नयाँ निर्वाचनमा सहमति बन्छ

काठमाडौं, ९ साउन । एकीकृत माओवादीका अध्यक्ष पुष्पमकल दाहालले दलहरु संविधानसभाको नयाँ निर्वाचनको एजेण्डामा धेरै निकट पुगेको बताएका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज बिहान नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादसँग भएको भेटमा अध्यक्ष दाहालले छिट्टै नेपालका राजनीतिक दलहरु वीच सहमति बन्ने बताएको दाहालको निजी सचिवालयले जनाएको छ ।
भेटमा राजदूत जयन्तले एमाओवादीको भर्खरै सम्पन्न विस्तारित बैठक सफल भएकोमा खुसी व्यक्त गर्दै राजनीतिक दलहरुबीच सहमतिको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए ।
जवाफमा अध्यक्ष दाहालले सहमतिका लागि कांग्रेस, एमाले र मधेसी मोर्चावीच अनौपचारिक छलफल जारी रहेको जानकारी गराएका छन् । ‘निर्वाचन आयोगमा चुनावलाई लिएर भएको छलफल सकारात्मक छन्,’ उनले भने, ‘छिट्टै राजनीतिक निकास निश्कनेमा विश्वास छ ।’
दलहरु वीच नयाँ संविधानसभाको निर्वाचन गर्ने वा अन्य निर्वाचन गर्ने भन्ने विषयमा समेत छलफल चलिरहेको दाहालले बताए । उनले भने, ‘संविधानसभामा संविधान निर्माणको बिषयमा जुन बिन्दुमा सहमति टुटेको थियो त्यही बिन्दुबाट सहमति खोज्ने प्रयास भईरहेको छ ।’
भेटमा सहभागी एमाओवादीको अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज कृष्णबहादुर महराले भारतीय राजदूत र अध्यक्ष दाहालवीचको भेटबार्तामा सकारात्मक रहेको जानकारी दिए ।
आजै एमाओवाद अध्यक्ष दाहालसँग नेपालका लागि जर्मनका राजदूत भ्रेरना ग्राफिन भोन रोईड्रेनले भेटबार्ता गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कदै गरेका राजदूत राइड्रेनले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए ।
अध्यक्ष दाहालले उनको नेपाल कार्यकाल सफल रहेकोमा बधाई दिदै दुई देशवीचको सम्बन्ध सुदृढ गर्न थप सहयोग पुगेको बताए ।

प्रतिक्रिया