युवालाई बराल्दै “अन्डरवल्र्ड गीत”

बौद्धको एउटा क्याफेमा भेटिएका १९ वर्षीय टेन्डी लामाको हात मोबाइलको स्क्रिनबाट उम्किएकै छैन । टेबलमा साहुनीले भर्खरै चियाका कप राखेर गइन् । तात्तातो चियाबाट उडिरहेको बाफलाई उनका साथीहरूले भर्खरै सल्काएको चुरोटको धुवाँले छायामा पारिसक्यो । टेन्डीको औँला फेरि मोबाइलमा थिचिएपछि मोबाइलबाट अर्को सङ प्ले भयो– ‘सुकेको पातको एक सर्कोले, खोए बिर्केको एक बड्कोले ….हान्यो हान्यो मलाई बज्र हान्यो …’ । अब उनीहरू एकैछिन् बजिरहेको गीतमै डुब्ने छन् ।
सहरका नयाँ पुस्ताका मोबाइलमा आजकल सुन्दै अनाँैठा लाग्ने गीत बजिरहेका छन् । शब्दहरू उति शालीन लाग्दैनन् । विभिन्न चिया पसल, क्याफे अनि जक्सनहरूमा भेटिने समूहमा यस्ता गीत बजिरहन्छन् । तर, ती गीत कसले कम्पोज गर्‍यो या कहाँ रेकर्ड भयो भन्नेबारे भने उनीहरूलाई अत्तोपत्तो हुँदैन । कति गीतका शब्द सुन्दा ती भूमिगत शैलीमा बनाइएका जस्ता लाग्छन् अनि मोबाइल र इन्टरनेटको माध्यम हुँदै व्यापकता लिन्छन् । विशेष गरी टिन एजर्सनै यस्ता गीतका श्रोता हुने गर्छन् । त्यस्ता गीतमा प्राय: गितार र ड्रमबेस संगीत हुन्छन् । अनि शब्दहरूचाहिँ नसालु पदार्थसँग सम्बन्धीत हुने गर्छन् । कतिपय गीतमा त समाजले ‘अश्लील’ ठहर्‍याएका शब्दसमेत भेटिन्छन् । विद्रोही स्वभाव र उन्मुक्त हुन खोज्ने उनीहरूको शैलीलाई त्यस्ता शब्द प्रयोग भएका गीत मसलाझैँ हुन्छन् ।
सिन्धुलीका २१ वर्षीय दर्शन पौडेलको मोबाइलको म्युजिक प्लेयरको मेनुमा गएर मोस्ट प्लेड सङ अप्सनमा ओके गर्ने हो भने ‘ह्वाई दिस कोलाबरी कोलाबरी कोलाबरी डि …’ बज्न थालिहाल्छ । एउटा तमिल फिल्ममा रहेको यो गीत युवापुस्तामाझ निकै नै चर्चित बन्यो । युट्युबमा राखिएको छोटो समयमै लाखौँले यस गीतलाई हेरे, मन पराए । नेपालमा पनि यो गीत कयौँ नयाँ पुस्ताको मोबाइलमा बज्न थाल्यो । हरेक कुराको ट्रेन्ड ब्रेक भएको मन पराउने नयाँ पुस्ताका लागि यस्ता गीतहरू छोटो समयमा नै चर्चित हुन पुग्छन् । यस गीतलाई आफ्नो मौलिकता र भाषामा ढाल्दै एउटा भूमिगत शैलीको समूहले नेपाली भर्सनमा निकालिहाल्यो– ‘के हो यो कोलाबरी कोलाबरी गाँजाबारी डी … ।’ दर्शनको मोबाइलमै रहेको सो कोलाबरी डिको भूमिगत नेपाली भर्सन अहिले सहरका केही युवा समूहमाझ लोकप्रियजस्तै छ । नशालु पदार्थ गाँजाको बयान गरिएको छ सो गीतमा । ‘प्राय: म एक्लै बिन्दास पाराले यो गीत सुनिरहेको हुन्छु , गीत मन पर्नुको त्यस्तो विशेष कारण नै छैन’, दर्शनले भने र मोबाइलमा बजिरहेको गीतसँगै आफू पनि गाउन थाले–
‘गाँजा कलर हरियो हरियो, चिलिम कलर कालो, आगो बाल्दा रातो रातो रातो, तान्दा धूवाँ सेतो, ह्वाई दिस कोलाबरी …..†’
नयाँ पुस्ताले सुनिरहेका यस्ता गीतमा नशालु पदार्थको चर्चाबाहेक अश्लील शब्द पनि त्यत्तिकै भेटिन्छन् । स्वच्छन्दता चाहने युवा पुस्ता आफ्नो बिन्दास शैलीको झल्को पनि पाउँछ सायद यी गीतबाट । ‘आधारातमा उठेको चुरोट तान्नलाई, …..को छोरो छिमेकीले देख्यो मलाई…।’ पछिल्लो समयमा निकै ठिटाठिटीका मोबाइलमा यो गीत बजेको सुनिन्छ । यो गीत मोबाइलमा आएको केही समयपछि नै फेरि भूमिगत शैलीमा अर्को गीत आयो । जुन गीत अघिल्लो गीतलाई रिप्लाइ दिँदै आएको थियो । त्यो गीतको स्वर र अगाडिको गीतको स्वर एउटै मानिसको जस्तो सुनिन्छ । परिवारमा सँगै बसेर सुन्न पनि हिचकिचाउनुपर्ने खालका शब्द भए पनि जक्सनका ठिटाठिटी भने मोबाइलमा इयर फोन नलगाइकनै सुनिरहेका हुन्छन् । कपनका २० वर्षीय लक्की शेर्पा निर्धक्कसँग भन्छन्, ‘ह्या…, बालै भएन नि, केटीसँगै बसेर नि सुन्छ हामी त । ’
पप, लोक, आधुनिक, रकलगायत कुनै पनि विधामा नपर्ने यस्ता गीतको उत्पादन कसरी हुन्छ थाहा छैन । प्रविधिमा भएको उच्चतम विकासले यसलाई सहज बनाइदिएको हुनुपर्छ । विभिन्न सºटवेयरको माध्यमबाट घरमै बसेर म्युजिक कम्पोज गर्न सकिन्छ । त्यस्ता गीत उत्पादन गर्नका निमित्त कुनै रेकर्डिङ स्टुडियोको आवश्यकता नै नपर्ने बताउँछन्, परिवेश डिजिटल रेकर्डिङका तिलकबम मल्ल । व्यावसायिक रूपमा काम गरिरहेका कुनै पनि स्टुडियोले त्यस्ता गीत रेकर्ड गर्नुपर्ने आवश्यकता नै नभएको उनको भनाइ छ । आफूसँग भएको सीप र ज्ञानलाई सिर्जनशील क्षेत्रमा उतार्न नसक्दा त्यस्ता सामग्री बनिरहेका छन् । अनि कसको मोबाइलमा बढी नयाँ चिज भन्दै अरूलाई देखाएर ‘हिरो’ बन्ने मनोविज्ञानले ग्रस्त पुस्ता त छँदै छ, श्रोता बन्नका लागि ।
प्रविधिले मारेको छलाङसँगै त्यसलाई व्यवस्थापन गर्न नसक्दा कतिपय युवाको ध्यान प्रविधि दुरुपयोग तिर गएको बताउँछन् मानवशास्त्री सुरेश ढकाल । अभिभावकको नयाँ पुस्तासरह प्रविधिमा समानान्तर ज्ञान हुन नसक्दा उनीहरूले हस्तक्षेप गर्न नसकेर पनि समस्या उब्जिएको तर्क राख्छन् ढकाल । ‘सांस्कृतिक पछौटेपन समस्याको एक कारण हो’ –ढकाल भन्छन् ।
सबैखाले भूमिगत गीत नकारात्मक पनि हुँदैनन् । केही गीत सिर्जनशील रूपमै देखापरिरहेका हुन्छन् । त्यस्ता गीतमा चाहिँ विद्रोहीपन बढी भेटिन्छन् । सहरमा त्यस्ता थुप्रै ब्यान्डहरू छन्, जो भूमिगत अवस्थामा रहेर ‘बिन्दास’ स्वभावले म्युजिक कम्पोज गर्छन् । त्यस्ता गीत चर्का स्वर निकाल्दै बजाइएका बाजाका तालमा गाइन्छन् । अनि गीतमार्फत् नै रिस पोखिन्छ, अझ संसारलाई बदल्ने वाचा गरिन्छ । उनीहरू त्यस्ता गीत गाएर आर्थिक उपार्जन गर्ने लक्ष्यमा हुँदैनन् । मात्र गाउँछन् त आनन्दका लागि । सन्तुष्टिका लागि ।
सहरका नयाँ पुस्तामा अहिले थपिएको नयाँ नशा हो– ‘अन्डरवल्र्ड सङ ।’ जहाँ गीतबाटै भए पनि उनीहरूले स्वतन्त्रताको हद पार गर्न सक्छन् । त्यसैले बजारमा नयाँ ‘अन्डर वल्र्ड सङ’ आउनासाथ मोबाइलको ब्लुटुथ एकदम व्यस्त हुन्छ, जसरी अघि बौद्धको क्याफेमा भेटिएका टेन्डीको मोबाइल केहिबेर ‘अन्डरवल्र्ड सङ’ सार्न व्यस्त भएथ्यो ।

प्रतिक्रिया