नयाँ सरकार आहवान गर्न आग्रह

काठमाडौं, ७ साउन । राष्ट्रपति डा.रामवरण यादव र कांग्रेसका शीर्ष नेताहरु वीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
भेटमा उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति डा.यादवलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा कांग्रेस नेताहरुले मुलुकमा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख गरेका हुन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेको नयाँ निर्वाचन नहुने निश्चित भएको भन्दै कांग्रेस नेताहरुले राष्ट्रपति डा.यादवलाई आवश्यक कदम चाल्न पुनः आग्रह गरे । मंसिर–७ गते नयाँ निर्वाचन हुन नसक्ने कांग्रेस नेताहरुको भनाई छ ।
निर्वाचनसँग बाझिएका कानून संशोधनका लागि निर्वाचन आयोगले दिएको समय सकिएकाले गतिरोध अन्त्य गर्न राष्ट्रपति डा.यादवले संविधानको संरक्षकका रुपमा भूमिका निर्वाह गर्न सुझाव दिएको भेटपछि कांग्रेस नेताहरुले बताए । उनीहरुले छिटो भन्दा छिटो राष्ट्रिय सरकार बनाई मुलुकलाई निकास दिनुपर्ने उल्लेख गरे ।
राष्ट्रपति डा.यादवलाई भेट्न कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल राष्ट्रपति भवन पुगेका थिए ।
डेढ घण्टा लामो कुराकानीमा राष्ट्रपति डा.यादवले गतिरोध अन्त्य गर्न राजनीतिक सहमति आवश्यक पर्ने भएकाले त्यसका लागि पहल गर्न कांग्रेस नेताहरुलाई पनि आग्रह गरे ।
आफू संविधानको संरक्षक भएकाले संविधान बाहिर गएर कुनै पनि काम नगर्ने राष्ट्रपति डा.यादवको भनाई थियो ।

प्रतिक्रिया