प्राविधिक नहुँदा लिलाम अवरुद्ध

कैलाली : त्रिनगर भन्सार कार्यालय धनगढीमा सवारीसाधन मूल्यांकन गर्ने प्राविधिक तथा मेकानिकल्स इन्जिनियर नहुँदा सवारीसाधनको लिलाम बिक्री रोकिएको छ ।
प्राविधिक अभावमा सवारीसाधन लिलाम हुन नसकेपछि नयाँ गाडीसमेत थोत्रा हुँदै गएका छन् । राम्रै सवारीसाधन पनि समयमै लिलाम हुन नसक्दा भन्सार हाताभित्र खुला ठाउँमा राखिएका विभिन्न मोडेलका दुई सय १० मोटरसाइकल, पाँच जिप तथा कार, दुई ट्रयाक्टर वर्षा र घामले खिया लागेर थोत्रिएका हुन् ।
चोरी गरेर ल्याइएका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको हो । प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनको कसैले हकदावी नगरेपछि भन्सार कार्यालय लिलाम गर्दै आएको छ ।
भन्सार कार्यालयमा प्राविधिक पदस्थापन हुन नसक्दा सवारीसाधनको मेकानिकल्स प्रतिवेदनसमेत तयार हुन नसकेको र प्रतिवेदन विनासवारीसाधनको मूल्यांकन गर्न नमिल्ने भएकाले भन्सार कार्यालयमा थन्किएका सवारीसाधनको लिलाम बिक्री गर्ने काम रोकिएको नायब सुब्बा मोहन भट्टले बताए ।
प्राविधिक अभावमा नयाँ गाडीसमेत थोत्रिँदै गएकाले सवारीसाधनबाट प्राप्त हुने राजस्वसमेत घट्दै गएको उनले बताए । (सौस)

प्रतिक्रिया