लगानीमैत्री वातावरणको अभाव

काभ्रे, ७ साउन । नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डीराज ढकालले पूर्ण बजेट नआउँदा लगानीमैत्री वातावरण बन्न नसकेको बताएका छन् ।

राजनीतिक संक्रमणकाल लम्बिएकाले उद्योगी व्यवसायीको लगानी र सुरक्षाको वातावरण नभएको पनि ढकालले बताए । धुलिखेल उद्योग वाणिज्य संघको विशेष साधारणसभाको उद्घाटनको अवसरमा पूर्वअध्यक्ष ढकालले शनिबार धुलिखेलमा सो कुरा बताएका हुन् ।
अहिलेको समय आर्थिक क्रान्तिको भए पनि राजनीतिक दलको असमझदारीले मुलुकमा रोजगारी, लगानीको वातावरण र सुरक्षाको वातावरण बन्न नसकेको उनको टिप्पणी छ । ‘पूर्ण बजेट नआउँदा विकास निर्माण मात्रै होइन मुलुककै आर्थिक उन्नतिमा प्रभाव पार्‍यो,’ ढकालले भने ।
संघको २५ आँै वार्षिकोत्सव तथा रजत महोत्सवको आयोजना गरी मनाउने लक्ष्य राखिएकाले शनिबार विशेष साधारणसभा विधान परिमार्जनका लागि आयोजना गरिएको संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बताए । विधानले धुलीखेलका उद्योगी व्यवसायी मात्रै सदस्य हुने प्रावधान भए पनि विधान संशोधनपछि जिल्लाका सबै व्यवसायी संघमा आबद्ध हुन पाउने व्यवस्था गरिएको छ ।
विशेषगरी धुलिखेलपूर्वका दाप्चा, मंगलटार, भकुन्डे, दोलालघाटलगायतका उद्योगी व्यवसायीलाई संघमा आबद्ध गराउने योजना बनाइएको छ । पर्यटकीय रूपले समेत चिनिँदै आएको धुलिखेलमा आएका पर्यटकका लागि मायाको चिनोका रूपमा लैजान पाउने व्यवस्था गर्न संघले व्यवस्था गर्ने भएको छ । त्यसैगरी धुलिखेलमा उत्पादन हुने सबै वस्तु कोसेली घरमा राख्ने तर्फ पनि उसले तयारीको दाबी गरेको छ ।
साधारणसभामा महासचिव सुवासकाजी श्रेष्ठ, केन्द्रीय सदस्य लोकविक्रम थापा, कृष्णप्रसाद ताम्राकार, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभन्डारी, नेपाल चेम्बर अफ कमर्सका मकरलाल श्रेष्ठलगायतले राजनीतिक संक्रमणका कारण उद्योगी व्यवसायीले भोग्नु परेका समस्याबारे धारणा राखेका थिए ।

प्रतिक्रिया