गोलीगठ्ठासहित दुई पक्राउ

वीरगन्ज, ९ साउन । पर्साको सिर्सिया खल्वाटोलाबाट सोमबार बिहान प्रहरीले ठूलो परिमाणमा गोलीगठ्ठासहित दुईजनालाई पक्राउ गरेको छ ।

सिर्सिया खल्वाटोला–४ स्थित जयमंगल कुर्मी पटेलको घरबाट एक सय १९ थान गोलीसहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जयमंगलका छोरा विनोद र भारत विहार पश्चिम चम्पारण, धनकटुवाका रामाकान्त यादव छन् । बरामद भएका गोली १२ बोर बन्दुकको रहेको डिएसपी रविन्द्र केसीले बताए ।
खानतलासीका क्रममा जयमंगलको घरबाट दुई लाख ८० हजार रुपियाँ नगदसमेत बरामद भएको डिएसपी केसीले बताए । अपराधीको एक समूह जयमंगलको घरमा भेला भएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको छ ।
यता, प्रहरीले बरामद गरेको गोली वैधानिक भएको विनोदका आफन्तले दाबी गरेका छन् । उनीहरूले गोलीका लागि सरकारी अनुमति भएको कागजपत्र जिल्ला प्रहरी कार्यालयमा पेश गरिसकेको बताए ।
पर्साका एसपी पीताम्बर अधिकारीले विनोदका आफन्तले पेस गरेको कागजात विनोदको नाममा नभइ उनका भाइ धनन्जय पटेलको नाममा रहेको बताए । धनन्जय प्रहरीको वान्टेड लिस्टमा रहेको एसपी अधिकारीले बताए ।
‘कानूनमा एकसय थान गोलीको मात्र लाइसेन्स लिन पाउने प्रावधान छ,’ एसपी अधिकारीले भने, ‘विनोदको घरबाट एक सय १९ थान गोली बरामद भएको छ र लाइसेन्स पनि अर्कैका नाममा छ ।’
यसअघि १ मंसिरमा प्रहरीले जयमंगलकै घरबाट ठूलो परिमाणमा अत्याधुनिक हतियार बरामद गरेको थियो । त्यतिखेर प्रहरीले जयमंगलको घरमा छापा मारेर एसएमजी दुइ थान, त्यसको म्याग्जिन चार थान, कटुवा बन्दुक एक थान र त्यसको गोली तीन थान बरामद गरेको थियो । डिएसपीद्वय केसी र दिवेश लोहनीको कमाण्डमा गएको टोलीले जयमंगलको घरबाट हतियार सहित अलौ–२ का शिवकुमार सहनीलाइ नियन्त्रणमा लिएको थियो । त्यसदिन प्रहरी पुग्ने सुइँको पाएर जयमंगल र उनका छोरा धनन्जय पहिले नै फरार भइसकेका थिए । जयमंगल र धनन्जय हालसम्म फरार रहेको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया