एमाओवादीको पूर्व सर्तले निकास आएन

बारा, ११ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराइले मार्ग प्रसस्त नगरे आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिएका छन् ।
बाराको सिमरा विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गदै वरिष्ठ नेता नेपालले सहमतिबाट प्रधानमन्त्रीको राजीनामा नआए एमाले/कांग्रेस सहितका विपक्षी दलहरु सरकार ढाल्न आन्दोलनको तयारीमा लागी सकेको बताए ।
उनले एमाओवादीले सहमति नगरेर मुलुकलाई मुठभेड तर्फ धकेल्न खोजेको आरोप लगाए ।
‘एमाले/कांग्रेस सहितका दलहरु मुलुकको हितका लागि अन्तिम समयसम्म प्रयास गर्नेछन्,’ उनले भने, ‘एमाओवादीको सत्ताकब्जा गर्ने रणनीति भने असफल पार्ने छौं ।’
वर्तमान सरकारले घोषणा गरेको संविधानसभाको चुनाव हुनै नस्कने ठोकुवा उनले गरे ।
नेता नेपालले एमाओवादीकै हठका कारण तीन दलको बैठकले निष्कर्ष दिन नसकेको बताए ।
‘न्यूनतम सहमति गरेर सरकार परिवर्तन गरी नयाँ सहमति गर्नु पर्छ,’ उनले भने, ‘एमाओवादीले पहिला सहमति गर्नुपर्ने शर्त अगाडि सारेका कारण वार्ता असफल हुने गरेको छ ।’

प्रतिक्रिया