पुरुषलाई आफ्नै वीर्यको एलर्जी

विभिन्नखाले एलर्जीबाट मानिस प्रताडित भइरहेका हुन्छन् । कतिपयलाई पानीले, कतिपयलाई हावाले एलर्जी गर्छ । तर, त्यस्ता मानिस पनि पाइएका छन्, जसलाई यौनसम्बन्धी एलर्जी हुन्छ । यौनसम्बन्धपछि केही व्यक्ति विचित्र किसिमको रोगले ग्रस्त हुने गरेको पाइएको छ । त्यस्तो बेला उनीहरूलाई आफैँदेखि एलर्जी हुन्छ । यस्तो रहस्यमय रोगलाई वैज्ञानिकहरूले ‘पोस्ट अर्गाज्मिक इलनेस सिन्ड्रोम’ नाम दिएका छन् ।
उनीहरूलाई वास्तवमा आºनै वीर्यदेखि एलर्जी हुने जर्नल अफ सेक्सुअल मेडिसिनमा उल्लेख छ । नेदरल्यान्डमा गरिएको एक अध्ययनबाट यो कुरा पत्ता लागेको हो । उक्त अनुसन्धान यस्तै समस्याले पीडित ४५ जना डच नागरिकमा गरिएको थियो । ती व्यक्तिमा यौनक्रियापछि ज्वरो, नाकबाट पानी बग्ने, धेरै थाक्ने, आँखा पोल्नेजस्ता लक्षण पाइएको थियो । यस्तोखाले समस्याले पीडितहरू एक हप्तासम्म यस्तै अवस्थामा रुमल्लिने बताइएको छ । यस्ता व्यक्तिले यौनक्रियामा वीर्यपात नभएसम्म कुनै किसिमको असहजता अनुभव गर्दैनन् । तर, अण्डकोषबाट वीर्य बाहिर निस्कनासाथ उनीहरू बिरामी पर्छन् । अझ कतिपय अवस्थामा त्यस्ता मानिसहरू वीर्य निस्केको एक समयमै थला पर्ने अनुसन्धानले देखाएको छ ।
यस किसिमको रोगको पनि उपचार भने रहेको विज्ञहरूले बताएका छन् । संवेदनशीलता समाप्त गर्ने विशेष किसिमको उपचार माध्यमबाट यसको असर कम गर्न सकिन्छ । रोगीलाई एलर्जी हुने पदार्थसँग बारम्बार सामना गराइन्छ, अभ्यस्त बनाइन्छ । यो प्रकिया बिस्तारैबिस्तारै बढाउँदै लगिन्छ । केही वर्षसम्मै जारी राख्नुपर्छ । तब मात्र यस्तो एलर्जीबाट उनीहरू टाढा रहन सक्ने विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया