दक्षिण अफ्रिकाका चार खेलाडी शीर्ष ६ भित्र

क्वालालम्पुर, ११ साउन । दक्षिण अफ्रिकाका चार क्रिकेट खेलाडी टेस्ट ब्याट्सम्यानको नयाँ वरीयताक्रममा शीर्ष ६ भित्र अटाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लोपटक बुधबार जारी गरेको वरियताक्रममा ज्याक कालिस दोस्रो, हासिम अमला तेस्रो, एबडी भिलियर्स पाँचौँ र ग्रिम स्मिथ छैटाँस्थानमा छन् । श्रीलंकाका कुमार संगाकारा शीर्षस्थानमा कायम छन् भने वेस्ट इन्डिजका शिवनारायण चन्द्रपल चौथो नम्बरमा छन् ।
त्यस्तै, टेस्ट अलराउन्डरको वरियताक्रममा बंगलादेशका सकिब अल हसन शीर्षस्थानमा कायम छन् । भर्खरै इंल्यान्डविरुद्ध भएको टेस्ट म्याचमा अविजित १ सय ८२ रन बनाएपछि कालिस दुई स्थान माथि उक्लिएर शीर्ष तीनमा पुगेका हुन् । सोही खेलमा ३ सय ११ रन जोडेका अमला तीन स्थान र शतक बनाएका स्मिथ चार स्थान माथि उक्लिएका हुन् । उक्त खेलमा ब्याटिङ गर्ने मौका नै नपाएका भिलियर्स भने दुई स्थान तल झरे भने इंग्ल्यान्डको तर्फबाट १ सय १५ रनको इनिङ खेलेका एलेस्टर कुक एक स्थान माथि उक्लिएर नवौँमा पुगेका छन् । टेस्ट बलरको वरियताक्रममा पनि दक्षिण अफ्रिकी खेलाडीको प्रभाव रह्यो । भर्खरै इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका डेल स्टेन शीर्षस्थानमा कायम छन् । त्यस्तै, उक्त खेलमा दक्षिण अफ्रिकाबाट उल्लेखनीय प्रदर्शन गरेका बलर मोर्न मोर्केल चार स्थान माथि उक्लिएर छैटौँमा पुगेका छन् । दक्षिण अफ्रिकी भर्नान फिलान्डर एक स्थान माथि उक्लिएर चौथो स्थानमा पुगेका छन् ।
इंग्ल्यान्डका सबै बलर वरियताक्रममा तल झरेका छन् । जेम्स एन्डरसन दुई स्थान तल झर्दै पाँचौँमा पुगेका छन् । त्यस्तै, स्टुवार्ट ब्रड ६ स्थान तल झरेर नवौँमा पुगेका छन् । स्पिनर ग्रिम स्वान सन् २००९ पछि पहिलोपटक शीर्ष १० भन्दा बाहिर रहँदै तीन स्थान तल झरेर ११ औँ स्थानमा पुगेका छन् । इंग्ल्यान्डविरुद्धको जारी शृंखला जिते दक्षिण अफ्रिका टेस्ट वरियताक्रममा शीर्षस्थानमा पुग्नेछ ।

प्रतिक्रिया