एपिएफ उपाधिनजिक

रौतहट, ११ साउन । उपाधि दाबेदार सशस्त्र प्रहरी बल (एपिएफ) क्लब १४औँ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार  जिल्ला टोली कैलालीलाई ४–० ले पराजित गरी एपिएफ उपाधिनजिक पुगेको हो ।
मध्यान्तरअघिसम्म प्रतिस्पर्धात्मक रहेको खेलमा एपिएफले त्यसपछिको बाँकी समय भने बलियो प्रभाव देखाएको थियो । ४४औँ मिनेटमा राष्ट्रिय कप्तान जमुना गुरुङको गोलमार्फत् एपिएफले सुरुआती अग्रता लिएको थियो । दर्शकको व्यापक समर्थन पाएको कैलालीले मध्यान्तरसम्म निकै राम्रो प्रदर्शन गरेको थियो ।
मध्यान्तरपछि कैलाली दबाबमा देखियो । अनु लामाले ५२ र प्रमिला राईले ५७औँ मिनेटमा थप गोल गरेपछि एपिएफ जिततर्फ बलियोसँग अग्रसर भयो । जमुना राईले ८०औँ मिनेटमा टोलीको चौथो गोल गरिन् ।
रौतहटमा सम्पन्न सेमिफाइनलसँगै यहाँ हुने प्रतियोगिताका खेल सकिएका छन्  । बाराको सिमरामा हुने दोस्रो सेमिफाइनलको विजेतासँग एपिएफले १३ साउनमा  सिमरामा फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुनेलाई एक लाख रुपियाँ पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
त्यसैगरी, सेमिफाइनलसम्म पुग्ने दुवै टोलीलाई समान ५० हजार रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरसहित प्रशिक्षकले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई स्कुटी प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रतिक्रिया