काठमाडौँ : चलचित्र निर्देशक प्रताप सुब्बा यसपालिको हीरासिंह खत्री स्मृति चलचित्र सम्मानबाट सम्मानित भएका छन् । हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार गुठीले शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।
प्रवासमा रहेर पनि साढे तीन दशकदेखि नेपाली रंगमञ्च र चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुब्बालाईसम्मान प्रदान गरिएको आयोजकले बतायो । यो सम्मान स्व. निर्देशक हीरासिंह खत्रीका नाममा उनका चेला चेतन कार्कीले स्थापित गरेका हुन् । अभिनेत्री वसुन्धरा भुषालले २५ हजार नगद र ताम्रपत्रका साथ र खादा पहिर्याएर सुब्बालाई सम्मानित गरिन् । सम्मान ग्रहणपछि सुब्बाले भने– ‘मलाई एकदमै खुसी लागेको छ । भारतमा चलचित्रका लागि सबैभन्दा उत्कृष्ट अवार्ड दादा फाल्के हो । नेपालका लागि यो अवार्ड त्यही सरहको भएको मैले मानेको छु ।’ सुब्बाले परालको आगो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञालगायत चलचित्र निर्देशन गरेका छन् । गत वर्ष यो सम्मान निर्माता–निर्देशक यादव खरेललाई प्रदान गरिएको थियो । कमल अधिकारी/प्रशिक्षार्थी
प्रतिक्रिया