चार नगरपालिकाको २५ प्रतिशत अनुदान कटौती

कैलाली, ५ साउन । न्यूनतम शर्त तथा कार्यसम्पादन मापन (एमसीपिसीएम) मा सबै सुचकंहरु पुरा गर्न नसकेपछि सुदूरपश्चिमका चार वटा नगरपालिकाको २५ प्रतिशत बजेट कटौती हुने भएको छ ।
एमसीपिसीएमका सबै सुचकंहरु पुरा गर्न नसकेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका, डडेलधुराको अमरगढी नगरपालिका, डोटीको दिपायलसिलगढी नगरपालिका र बैतडीको दशरथचन्द्र नगरपालिकाले अनुदानको २५ प्रतिशत बजेट कटौती हुनेभएको हो ।
सुदूरपश्चिममा छ वटा नगरपालिका रहेका छन् । ती मध्ये कैलालीको धनगढी र टीकापुर नगरपालिकाले भने १० प्रतिशत थप अनुदान रकम पाउने भएका छन् ।
स्थानीय विकास मन्त्रालय अन्तरगतको वित्तिय आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपालभरका नगरपालिकाहरुको चालु आर्थिक वर्ष ०६७/०६८ को नतिजा सार्वजनिक गरेको हो ।
नतिजा अनुसार टीकापुर नगरपालिका ७६ नम्बर सहित सुदुपश्चिम मै पहिलो र ७३ नम्बरका साथ धनगढी नगरपालिका दोस्रो भएको छ ।

गत वर्ष सार्वजनिक एमसीपिसीएममा यस क्षेत्रका ६ वटै नगरपालिकाहरुले थप अनुदान पाउन नसकेका धनगढी नगरपालिका लेखाअधिकृत डिल्लीराज ओझाले बताए । आर्थिक वर्ष ०६५/०६६ मा धनगढी नगरपालिकाले १० प्रतिशत थप रकम पाउन सफल भएको थियो भने अन्य नगरपालिका एमसीपिसीएममा असफल भई अहिलेसम्म थप अनुदान रकम पाउन सकेका छैनन् ।
नगरपालिकाहरुको प्रस्तुती, कार्यसम्पादन, सुशासन, समानुपातिक विकास, स्वायत्त शासन ऐन २०५५ अनुसार भए गरेका कामकारवाही र ऐननियमको परिधिभित्र रहेर काम गरे/नगरेको आधारमा नगरपालिकाहरुको मुल्याङ्कन गरिन्छ ।
यस्तै नगरपालिकाको आन्तरिक आयव्यय, भौतिक पूर्वाधार, जनसंख्या र प्राविधिक पक्ष लगायतललाई एमसीपिसीएमले छनोटका सुचकहरु बनाएको छ । नगरपालिकाहरु बीच स्वच्छ प्रतिस्पर्धा केन्द्र र स्थानीयस्तरबाट प्राप्त हुने बजेटको सही सदुपयोग एवं व्यवस्थित र समानुपातिक ढंगले विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम लागु भएको हो ।
यस्तै नगरपालिकाहरुले बढीभन्दा बढी सेवामुलक र आफ्ना सेवाग्राहीप्रति उत्तरदायी बनाउन एमसीपिसीएममा लागु गरिएको धनगढी नगरपालिकाका कार्यकारी अधिकृत गणेशबहादुर खड्काले बताए ।

प्रतिक्रिया