मुगुका मान्ठाहरू

मुगु जिल्लाको सदरमुकाम गमगढी एक फन्को मारेपछि मित्र अमृत भादगाउँलेले भन्नुभयो, ‘डम्बरजी, तपाईंले याद गर्नुभयो गमगढी पूरै डुल्दा तपाईं र म जति मोटाघाटा मान्छे एकजना पनि भेटिएन नि †’ मैले त उति याद गरेको रहेनछु । एक नजर डुलाएँ अनि सम्झेँ पनि । हो, साँच्चै त्यति खाइलाग्दा मान्छे भेटिएनन् ।
कर्नाली मुलुककै पिछडिएको अञ्चल, त्यसमा पनि मुगु जिल्ला मानव सूचकांकमा सबभन्दा पछि परेको जिल्ला, जहाँका पुरुषको औसत आयु चौवालीस वर्ष रहेको छ भने महिलाको चालीस हाराहारी मात्र । अन्न उत्पादनका हिसाबले खासै केही पनि नहुने । अन्यत्रैबाट ओसारिएको दाल, चामलले जिन्दगी धान्नुपर्ने अवस्था । शिक्षा, स्वास्थ्य, यातायात सबै अवसरबाट वञ्चित भएको स्थिति, नेपालको वास्तविक तस्बिर देखिन्थ्यो त्यहाँ ।
रारा ताल परिसरमा भेटिए केही प्रौढ, युवा र बालवनिता । बोलाएँ, ‘ओडो आऊ, अन्नी बाँडीचुँडी खाइकन जाउला ।’  खाजा खाइरहेका थिए कोदोको रोटी । प्रेमपूर्वक रोटी लियौँ र खायौँ कपाकप । मुगाली माया मिसिएको खाजा औधी मीठो लाग्यो । सट्टामा दियौँ चाउचाउ र बिस्कुट । खुब खुसी भए उनीहरू । प्लस टु पढ्ने केटीहरू पनि थिए त्यही समूहमा । तर, तिनीहरू प्लस टु पढ्नेजस्ता लाग्दैनथे । निकै खिइएका र सरसफाइमा कमजोर । झुत्रा–मैला कपडामा बेरिएका अनि जिङ्ग्रिङ्ग कपाल भएका । तुलना गर्‍यौँ काठमाडौंका मिनिस्कर्टे (अझ माइक्रोस्कर्टे भन्नुपर्ने हो कि †) नानीहरूलाई । थोरै उमेरमा पनि निकै पाका लाग्थे त्यहाँका मान्छेहरू ।


गमगढी झर्दै गर्दा रौसे बूढाहरू पनि भेट्यौँ । बूढा नै भन्नुपर्ने पचास हाराहारीका मान्छेलाई पनि । गीत गाउँदै आउने एकजना दाजु काठमाडौं नगएको पनि पचास वर्ष भयो रे † र, उनी जम्मा पचास वर्षकै रहेछन् । मतलब काठमाडौं त कता–कता उनीहरूलाई । सुर्खेत, नेपालगन्जतिर झर्नु नै ठूलो कुरा हुने रहेछ ।
रारा देशकै ठूलो र सुन्दर ताल । मुगु जिल्लामै पर्दछ । दुई वर्ष पहिले त्यहाँ पुग्ने अवसर जुरेथ्यो । काठमाडौंबाट यात्रामा निस्केथ्यौँ आफूसहित राष्ट्रगानका सर्जक व्याकुल माइला, पोखरेली गजलकार प्रकट पगेँनी शिव, घुमफिरमा रमाउने पत्रकार अमृत भादगाउँले । काठमाडौंबाट हतार–हतार हवाई जहाज प्रवेश गर्‍यौँ, करिब एक घन्टाको उडानपछि नेपालगन्ज पुग्यौंँ । मुगु जिल्ला अस्पतालमा कार्यरत डाक्टर बद्री चापागाईंले स्वागत गर्नुभयो नेपालगन्जमा । त्यहाँबाट मुगुको ताल्चा विमानस्थल उड्ने जहाज नमिलेपछि हुइँकियौँ सुर्खेततिर । यात्रामा थपिए पत्रकार श्रीराम सिग्देल र कमल केसी ।
सुर्खेत पुगेको भोलिपल्ट पनि जहाज नमिलेपछि एक दिन त्यतै थन्किने अवसर प्राप्त भयो । अनि पो मौका मिल्यो काँक्रेविहार, बुलबुले ताल घुम्ने । खुला संग्रहालय नै रहेछ काँक्रेविहार । के गर्नु र त्यहाँको अस्तित्व नै गुमनाम हुने अवस्थामा रहेछ । यो अवस्था देखेर स्रष्टा प्रकट पगेँनी शिवले गहभरि आँसु बनाएको अहिले पनि झलझली सम्झिरहेछु । साँच्चै मनै कुँडिने रहेछ त्यहाँको हालत हेर्दा । हुन त पुरातत्त्व विभागले हेरेको रे, केही महत्त्वपूर्ण कलात्मक शिला उसले संग्रहालयमा ल्याएर राखेको छ रे † त्यस्तै विहार बनाउने भन्ने पनि सुनियो ।
‘सुर्खेत बुलबुल ताल, माया मै सानी हुनाले छुट्यो मायाजाल…’ यो एक चर्चित र पुरानै लोकगीत हो । सुर्खेतमा बुलबुलवाला मिनरल वाटर पनि चाख्न पाएथ्यौँ । त्यसैगरी, यही तालको नाम अन्य उत्पादनले राखेको थियो होला, हामीले सबै थाहा पाउने समय त पाएनौँ । जति यो तालको नाम सुनिएको थियो, त्यही मात्रामा नाम थेग्ने गरी भने यो ताल रहेको पाइएन । खासमा तालभन्दा पनि पोखरीजस्तो लाग्ने बुलबुल ताल पनि संरक्षण अभावमा नामेट हुनसक्ने अवस्थामा देखियो । नजिकको बाटिकाले भने शोभा दिएकै थियो ।
मान्छेभन्दा सामान बोक्न रुचाउने ट्विनअटरमा हामीले यात्राको अवसर पायौँ र सत्र–अठार मिनेटको त्रासदी तर रोमाञ्चपूर्ण उडानपश्चात् उत्रियौँ मुगुको ताल्चा विमानस्थल । सामान्य ग्राभेल गरिएको यो विमानस्थल दुर्घटनाको उच्च जोखिम रहेको मानिँदो रहेछ । झन्डै दुई घन्टाको उकालो र केही तर्पायाँ बाटोको यात्रापछि पुगेथ्यौँ रारा । कवि राजा महेन्द्रकै बोलीझैँ ‘रारा हुन् कि अप्सरा’ हामीलाई पनि मुस्किल परेथ्यो छुट्टयाउन । तीन किलोमिटर चौडाइ, पाँच किलोमिटर लम्बाइ र एक सय सतसठ्ठी मिटर गहिरो यो ताल तीन हजार मिटर उचाइमा रहेको छ । वरिवरि हरियाली पहाडको फेरो, बीचमा यो विशालकाय ताल, मनै पागल भयो मेरो त † देख्नसाथ चुमौँझैँ लाग्यो र झ्वाम्म हामफालेँ सबैभन्दा पहिले । क्रमश: अरू साथी पनि प्रवेश गरे । कति कञ्चन पानी, र त लाग्यो धेरै पवित्र पनि । यहाँ कसैले र केहीले पनि बिष्ट्याउन भ्याएको छैन, सकेको छैन जुठ्याउन पनि । आफ्नो कौमार्यको पूर्णयौवनमा फुलिरहेकी राराको मुलायम स्पर्श, न्यानो स्नेहले सिक्त भयौँ हामी ।
व्याकुल दाइ पनि निकै भावुक बन्नुभयो । प्रटक दाइ उस्तै । पत्रकार अमृत भादगाउँले  फिचरको अङ्ग खोजिरहेझैँ लाग्थ्यो । पर्वते ठिटा डाक्टर बद्रीको त पानीपँधेरो नै रहेछ रारा । विभिन्न सिजनमा यहाँका फोटो खिचेका रहेछन् । देखाउँदै थिए, हामीलाई नेपालगन्जमै । छिप्ँिपदो रातसम्म पनि स्थानीय लोकभाका गुन्जिरह्यो । गमगढी अस्पतालको टोली नै सामेल भएको थियो त्यहाँ । गीत त्यति नबुझिए पनि सांगीतिक सुरलहरीले तरंग्याइरह्यो । दन्किँदो आगोमा आलु पोल्दै अनि आलु सँगसँगै स्थानीय सेजको स्वादले रात लगभग सबै कोणले मादक बन्यो । हामी फुक्काफाल भएर हिँडेका यायाबर, उसै पनि यहाँको सौन्दर्य नै माद लाग्ने खालको, यो जमघट, यो वातावरण, आखिर के चाहियो र अब †
भोलिपल्ट लगभग तीन घन्टा तालमै रमायौँ । तालको बीच भागमा पुगेपछि डा. बद्रीले उद्घोष गर्नुभयो, राष्ट्रगानका सर्जक दाजु व्याकुल दाइको नेतृत्वमा राष्ट्रगान गाउने । सबै उभिएर छातीमा दायाँ हात राखेर गायौँ, ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…।’ निकै आनन्दमय बन्यो त्यो क्षण र हामी गौरवान्वित भयौँ, सर्जक व्याकुल दाइलाई नै साक्षी राखेर राष्ट्रगान गाउन पाएकोमा ।   डुंगाको सहारामा पुग्यौँ पारि मिलिचौर । रंगीबिरंगी फूलले ढकमक्क भएको चौरमा डुल्यौँ । राजा महेन्द्रको स्मृतिमा बनाइएको चौतारोमा सुस्तायौँ । सायद कवि राजा महेन्द्र यहीँ टोलिएर कविता लेखेथे– रारा कि अप्सरा ।
प्रकृतिका यति सुन्दर ठाउँ पनि रहेछन् नेपालमा, खै र चिनाउन सकिएको । अरू मुलुकमा यत्तिको प्राकृतिक वैभव भएको भए कति डंका पिट्थे † यहाँको जनजीवन उकास्नका लागि सरकारी र गैरसरकारी संस्थाबाट कुस्त रकम नआएका होइनन्, तर के गर्नु र ? कति भन्दैथे, मुगुमा वर्षेनी घरलौरी रकम बाँड्ने भए पनि आठ–दस लाख रुपियाँ आउँछ । दु:खको कुरो उनीहरूसम्म यो रकम पुग्दैन ।
सम्झिरहन्छु गमगढीका सुमन मल्ल । गुरुकुलमा मञ्चन भएको ‘सुइना कर्नालीका’ उनकै परिकल्पनाको नाटक हो । उनले नाट्यघर निर्माणका लागि जग्गा नै प्रदान गरेका रहेछन् । बेलुकी लामो समय बस्यौँँ उनीसँग । त्यहाँबाट राजधानीमा समाचार पठाउने पत्रकार पनि रहेछन् उनी । त्यो साँझ भन्दै थिए, ‘भोल छकले मेरा घर आइकन एकुन्टा रोटा खाइकन पुडा जाउला ।’ जान भ्याइएन भोलिपल्ट बिहान, ओहो अब कहिले पुगिएला त्यहाँ र खान पाइएला रोटी †
यो यात्राको संयोग जुराउने प्रेम बानियाँलाई धन्यवाद दियौँ मनमनै । संयोजनकारी भूमिकाका लागि डा. बद्रीप्रति कृतज्ञता जाहेर गर्दै स्वर्णिम यात्राका पल सम्झँदै फर्कने तरखरमा लाग्यौँ । ताल्चा विमानस्थल आएर जहाज चढेपछि बिदाइको हात हल्लायौँ, मुगुको माटोले भनेझैँ लाग्थ्यो– फेरिफेरि आइजाया, नबिस्र्या है †

प्रतिक्रिया