ग्रामीण सडक अवरुद्ध

इलाम, ७ साउन । अविरल वर्षाले सडक भत्किएपछि इलामका अधिकांश ग्रामीण भेगका यातायात अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा झापा, पाँचथर र मोरङका विभिन्न स्थानमा चल्ने लामो दूरीका बस र ट्याक्सी सेवा पनि बन्द भएका छन् । सदरमुकामबाट बरबोट हुँदै इभाङ, गजुरमुखी, मंगलबारे, जितपुर, सुम्बेक, सलुबुङ, मावु, जमुना, माईपोखरी, सोयाङ, नयाँबजार, नामसालिङ, शान्तिडाँडा, पुवामझुवा, जमुना, प्याङलगायत दर्जनौँ गाविस जोड्ने सडक भत्किएपछि यातायात बन्द भएको हो ।
त्यस क्षेत्रमा दैनिक ५० भन्दा बढी ट्याक्सी, जिप र अन्य साना गाडी सञ्चालनमा थिए । सदरमुकामदेखि २५ किलोमिटर पश्चिममा पर्ने गजुरमुखी राँके–मंगलबारे–गजुरमुखी सडक भत्किएपछि पश्चिमी क्षेत्रमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध भएको गजुरमुखीका खड्गराज लिम्बूले बताए ।
झापाको दमकबाट रवि हुँदै उत्तरी इलामको राँकेबजारसम्म जोड्ने राष्ट्रिय विभूति फाल्गुनन्द मार्ग वर्षाले क्षतिग्रस्त भएपछि दुई सातादेखि बन्द छ । गाडी चल्न छाडेपछि अत्यावश्यक सामानमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएको चतुरेका व्यापारी मैतराज राईले बताए ।

प्रतिक्रिया