कर्मचारी भर्तीकेन्द्र बन्यो नगरपालिका

नेपालगन्ज, ७ साउन । आवश्यकताभन्दा बढी कर्मचारी भएका कारण नेपालगन्ज नगरपालिकाले योजनाअनुसार काम गर्न सकेको छैन ।

नगरपालिकाका प्रमुखले सहरमा विकास र पूर्वाधारको कामभन्दा कर्मचारी भर्तीमा जोड दिएर राजनीतिक दलको स्वार्थ पूरा गरेपछि नगरपालिका थलिएको कर्मचारीले नै आरोप लगाएका छन् । राजनीतिक दलको ठाडो आदेश र नगरपालिका प्रमुखको मनोमानीमा भर्ती गरिएका कर्मचारीलाई मात्र वार्षिक चार करोड रुपियाँ सेवा–सुविधामा खर्च हुँदै आएको छ । नगरपालिका स्रोतका अनुसार त्यस्ता कर्मचारी हाजिर गर्न मात्र कार्यालयमा आउँछन् ।
नगरपालिकामा यस्ता कर्मचारीको संख्या ६८ पुगेको छ । तत्कालीन नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठको पालामा मात्र २२ कर्मचारी भर्ती गरिएका थिए । भर्ती गरिएका कर्मचारी स्थानीय स्वायत्त शासन ऐनविपरीतका हुन् । ‘विनासूचना नगरपालिकाका प्रमुखको तोकादेशमा कर्मचारी भर्ती गरेका थिए,’ नगरपालिकामा रहने राजनीतिक दलको तत्कालीन संयन्त्रका सदस्य दत्तप्रसाद आचार्यले भने, ‘भर्ती गरिएका कर्मचारीको आवश्यकता छ/छैन भनेर छलफल पनि भएन ।’
एमालेका तर्फबाट संयन्त्रमा रहेका आचार्यले ओभरलोड’ कर्मचारीका कारण नगरपालिकाको आम्दानी विकासमा खर्च हुन नसकेको बताए । ‘वार्षिक चार करोड रुपियाँ कर्मचारीको खर्चमा जान्छ भने विकास कसरी हुन्छ ?’ उनले भने, ‘अनावश्यक कर्मचारी भर्ती गर्ने विषयमा नगरपालिकाका प्रमुखले राजनीतिक दलका सदस्यलाई औँला देखाएर आफू चोखिने काम गर्दै आएका छन् ।’
अनावश्यक कर्मचारीको भिड लागेपछि नेपालगन्ज नगरपालिका तीन वर्षदेखि न्यूनतम कार्यक्रम मूल्यांकनमा असफलता व्यहोर्दै आएको छ । सात करोड ५० लाख रुपियाँ मात्र आन्तरिक आम्दानी रहेको नगरपालिकाले वार्षिक चार करोड रुपियाँ कर्मचारीको तलबमै खर्च गरेपछि ठूला योजना प्रभावित भएका हुन् ।
मध्य तथा सुदूरपश्चिममा सबैभन्दा ठूलो नगरपालिकाका रूपमा चिनिएको नेपालगन्ज नगरपालिका अव्यवस्थित र दुर्गन्धित बन्दै गएको छ । व्यवस्थित ढल निकासको व्यवस्था नहुँदा सामान्य सिमसिमे पानीमा पनि सडकभरि पानी जमेर हिलाम्मे हुने गर्छ ।
कहीँ–कतै ढल निकास नभएको नेपालगन्ज नगरपालिकामा भएका सानातिना ढल पनि फोहोरले थुनिएर ढलको पानीसँगै सडकमा बग्ने गरेको छ । नगरपालिकाका कार्यकारी प्रमुख लोकबहादुर सुनार धेरै कर्मचारीलाई विनाकाम तलब खुवाउनुपरेकाले कार्यालयलाई आर्थिक भार परेको बताउँछन् । राजनीतिक तोकादेशमा नियुक्ति पाएका कर्मचारीलाई हटाउँदा पनि आफूलाई मार्नेसम्मका धम्की आएको उनले सुनाए । कार्यकारी अधिकृत सुनारले काम गर्न चाहँदा त्यस्ता कर्मचारीले असहयोग गरेको बताए ।
राजनीतिक दलले कार्यकारी अधिकृतमाथि दोष लगाए पनि हालका नगरपालिकाका कार्यकारी अधिकृत सुनारले राजनीतिक दलको संयन्त्रले गलत नजिर स्थापना गरेकाले आफूलाई काम गर्न समस्या भएको दाबी गरे । उनले नागरिकको आवश्यकताभन्दा पनि राजनीतिक दलले आफ्ना कार्यकर्तालाई फाइदा पुग्ने गरी योजना बनाउने गरेको बताए ।

प्रतिक्रिया