एमाओवादीभित्र ताण्डव

काठमाडौं, ६ साउन । एमाओवादीका नेताहरूले पार्टीको विस्तारित बैठक उद्घाटन गर्ने क्रममा एकस्वरले भनेका थिए, ‘अब पार्टीभित्रका गुट–उपगुट समाप्त भए । हामी एकढिक्का भयौँ ।’ त्यसो भनेको चौथो दिन शुक्रबार विस्तारित बैठककै क्रममा एमाओवादीभित्र दुई पक्षबीच ताण्डव मच्चिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले कुर्सी प्रहार गरे भने डा. भट्टराईलाई दाहालपक्षीय नेताले ‘हातपात’ गरे ।

पार्टीभित्रको असन्तुष्ट समूह फुटेर गएको एक महिनामै एमाओवादीभित्र दुई गुटबीच रडाको मच्चिएको हो । दशक लामो सशस्त्र विद्रोह र आधा दशकयताको शान्तिप्रक्रियाका क्रममा एमाओवादीका शीर्ष नेताहरूले सम्भवत: पहिलोपटक आºनै कार्यकर्ताबाट

भौतिक आक्रमणको सामना गर्नुपर्‍यो । अध्यक्ष दाहाल रप्रधानमन्त्री भट्टराई पक्षको दुई खेमाबीच बैठकस्थलमै कुटाकुट भएपछि झन्डै साढे तीन घन्टा बैठक अवरुद्ध भयो ।
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट आएको सुझाव प्रस्तुत गर्ने क्रममा दुई खेमाका कार्यकर्ताबीच सुरु भएको विवादले उग्ररूप लिएको हो । केन्द्रीय तहमै रहेका नेताहरू एक–अर्को पक्षमाथि जाइलागे । आफू पक्षधर कार्यकर्तालाई बोल्नै नदिएको भन्दै प्रधानमन्त्री भट्टराई बैठक छाडेर हिँड्न थालेपछि अध्यक्ष दाहालका विश्वासपात्र भनेर चिनिने पोलिटब्युरो सदस्य जनार्दन शर्माले रोकेका थिए ।
स्रोतका अनुसार शर्माले ‘नेता भएर कार्यकर्ताको कुरा सुन्न नसक्ने ? भागेर जानु पाउनुहुन्न, यहीँ बस्नोस्, कुरा सुन्नुपर्छ’ भनेर भट्टराईको हातै समाएर तान्न थालेपछि भट्टराई पक्षधर नेता–कार्यकर्ता आक्रोशमा आएका थिए । प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल, पोलिटब्युरो सदस्य नवराज सुवेदी, प्रभु साहलगायतले शर्मालाई भट्टराईबाट छुटाउँदै मञ्चबाट भुइँमा हुत्याए ।
नेता–कार्यकर्ताबीच नै भिडन्त हुन थालेपछि अध्यक्ष दाहाल बैठक स्थगन गरेको घोषणा गरेर बाहिरिने क्रममा उनीमाथि भट्टराई पक्षधर एक कार्यकर्ताले कुर्सीले हानेका थिए । सहयोगीले छेकेका कारण कुर्सीले अध्यक्ष दाहालको कुहिनोमा मात्रै लागेको स्रोतले जनाएको छ । अध्यक्षलाई कुर्सीले हानेको आरोपमा स्वयंसेवकहरूले सेती–महाकाली राज्य समितिका सदस्य धर्मेन्द्र रोक्का ‘सुशील’लाई केहीबेर नियन्त्रणमा लिएर कुटपिट गरे । दुई पक्षका केही कार्यकर्ताबीच कुर्सी हानाहान र हात हालाहाल भयो ।
बैठक स्थगन गरेपछि अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराईलगायत नेतालाई वाइसिएल र पूर्वजनमुक्ति सेनाका सदस्यहरूले घेराभित्र राखेर सुरक्षित रूपमा बाहिर निकालेका थिए । बाहिरिने क्रममा भट्टराई पक्षधर केन्द्रीय सदस्य प्रभु साहलाई अध्यक्ष दाहाल पक्षधर महिला नेता–कार्यकर्ताले ‘नेताहरूमाथि हातपात गर्न लगाउने ?’ भन्दै दुव्र्यवहार गरेका थिए । बैठकस्थल नजिक बसेको पोलिटब्युरो बैठकले विवाद मिलाएपछि साढे चार बजेपछि मात्रै विस्तारित बैठक सुचारु भएको थियो ।
दुवै पक्षका नेता–कार्यकर्ता आ–आºनो गल्ती लुकाउँदै आफूहरूमाथि नै आक्रमण भएको दाबी गरिरहेका छन् । प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार तथा पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले अध्यक्ष दाहालको कठालो समात्ने प्रयास गर्नुका साथै अर्का पोलिटब्युरो सदस्य जनार्दन शर्मालाई हातपात गरेको आरोप पार्टी संस्थापन पक्षले लगाएको छ । भट्टराई पक्षधर कार्यकर्ताले अध्यक्ष दाहाललाई कुर्सीले हिर्काएको उनीहरूले बताएका छन् । भट्टराई पक्ष भने अध्यक्ष दाहालका विश्वासपात्र पोलिटब्युरो सदस्य शर्माले प्रधानमन्त्री भट्टराईलाई हातपात गरेको दाबी गर्छ ।
‘युद्ध सरदारको प्रवृत्ति देखाउँदै प्रधानमन्त्री बाबुराम भट्टराईमाथि जाइलाग्ने काम भयो,’ भट्टराई पक्षधर केन्द्रीय सदस्य भक्ति पाण्डेले भने, ‘अरूका कुरै सुन्न नसक्ने प्रवृत्ति केही नेता र कार्यकर्ताले देखाए ।’
अध्यक्ष दाहालनिकट पोलिटब्युरो सदस्य जनार्दन शर्माले भने प्रधानमन्त्री भट्टराईलाई आफूले ‘बैठकमै बसेर समस्या हल गर्न आग्रह मात्रै गरेको, हातपात नगरेको दाबी गरे । बरु आफूलाई मञ्चबाट हुत्याएर तल फालिएको उनले बताए । ‘उहाँ(भट्टराई) जस्तो नेतालाई मैले हातपात गर्छु ? मिडियामा आएको वाहियात कुरा हो । मैले उहाँलाई बाहिर नगएर हलबाटै समस्याको समाधान गर्न आग्रह गरेको हुँ,’ शर्माले सौर्यसँग भने ।
स्थिति सामान्य गर्न पहल गरिरहँदा आफूलाई मञ्चबाट हुत्याएर तल फलिएको शर्माले बताए । ‘बरु, मलाई मञ्चबाट धकेलेर तल फालियो । पछाडिबाट कसले त्यस्तो गर्‍यो, मैले थाहा पाइनँ,’ उनले भने ।
थरुहट राज्यसमिति सदस्य सुशीला केसीले भट्टराईका सल्लाहकार पौडेलले अध्यक्ष दाहालको कठालो समात्ने प्रयास गरेको र पोलिटब्युरो सदस्य शर्माले भट्टराईलाई हात तानेर बसाउन खोजेको बताइन् ।

यसरी उब्जियो विवाद
भोजपुरा राज्य समितिका तर्फबाट समूहगत छलफलको सुझाव प्रस्तुत गर्न लागेका कार्यकर्ता बलिराम साहको विरोध गर्दै अध्यक्ष दाहाल पक्षधर कार्यकर्ताले हुटिङ गरे । त्यसको नेतृत्व केन्द्रीय सदस्य अञ्जना विशंखेले गरेकी थिइन् । अगाडि बोल्ने अर्कै सदस्यको नाम तय हुँदाहुँदै केन्द्रीय सदस्य प्रभु साहले बलिरामलाई बोल्न दिएको भन्दै विरोध सुरु भएको थियो ।
स्थिति तनावपूर्ण हुन थालेपछि अध्यक्ष दाहालले कार्यकर्तालाई ‘सबै कुरा ठीक हुन्छ, बसौँ कमरेडहरू’ भन्दै शान्त पनि पारेका थिए । हलमा गीत पनि बजाइयो । दाहाल पक्षधर नेता जनार्दन शर्मा र भट्टराई पक्षधर देवेन्द्र पौडेल पनि कार्यकर्तालाई थुम्थुम्याउनमै व्यस्त थिए ।
तर, तनाव साम्य भएन । विरोध चर्कंदै गएपछि मञ्चमा बसेका प्रधानमन्त्री भट्टराई पनि आक्रोशित बने । ‘यस्तो पनि पार्टी हुन्छ, अर्काको कुरै नसुन्ने ? हामी जान्छौँ’ भनेर भट्टराई हिँड्न थालेपछि उनी पक्षधर नेताहरू पनि उठे । मञ्चमा भट्टराईसहितका नेता बाहिरिन तयार देखेपछि पोलिटब्युरो सदस्य शर्माले उनलाई जबर्जस्ती रोक्न खोजेका थिए ।
त्यसपछि भट्टराई पक्षधर नेताहरू देवेन्द्र पौडेल, नवराज सुवेदी, प्रभु साहलगायत पनि प्रतिकारमा उत्रिए । मञ्चमा नेताहरू नै बाझ्न थालेपछि पहिल्यैदेखि हुटिङ गरिरहेका कार्यकर्ता थप उत्तेजित बने । कार्यकर्ताबीच पनि कुटाकुट हुन थाल्यो ।
अध्यक्ष दाहाल पक्षधर कार्यकर्ताले भट्टराईलाई भारतीय दलाल भनेर हुटिङ गर्न थाले । पूर्वलडाकुहरू पनि ‘हाम्रा हतियार अपमानजनक ढंगले सेनालाई सुम्पिने यही हो’ भनेर चिच्याउन थाले । कसैले ‘ओई भागेर नजा’ भनेर भट्टराईलाई अभद्र बोले । उता भट्टराई पक्षधर कार्यकर्ता पनि ‘अरूका कुरा सुन्न नसक्ने’ भन्दै प्रतिकार गर्न थाले ।
स्थिति थप जटिल बन्दै गएपछि अध्यक्ष दाहालले बैठक स्थगन भएको घोषणा गरे । वाइसिएल, स्वयंसेवक र प्रहरीले अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराईसहितका नेतालाई सुरक्षा घेराभित्र राख्दै बाहिर निकाले ।
पछि भृकुटीमण्डपस्थित बैठकस्थल नजिक रहेको पर्यटन बोर्डको हलमा पोलिटब्युरो बैठक बसेर विवाद मिलाइयो । स्रोतका अनुसार बैठकमा भट्टराई पक्षले पोलिटब्युरो सदस्य शर्मालाई कारबाही गर्न माग गरे भने दाहाल पक्षधर नेताहरूले प्रधानमन्त्रीका सल्लाहकार पौडेल र अध्यक्षमाथि कुर्सी प्रहार गर्ने कार्यकर्तालाई कारबाही गर्न माग गरे । यस विषयमा पछि थप छलफल गर्ने र अवरुद्ध बैठक सुचारु गर्ने गरी विवाद मिलाइएको एक पोलिटब्युरो सदस्यले बताए । भोजपुरामा देखिएको विवाद समाधान गर्न एक कार्यदल बनाएर अध्ययन गर्ने निर्णय भएको प्रचार–प्रसार उपसमितिले जनाएको छ ।

साढे तीन घन्टापछि बैठक सुचारु
पोलिटब्युरोले विवाद मिलाएपछि अवरुद्ध विस्तारित बैठक साढे तीन घन्टापछि सुचारु भयो । बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि समूहगत छलफलबाट आएको सुझाव पेस गरिएको छ ।
प्रचार–प्रसार उपसमितिले जारी गरेको विज्ञप्तिअनुसार भोजपुराका तर्फबाट बलिराम शाह र अशोक जैसवाल, सेती–महाकालीबाट तारामान स्वाँर र देवराज रेग्मी, थारुवानबाट राजकुमार शर्मा, कोचिलाबाट डम्मर सुवेदी, मिथिलाबाट रामचन्द्र मण्डल, पूर्वपिएलएको तर्फबाट उषाकिरण, ताम्सालिङको तर्फबाट युवराज दुलाल र सोनामसिंह स्याङतान, लिम्बुवानबाट श्रीजगेवु, पूर्वजनमुक्ति सेनाको पहिलो डिभिजनबाट कर्मा शेर्पा, मगरातबाट रामबहादुर बुढा र हिमकला गैरेले रिपोर्ट प्रस्तुत गरेका छन् ।
विज्ञप्तिमा सञ्चारमाध्यममा आएजस्तो नेताहरूबीच कुटपिट नभएको दाबी गरिएको छ । भोजपुरा राज्य समितिमा मात्रै सामान्य विवाद देखिएको र हात हालाहाल भएको दाबी विज्ञप्तिमा गरिएको छ । ‘सञ्चारमाध्यमबाट बन्दसत्रमा पोलिटब्युरो सदस्य जनार्दन शर्माले प्रधानमन्त्रीमाथि जाइलागेको र पार्टी अध्यक्षलाई प्रतिनिधिले कुर्सी प्रहार गरेको भनी आएको समाचार विल्कुल गलत हो । यथार्थमा भोजपुरा राज्य समितिका प्रतिनिधिबीच विवाद भएको र हात हालाहालको स्थिति उत्पन्न भएको मात्र हो,’ प्रचार–प्रसार उपसमितिका संयोजक विश्वभक्त दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
शनिबारको बैठकमा बन्दसत्रमा उठेका जिज्ञासा र प्रस्तुत रिपोर्टको विषयमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी श्रेष्ठले जवाफ दिने कार्यक्रम छ । शनिबार नै बैठक सकिनेछ ।

प्रतिक्रिया