वीरगन्ज, ८ साउन । दाइजोका निहुंमा बारामा एक महिलाको हत्या भएको छ । विश्रामपुर–३ मुसहर्वा टोलकी २२ वर्षीया बिन्तीदेवी साह कलवारको शनिबार बिहान हत्या भएको हो ।
पति सन्तोष साह र ससुरा शिवलाल साह कलवारले बिन्तीको हत्या गरेका हुन् । मागेजति दाइजो नल्याएको भन्दै सन्तोषले परिवारका सदस्यको सहयोगमा बिन्तीको हत्या गरेका हुन् ।
हत्यालगत्तै शनिबार दिउँसै उनीहरूले बिन्तीको शव स्थानीय बंगरी खोलाको बगरमा जलाएको प्रहरीले जनाएको छ । हत्यापछि सन्तोषसहित बुबा शिवलाल र आमा फरार छन् । सन्तोषको परिवारका सबै सदस्यहरू फरार रहेकाले बिन्तीको हत्या भएको आशंका गरिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए ।
‘आइतबार सन्तोषको घर पुग्दा घरमा कोही भेटिएनन्,’ इन्स्पेक्टर घिमिरेले भने, ‘घरको ताल्चा फोडेर घरभित्र पस्दा भुइँ लिपपोत गरेर सफासुग्घर पारिएको थियो,’ उनले थपे, ‘घरको माहोल हेरेपछि थप आशंका पैदा गराएको छ ।’
बिन्तीका बुबा कुञ्जविहारी साहले छोरीको हत्या भएको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा सन्तोष र शिवलालविरुद्ध जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ‘महिलाको हत्या गरेर शव जलाउन लागेको खबर थाहा पाएर मुसहर्वा प्रहरी चौकीबाट प्रहरीको टोली शनिबार दिउँसो बंगरी खोला पुग्दा शव जलेर खरानी भइसकेको थियो,’ आइतबार सौर्यसँग इन्स्पेक्टर घिमिरेले भने, ‘बिहान शव जलाइएको स्थानबाट जल्न बाँकी हड्डीका टुक्राहरू ल्याएका छौँ ।’ हत्याको कारण पत्ता लगाउन अनुसन्धानका लागि बरामद गरिएको हड्डी काठमाडौं पठाउने बारा प्रहरीले बताएको छ ।
भारतको मोतीहारी जिल्लाको बेला गाउँ माइती भएकी बिन्तीको २४ जेठ २०६७ मा सन्तोषसँग मागीविवाह भएको थियो । विवाहका बेला बिन्तीको माइतीले नगद र सरसामानसमेत चार लाख रुपियाँ बराबरको दाइजो दिएका थिए । बिन्तीका बुबा कुञ्जविहारीका अनुसार सन्तोषले माइतीमा मोटरसाइकल माग्न तीन महिनादेखि बिन्तीलाई दबाब दिँदै आएका थिए ।
मोटरसाइकलका लागि सन्तोषसहित उनका परिवारका सदस्यले बिन्तीलाई पटकपटक मानसिक र शारीरिक यातना पनि दिँदै आएका थिए । ‘माइतीबाट मोटरसाइकल मागेर ल्याउनु भन्दै छोरीलाई उनीहरूले दिनहुँजसो कुटपिट गर्दै आएका थिए,’ कुञ्जविहारीले आइतबार प्रहरीसँग भने । दाइजोका लागि छोरीलाई कुटपिट गरिएको थाहा पाएर कुञ्जविहारी गत शुक्रबार बिन्तीको घर विश्रामपुरमै पुगेका थिए ।
दुईतीन महिनामा पैसाको जोहो गरेर मोटरसाइकल घरमै पुर्याइदिने आश्वासन दिएर उनी बिहीबार बेलुकी घर फर्किएका थिए । ‘मैले मोटरसाइकल किनेर दिन्छु भनेकै थिएँ,’ कुञ्जविहारीले भने, ‘तर, भोलिपल्ट नै छोरीको हत्या भयो ।’ शनिबार बिहान सन्तोषले फोन गेरर बिन्तीको मृत्यु भएको खबर दिएलगत्तै कुञ्जविहारी दिउँसो २ बजे विश्रामपुर पुगेका थिए । उनी पुग्दा सन्तोषका परिवारजनले बिन्तीको शव खोलामा लगेर जलाइसकेका थिए । दाइजोको निहुँमा बिन्तीलाई उनका पति, सासु र ससुराले पटकपटक कुटपिट गर्ने गरेको सन्तोषका छिमेकीले पनि बताएका छन् ।
यसअघि २२ चैतमा पनि बाराको कलैया–१४ विश्वम्भरपुरका शंकर कुशवाहाले दाइजो नल्याएको निहुँमै आफ्नी पत्नी ललिताकुमारीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । हत्याका आरोपी शंकरलाई प्रहरीले त्यही दिन उनकै घरबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया