरकार र संविधान बनाउने काममा सहयोग गर्छाै ।

प्रतिक्रिया