दाङ–तुलसीपुर खाजाघरबाट हतियार बरामद

काठमाडौं, ६ साउन । काठमाडौंको गोंगबु मित्रनगरस्थित रहेको दाङ–तुलसीपुर खाजाघरबाट प्रहरीले रुकुमका नवीन विक सहित दुई जनालाई हतियार सहित पक्राउ गरेको छ ।
कपिलबस्तु जिल्ला चन्द्रौटा–५ घर भएका हीराबहादुर क्षेत्रीको सो खाजाघरबाट गएराति रुकुम जिल्ला खलंगा–५ घर भएका २३ वर्षीय विक र तनहुँ जिल्ला थप्रिक–५ घर भएका ३७ वर्षीय तेजबहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले विक र गुरुङको साथबाट मेड इन इटाली लेखेको पेस्तोल १ थान, त्यसका गोली ४ राउण्ड र म्यागजिन २ थान समेत बरामद गरेको हो ।

सुनका सिक्री लुटपाट 
यसैवीच, गोंगबु गणेशस्थानस्थित पोखरा खाजाघरमा बर्षा हमालले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने लम्जुङ घर भएका २७ वर्षीय लिलाराम कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न अन्य २ जना सिक्री लिएर फरार भएको प्रहरीले जनाएको छ ।
त्यसै गरेर, सीतापाइलास्थित कान्तिपुर फिल्महल नजिकबाट पैदलयात्री ४० वर्षीया अन्जु राणाले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री लुटपाट भएको छ ।
नम्बर नखुलेको पल्सर मोटरसाइकलमा आएका अपरिचित २ जनाले राणाको सुनको सिक्री लुटेर फरार भएका हुन् । लुटपाट गर्ने समूहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया