कपाल मुन्डन गरेर बालकलाई यातना

नेपालगन्ज, ९ साउन । बाँकेका एक जुनियर प्रहरी अधिकृतले मोबाइल चोरीको आरोप लगाएर दुई बालकलाई अमानवीय यातना दिएका छन् । बालकको कपाल मुन्डनसम्म गरेर यातना दिने सईलाई जिल्ला प्रहरी कार्यालयले कारबाही गरेको छैन ।

अस्थायी प्रहरी चौकी रनियापुरका इन्चार्ज सई तिलक शाहीले दुई बालकलाई कुटपिट गर्दै कपाल मुन्डन गरिदिएका हुन् । स्थानीय गोविन्द बुढा क्षत्रीको मोबाइल चोरेको आरोपमा टिटिहिरिया–९ का १४ वर्षीय सुनील थापा र सुनील विकलाई यातना दिँदै शाहीले चौकी परिसरमै कपाल मुन्डन गरेका थिए ।
बुढाक्षत्रीले २६ असारमा मोबाइल चोरी भएको बताउँदै ती दुई बालकका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले ३१ असारमा बालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरी चौकीमा ल्याउनेबित्तिकै आधा घन्टासम्म आफूहरूलाई कुटेको दुई बालकले बताए ।
‘कपाल नकाटिदिन अनुरोध गर्दा पनि सईले चोर सावित गराउने प्रहरीको नियम भन्दै जबर्जस्ती छोराको कपाल मुन्डन गरिदिए,’ बालक थापाकी आमा चित्रमायाले भनिन्, ‘सईले बालकलाई नराम्ररी कुटे पनि ।’ ३१ असारको बिहान ८ बजे सोधपुछका लागि भन्दै खेतमा गएका बालकलाई प्रहरीले पक्राउ गरेको थियो ।
मोबाइल चोरेको आरोपमा निकै पिटेको बालक थापाले बताए । ‘प्रहरीले मोबाइल किन चोरेको भनेर सोध्यो,’ थापाले भने, ‘मोबाइल नचोरेको बताएपछि कोठाभित्र झ्यालमा खुट्टा राख्न लगाई उल्टो बनाएर कुटे ।’ उनीहरूलाई प्रहरीले करेन्ट लगाउने धम्की दिएर लठ्ठी र लात्तीले पैताला, ढाड, चाक र पाखुरामा हानेका थिए । ‘कुटाइ खानबाट जोगिन चोरेको बताएँ,’ थापाले भने ।
प्रहरीले दुई बालकबाट तीन हजार रुपियाँका दरले ६ हजार रकम पनि लिएको छ । उनीहरूबाट पैसा असुलेको केही दिनपछि उनीहरूले मोबाइल नचोरेको रहस्य खुलेको थियो । इलाका प्रहरी कार्यालय खजुरा धनौलीका इन्चार्ज इन्स्पेक्टर दक्ष बस्नेतले बालकले मोबाइल चोरेको स्विकारेपछि रकम तिराएको दाबी गरे । उनले भने, ‘अनुसन्धानमा उनीहरूले चोरेको होइनरहेछ भन्ने पत्ता लाग्यो, हाम्रै सईले करेन्ट लगाउँछु भन्दै पिटेपछि पो केटाहरूले चोरेको बयान दिएका रहेछन् ।’
उनले मोबाइल चोरी गर्ने व्यक्ति पक्राउ परेको बताए तर उनको नाम दिन मानेनन् ।
प्रहरीको कुटाइबाट बालकद्वय तीन दिनसम्म हिँड्न सकेका थिएनन् । ‘अहिले पनि सुत्न, बस्न, हिँड्न राम्रोसँग सक्दिनँ,’ थापाले प्रश्न गरे, ‘करेन्ट लगाउँछु भन्दै हामीलाई उल्टो पारेर पिट्नेलाई कारबाही हुन्न ?’ प्रहरीले अनाहकमा यातना दिएको भनेर पीडित बालकका परिवारले इलाका प्रहरी कार्यालय खजुरा धनौलीमा दोषी प्रहरीलाई कारबाहीको मागसहित उजुरी दिएका छन् । तर, इन्स्पेक्टर बस्नेतले अहिलेसम्म मानवीय मूल्यसमेत भुलेर करेन्ट लगाउने धम्की दिँदै बालकलाई उल्टो पारेर पिट्ने र मुन्डन गर्ने सई शाहीलाई कारबाहीका लागि न बोलाएका छन्, न माथिल्लो निकायमा प्रहरीको बर्दीमा कालो लगाउने जुनियर अधिकृतबारे रिपोर्टिङ नै गरेका छन् ।

प्रतिक्रिया