निर्वाचन सार्ने प्रस्ताव अस्वीकार

काठमाडौं, १० साउन । मंसिर–७ सात गतेका लागि घोषित निर्वाचन सार्न एकीकृत माओवादीले राखेको प्रस्तावलाई विपक्षी दल कांग्रेस र एमालेले अस्वीकार गरिदिएका छन् ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा निर्वाचन सार्ने एमाओवादीको प्रस्तावमा छलफल भएपनि ठोस सहमति हुन नसकेको हो । एमाओवादीले सरकार परिवर्तन भन्दा पहिला निर्वाचनको मिति सार्नुपर्ने अडान राखेपछि कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाएर सोहि सरकार मार्फत निकास निकाल्नुपर्ने अडान राखेका हुन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले निर्वाचन सार्न एमाओवादीले राखेको प्रस्तावमा सहमति जनाउन नसकिने बताए । ‘कांग्रेस र एमालेले पहिला राष्ट्रिय सहमतिको सरकार बनाएर बाँकी कुरा गरौं भनेका छन्,’ उनले भने, ‘निर्वाचन सार्ने प्रस्तावमा यथास्थितिमा समर्थन गर्न सकिदैन ।’
प्रमुख तीन दलले राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ शिराबाट निकास खोज्ने सहमति गर्दै छलफललाई निरन्तरता दिने निष्कर्ष भने निकालेका छन् । लामो समय पछि बसेको बैठकमा शीर्ष नेताहरुले आ–आफ्ना तर्फबाट धारणा राखेका थिए ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार संविधानका विवादित विषयमा सहमति खोज्दै निर्वाचन सार्न प्रस्ताव गरेको बताए । ‘अब नयाँ शिराबाट सहमति खोज्नु पर्छ,’ उनले भने, ‘पहिला निर्वाचन सारेर बल्ल राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ ।’
एमाले सचिव शंकर पोखरेले मुलुकको राजनीतिक संकटप्रति शीर्ष नेताहरु चिन्तत रहेको भन्दै छलफललाई निरन्तरता दिने सहमति गरेको बताए ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया