तीसौँ ओलम्पिक खेलकुद आजबाट

काठमाडौं, १२ साउन । सन् १८९६ मा ग्रिसको एथेन्सबाट सुरु भएको ओलम्पिकको यात्रा ३०औँ सस्करणमा आइपुगेको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयाले लन्डनमा ओलम्पिक खेलकुदको शुक्रबार उद्घाटन गर्नेछिन् । यसपछि दुई साता संसारभरका खेल समथर्कको ध्यान यो बृहत् खेल महोत्सवमा नै केन्द्रित हुनेछ । संसारलाई अचम्ममा पार्ने दाबी गरिएको यो ओलम्पिकको भव्य उद्घाटनलाई ‘द इसेन्स अफ वन्डर’ नाम दिइएको छ । ओस्कार विजेता चलचित्र निर्देशक डेनी बोयल उद्घाटन समारोहका पनि निर्देशक रहेका छन् । संगीत निर्देशक रिक स्मिथ र कार्ल हाइडले तयार गरेको संगीत संयोजनले सबैलाई आश्चर्यमा पार्ने र उद्घाटन समारोह मनमोहक हुने अपेक्षा गरिएको छ । छोटो चलचित्रका परिचित कलाकार डानियल क्रेग उपस्थित हुने उद्घाटन समारोहको उद्घोषण सर पाउल म्याक क्याटर्नले गर्नेछन् ।
उद्घाटनको दुई दिनअगाडि नै बुधबारदेखि प्रतियोगिताका केही खेलहरू पनि सुरु भइसकेका छन् । यो बृहत् खेल महोत्सवमा २ सय ४ राष्ट्रिय ओलम्पिक कमिटीको प्रतिनिधित्व गर्दै १० हजार एथलिटले सहभागिता जनाउनेछन् । यिनीहरूले ३६ खेलका ३ सय ४ स्पर्धाका लागि प्रतिस्पर्धा गर्नेछन् । ८० को दशकको ओलम्पिक शीतयुद्धका कारण प्रभावित भयो । ४० दशकको ओलम्पिक दोस्रो विश्वयुद्धले प्रभावित भयो । त्योभन्दा अघिको बर्लिन ओलम्पिक हिटलरको ओलम्पिकका रूपमा रहेको थियो । बेइजिङ ओलम्पिकले ‘वन वल्र्ड वन ड्रिम’को अवधारणा अघि ल्यायो । ओलम्पिक इतिहास जतिसुकै विवादास्पद, राजनीति र रंगभेदका कारण प्रभावित भए पनि यसपटकको ओलम्पिकले संसारका सबै मानवजाति एक हौँ भन्ने खेलकुदको आदर्श मान्यतालाई स्थापित गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।
ओलम्पिक इतिहासले जेसी ओवेन्स, माइकल फेल्प्स र मार्क स्पिट्जजस्ता अद्वितीय नायकको जन्म गरायो । यस्ता थुप्रै स्टार जन्मिए जसका बारे ओलम्पिक इतिहासको चर्चा गर्दा सधैँ नाम लिनै पर्ने हुन्छ । लन्डनको यो ओलम्पिकमा त्यसखाले कुनै स्टार जन्मने या नजन्मने १२ अगस्टसम्म थाहा हुनेछ । तथापि, छोटो दूरीका धावक युसेन बोल्ट, पौडीवाज माइकल फेल्प्स र मेरी फ्रान्कलिनप्रति नै यस ओलम्पिकमा धेरैको ध्यान जानेछ । पछिल्लो ओलम्पिकमा महिला पौडी स्पर्धामा ठूलो धक्का सहेको अमेरिकी टोली यी स्पर्धामा सुधारिएपछि लन्डन ओलम्पिकमा चीन र अमेरिकाबीच नै पदक तालिकामा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सुटिङ, भारत्तोलन, डाइभिङ र टेबल टेनिसमा प्रभावकारी पकड र अन्य खेलमा फाटफुट सफलताले चीनलाई बलियो शक्तिका रूपमा स्थापित गराउने निश्चित छ । अर्कोतर्फ एथलेटिक्स र पौडीकै कारण अमेरिका बलियो टोली हुन सक्नेछ ।
बेलायतले यो ठूलो खेल महोत्सवको आयोजनाको अवसर त्यत्तिकै भने पाएको होइन । सन् २००५ मा सिंगापुरमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकमा पूर्वओलम्पियन तथा लन्डनका मेयर सेबास्टिन कोयले राखेको प्रस्तावलाई मतदानबाट स्वीकार गर्दै लन्डनलाई ३०औँ ओलम्पिकको अवसर दिइएको हो । मस्को, न्युयोर्क, म्याड्रिड र पेरिसलाई पराजित गर्दै लन्डनले यो आयोजना गर्ने अवसर पाएको थियो । सन् १९०८ र १९४८ मा लन्डन ओलम्पिकको आयोजना गरेको लन्डन आधुनिक ओलम्पिक तेस्रोपटक आयोजना गर्ने सहरका रूपमा कीर्तिमान पनि कायम गर्न सफल भएको छ । सात वर्षअगाडि नै आयोजानको चयन भए पछि लन्डनले यो अवधिमा आफूलाई दुई सय हेक्टरको ओलम्पिक पार्क निमार्ण गर्नमा नै केन्द्रित गर्‍यो । ओलम्पिक बिड गर्नुअगाडि नै तयार भएका थुप्रै स्थानमा ओलम्पिक खेल आयोजना हुँदै छ ।
यसरी पायो लन्डनले आयोजनाको अवसर
सन् २००३ मा नौ सहरले ओलम्पिक आयोजनाको दाबी गरेका थिए । हवाना, इस्तानबुल, लिप्जिग, लन्डन, म्याड्रिड, मस्को, न्युयोर्क, पेरिस र रियो द जेनेरियोले दाबी गरेका थिए । सन् १९४८ मा बेलायतले ओलम्पिकको आयोजना गरेयता तीनपटक लन्डनबाहेकका बेलायती सहरको दाबी परेको थियो । सन् १९९२ मा बर्मिङ्घम तथा १९९६ र २००६ मा म्यानचेस्टरले ओलम्पिकको दाबी गरेका थिए । २०१२ को आयोजना गर्ने योजनाको सुरुआत भने सन् १९९७ मा भएको थियो । त्यसपछि ओलम्पिकको तयारीकै रूपमा १९९६ मा युरोकप फुटबल प्रतियोगिता र २००२ मा कमनवेल्थ खेलकुदको आयोजना गरेको थियो । यी दुवैको सफलतापछि लन्डनका लागि ओलम्पिक खेलकुदको आयोजनाको बाटो खुलेको थियो । लन्डनका मेयर किङ लिभिङस्टोनले ओलम्पिक दाबीलाई सार्थक तुल्याउन विश्वव्यापी लबिङको सुरुआत गरे ।
सन् २००४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अनुगमन गर्दै फ्रान्समा भएको भ्रष्टाचार र खराब राजनीतिक अवस्थाका कारण शंकाको घेरामा राख्यो । यसको लगत्तै फ्रान्समा एकपटक फेरि अनुमगन गरियो । यसपटकको अनुगमनबाट फ्रान्सलाई योग्य ठहर्‍याइयो । त्यसपछि पेरिससहित मस्को, लन्डन, म्याड्रिड र न्युयोर्कलाई योग्य ठहर गर्दै मदतान गरियो । पहिलो चरणको मतदानबाट म्याड्रिड र मस्को तथा त्यसपछिको मतदानबाट न्युयोर्क बाहिरिए । सन् २००५ अक्टोबरमा सिंगापुरमा अन्तिम चरणको मतदान भयो । मतदानमा लन्डनले पेरिसलाई ५४–५० मतले पराजित गर्‍यो । यसको लगत्तै लन्डन ओलम्पिक २०१२ स्थानीय आयोजक कमिटीको गठन ३ अक्टोबर २००५ मा भयो । यसको कारण तयारी गर्ने र व्यवस्थापनमा ध्यान पुर्‍याउने थियो । यसको नीतिगत निर्णय गर्नका लागि लर्ड लोको संयोजकत्वमा अर्को कमिटी गठन गरियो । सरकारी तहमा ओलम्पिक कार्यकारी समिति गठन गर्दै भव्य रूपमा तयारी गरियो । सन् २०११ मा लन्डनमा रहेको सुरक्षा निकायबारे ठूलै बहस भयो । इंग्ल्यान्डमा रहेका केही आपराधिक र लुटपाटमा संलग्न समूहका कारण यो बृहत् खेल महोत्सवलाई कुनै प्रभाव नपर्ने जिम्मा बेलायती ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई दिलायो । २०१२ को मार्चमा आइओसीको सुपरीवेक्षण समूहले लन्डनमा अन्तिम भ्रमण गर्दै सम्पूर्ण तयारी भएको ठहर गर्‍यो ।

प्रतिक्रिया