सोलारबाट २१ सय मेगावाट विद्युत् उत्पादन

काठमाडौं, ७ साउन । सोलार (सौर्य) प्रविधिबाट नेपालमा २१ सय मेगावाट विद्युत् उत्पादनको सम्भावना देखिएको छ । सोलार प्रविधिको विस्तारका लागि सरकारले विशेष अभियान सञ्चालन गरेमा अहिले नेपालीले उपयोग गरिरहेको जलविद्युत् बराबर उपयोग गर्दा ६० लाख घरधुरीमा सोलार जडान गर्नसक्ने अवस्था देखिएको हो । तर, सरकारी निकायले नवीकरणीय ऊर्जालाई विशेष जोड नदिएका कारण हालसम्म नेपालमा करिब चार लाख घरधुरीमा मात्र सोलार जडान भएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा कार्यक्रमका प्रबन्धक मधुसूदन अधिकारीका अनुसार मुलुकभरका सबै ठाउँमा तीन सय दिन घाम लाग्छ भने कुल जमिनको पाँच प्रतिशत क्षेत्रमा सोलार जडान गरी करिब २१ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । ‘अहिले विद्युत् प्राधिकरणले करिब सात सय मेगावाटको विद्युत्मार्फत ४५ प्रतिशत जनतालाई बिजुली पुर्‍याइरहेको छ,’ अधिकारीले भने, ‘सरकारले विशेष जोड दिएर सोलार अभियानलाई तीव्रता दिने हो भने ऊर्जा संकट समाधान सोलारबाटै हुन सक्छ ।’ उनका अनुसार सोलार प्रविधिलाई विस्तार गरेमा विदेशबाट आउने मट्टीतेल र ग्यास आयातमा ८० प्रतिशतले कमी आउने छ ।
अहिले करिब २० लाख जनसंख्यालाई सरकारले विद्युत् आपूर्ति गरिरहेको छ । सोलारबाट विद्युत् उत्पादन गर्ने अभियान सञ्चालन गरेमा करिब ६० लाख घरधुरीमा अहिले सरकारले दिएको विद्युत् सेवा सरह नै ऊर्जा प्राप्त हुनेछ । सोलारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडेर अहिलेको ऊर्जा संकट समाधानको उपायका रूपमा सोलारलाई उपयोग गर्न सकिने प्रशस्त सम्भावना रहेको केन्द्रले जनाएको छ । तर, केन्द्रीय प्रसारण लाइन जोड्ने र नवीकरणीय ऊर्जाका रूपमा रहेको सोलार अभियानलाई व्यवस्थित गर्न सरकारसँग कानुन छैन । ‘सरकारले केही नै गरेको छैन भन्ने अवस्था त छैन, अनुदानको व्यवस्था गरेको छ तर संविधानसभासँगै २० वर्षे नवीकरणीय ऊर्जा नीति पनि मर्‍यो र कानुन बन्न सकेन,’ नेपाल सौर्य व्यवसायी संघका महासचिव किरण गौतमले भने, ‘सरकारले अब ग्रामीणसँगै सहरलाई पनि विशेष जोड दिएर सोलार बनाई विद्युत् प्राधिकरणको केन्द्रीय लाइनसँग जोड्ने व्यवस्था मिलाउनुपर्छ, जसले ऊर्जा संकट समाधानका लागि धेरै सहयोग पुर्‍याउँछ ।’
सन् १९९९ देखि २०१२ सम्म केन्द्रअन्तर्गत ऊर्जा क्षेत्र सहयोग कार्यक्रम सञ्चालन गर्दा चार लाख घरधुरीमा सोलार जडान गरिएको थियो । केन्द्रले डेनिस, जर्मन, नर्वे, युएनडिपीको सहयोगमा सन् ०१७ सम्मका लागि ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम गर्न लागेको हो । सो कार्यक्रमअन्तर्गत नेपालमा ६ लाख सोलार जडान गर्ने लक्ष्य राखिएको छ ।
विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेको क्षेत्रमा जडान गरिने सोलारले नेपालका विशेष गरी ग्रामीण क्षेत्रमा विशेष फाइदा पुर्‍याउँदै आएको छ । मट्टीतेल उपयोगको कारणले लाग्ने विभिन्न रोगमा कमी आउनुका साथै बालबालिकालाई अध्ययन गर्न र घरभित्रको सरफाइमा धेरै सहयोग पुगेको छ ।
कतिपय ग्रामीण क्षेत्रमा सोलार कुकुरको उपयोग गरिएकाले ग्याँस तथा दाउरा खपतमा समेत कमी भएको छ । ‘सोलारले जलवायु परिवर्तनका कारण हुने असरलाई कम गर्नुका साथै गाउँलाई झिलिमिली बनाएको छ,’ प्रबन्धक अधिकारीले भने ।
सोलारको जडानसँगै मट्टीतेल खपतमा समेत कमी आएको छ । नेपालमा बर्सेनि एक करोड ४४ लाख लिटर मट्टीतेल खपत कम भएको छ । मट्टीतेल कम खपत हुँदा झन्डै वर्षको एक अर्ब ३४ करोड रुपियाँ विदेश जानबाट जोगिएको छ ।
नेपालका ग्रामीण क्षेत्रमा बनाइएका चार लाख सोलारबाट बर्सेनि एक करोड ४४ लाख मट्टीतेल कम खपत भएको छ । केन्द्रको तथ्यांकअनुसार अधिकांश ग्रामीण क्षेत्रका एक परिवारले मासिक तीन लिटर मट्टीतेल उपयोग गरी बत्ती बाल्ने गरेका छन् । त्यसको आधारमा एक परिवारले वर्षको ३६ लिटर उपयोग गर्ने गरेको छ । विकट ग्रामीण क्षेत्रमा उक्त मट्टीतेल किन्दा प्रतिलिटर ९३ रुपियाँदेखि एक सय रुपियाँसम्म पर्छ । केन्द्रका अनुसार अहिले ग्रामीण क्षेत्रका २५ लाख घरधुरीमा विद्युत्को केन्द्रीय प्रसारन लाइन पुगेको छैन ।
पाँच वर्षभित्र ६ लाख घरधुरीमा सोलार जडान गर्दा तीन करोड ३४ लाख लिटर मट्टीतेल खपतमा कम भई करिब तीन अर्ब तीन करोड रुपियाँ फाइदा हुने लक्ष्य छ । सरकारले गत वर्ष सडक बत्तीमा सोलार जडान गर्ने लक्ष्य राखे भने त्यो भने सफल हुन सकेन ।
सूर्यको तापले विद्युत् उत्पादन हुने तथा सौर्य ऊर्जाका लागि अनुदानसमेत पाइने हुनाले ग्रामीण क्षेत्रका सर्वसाधारणको सोलार प्रविधितर्फ आकर्षण बढेको छ । केन्द्रले नेपालका तराई, पहाड र हिमालमा पाँचदेखि १० हजार रुपियाँसम्म अनुदान दिने गरेको छ । नेपालका सोलार प्रविधिको प्रचुर सम्भावना रहेको तथा सोलार प्रविधिलाई विस्तार गर्नसके विदेशबाट मट्टीतेलमा आयात कम भई नेपालले अर्बांै रुपियाँ फाइदा लिन सकिन्छ । ‘दैनिक पाँच घन्टाभन्दा बढी घाम लाग्ने हुनाले नेपालमा प्रशस्त सोलारको सम्भावना छ, सरकारले करोड लगाएर बनाउन हरेक काठमाडौंमा घरमा सोलार राख्न लगाएर त्यसलाई केन्द्रीय ग्रिडसँग जोड्नुपर्छ,’ महासचिव गौतमले भने ।

प्रतिक्रिया