खाद्यान्न उत्पादन १० प्रतिशतले वृद्धि

काठमाडौं, १० साउन । सन् ०११/१२ मा नेपालको कुल खाद्यान्न उत्पादन ९४ लाख ६० हजार मेट्रिक टन पुगेको छ । निर्धारित समयमै वर्षा भएका कारण गत वर्षको खाद्यान्नको उत्पादन अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको खाद्यान्नको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदना उल्लेख छ । कृषि विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा गरेको अध्ययन प्रतिवेदनमा गत वर्ष सन् ०१०।११ मा नेपालको खाद्यान्न उत्पादन ८६ लाख २० हजार मेट्रिक टन मात्र रहेको उल्लेख छ ।
हिउँदे बालीको उत्पादन सन् ०११/१२ मा करिब अघिल्लो वर्षका तुलनामा ५ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । गहुुँको उत्पादन ५ दशमलव ९ प्रतिशतले वृद्धि भएर १८ लाख ५० हजार मेट्रिक टन पुगेको छ भने जौको उत्पादनमा १४ दशमलव ९ प्रतिशतले वृद्धि भई तीन लाख ५० हजार मेट्रिक टन पुगेको छ । यो अवधिको कुल खाद्यान्न उत्पादन वृद्धिको कारण आठ लाख ८६ हजार तीन सय मेट्रिक टन खाद्यान्न बचत हुन पुगको छ ।
हिउँद र वर्षात दुवै मौसममा खाद्यान्न उत्पादन बढी हुनुको मुख्य कारण मुलुकभरि समयमा पर्याप्त वर्षा हुनु, सरकारी र गैरसरकारी निकायले कृषि उत्पादकत्व वृद्धि गर्न योगदान गर्नु, बिउ र मलखादको समयमै आपूर्ति हुनु र तराई क्षेत्रमा बाढीका कारण कम क्षति हुनु रहेको प्रतिवेदनमा उल्लेख छ । मल र बिउको समयमा आपूर्ति नहुनु, पर्याप्त सिँचाइको अभाव, अपर्याप्त बजार सूचनाको अभाव, बसाइँसराइका कारण ग्रामीण क्षेत्रमा श्रमिकको अभावजस्तो किसानका मुख्य समस्याको रूपमा चित्रण गरिएको छ । खाद्यान्न उत्पादन राम्रो भएकाले गत वर्ष देशभरि खाद्य सुरक्षाको अवस्था राम्रै रह्यो । जेठ महिनामा भएको लगातारको बन्दबाहेक यातायातमा अवरुद्ध नभएका कारण पनि खाद्य सुरक्षाको अवस्था राम्रो रहेको संयुक्त अध्ययनमा उल्लेख छ ।
सन् ०१२/१३ मा वर्षे बाली राम्रो हुने अनुमान गरिए पनि अपर्याप्त मनसुन र मनसुन आउन एक साता ढिलाइ हुँदा मकैको उत्पादन र पहाडी जिल्लाको अन्य मौसमी तरकारी उत्पादनमा समेत असर पर्ने प्रक्षेपण गरिएको छ । मनसुन सुरु हुन ढिलाइ भएका कारण रोपाइँमा समेत ढिलाइ हुने हुँदा धान उत्पादनमा कमी आउने अनुमान अध्ययनमा गरिएको छ । एफएओले गत मार्चमा प्रकाशित गरेको अनुमानअनुसार सन् २०१२ मा विश्वको खाद्य उत्पादन ४ प्रतिशतले बढी दुई अर्ब ३४ करोड ३८ लाख मेट्रिक टन पुग्नेछ जुन अघिल्लो वर्षभन्दा ४ प्रतिशतले बढी हो । विकासोन्मुख मुलुकमा २ दशमलव ४ प्रतिशतले र विकसित मुलुकमा ६ दशमलव ३ प्रतिशतले खाद्य उत्पादनमा वृद्धि हुने अनुमान छ ।
समग्र नेपालको सन्दर्भमा गहँु र जौको उत्पादन मुलुकभरि नै राम्रो रह्यो । गहँुको उत्पादन मध्यमाञ्चल क्षेत्रमा ६ लाख एक हजार नौ सय मेट्रिक टन भयो भने मध्यपश्चिमाञ्चलमा तीन लाख ६७ हजार पाँच सय मेट्रिक टन र पश्चिमाञ्चल क्षेत्रमा तीन लाख ५८ हजार पाँच सय मेट्रिक टन रह्यो । जौको उत्पादन भने मध्यपश्चिमाञ्चल क्षेत्रमा राम्रो रहेको छ । सो क्षेत्रमा १८ हजार दुई सय मेट्रिक टन जौको उत्पादन भएको थियो भने सुदूरपश्चिमाञ्चल क्षेत्रमा ६ हजार नौ सय मेट्रिक टन उत्पादन भयो । अत्यधिक गहुँ उत्पादन गर्ने जिल्लामा रूपन्देही (१०६.७५ हजार मेटन), बारा (९२.८ हजार मेटन), धनुषा (९०.३६ मेटन), कपिलवस्तु (८९.८१ हजार मेटन) र पर्सा (८२.६० हजार मेटन) रहेका छन् भने अत्यधिक जौ उत्पादन गर्ने जिल्लामा जुम्ला (७.५८ हजार मेटन), बाजुरा (१.७ हजार मेटन), मुगु र बझाङ (१.५५ हजार मेटन प्रत्येक) र रुकुम (१.४८ हजार मेटन) रहेका छन् ।
लगातार दुई वर्ष खाद्य बचतमा
मुलुक विगत दुई वर्षदेखि लगातार बचतमा रहन पुगेको छ । गत आव ०११/१२ मा ९ दशमलव ८ प्रतिशतले खाद्यान्न उत्पादनमा वृद्धि भएपछि आठ लाख ८६ हजार मेट्रिक टन खाद्यान्न बचत हुन पुगेको छ । देशमा खाद्यान्न बचत भएको यो लगातार दोस्रो पटक हो । सन् ०११/१२ मा कुल खाद्यान्न आवश्यकको १७ दशमलव २ प्रतिशत बचत भएको एफएओलगायतले तयार पारेको संयुक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
यसअघि सन् ०१०।११ मा खाद्यान्न बचत चार लाख ४३ हजार एक सय मेटन थियो भने सन् २००९।१० मा तीन लाख २० हजार नौ सय मेटन, सन् ०८/०९ मा एक लाख ३२ हजार नौ सय मेटन खाद्यान्न अपुग भएको थियो । सन् ०७।०८ मा एकपटक २२ हजार चार सय मेटन खाद्यान्न बचत भएको थियो भने सन् ०६।०७ मा एक लाख ८७ हजार सात सय मेटन र सन् २००५।०६ मा २१ हजार ६ सय मेट्रिक टन अपुग रहेको थियो ।

प्रतिक्रिया