प्रकृति अमेरिकातर्फ

काठमाडौं : अमेरिकाको सिकागोमा हुने मिस टिन इन्टरनेसनलमा सहभागिता जनाउन नेपालकी प्रकृति सापकोटा त्यसतर्फ प्रस्थान गरेकी छन् ।
आगामी जुलाई २८ तारिखमा हुने प्रतियोगिताका लागि बिहीबार बेलुकी ११ बजेको फ्लाइटबाट उनी अमेरिकातर्फ लागेको संयोजक संस्था ई–प्लानेटका प्रबन्धनिर्देशक सन्तोष सापकोटाले जानकारी गराए ।
२०६४ सालमा आयोजित लिटिल मिस नेपालकी उपविजेतासमेत रहेकी १८ वर्षीया प्रकृतिका साथ उनका परिवारसदस्य पनि गएका छन् । मिस टिन इन्टरनेसनलमा नेपालका तर्फबाट उनले पहिलोचोटि प्रतिनिधित्व गर्न लागेकी हुन् । धादिङकी प्रकृतिले रातो बंगलाबाट कक्षा ११ पास गरेकी छन् । बिदाइअघि उनले भनिन्– ‘प्रतिस्पर्धामा जान पाउँदा गर्व लागेको छ, सकेसम्म उपाधिका लागि प्रयास गर्नेछु, नभए पनि नेपाललाई चिनाउने प्रयास गर्नेछु ।’
३९ देशका प्रतियोगी सहभागी हुने बृहत् प्रतियोगितामा प्रकृतिले नेपाली परम्परागत संस्कृति झल्कने वेशभूषा, पहिरन तथा नृत्य प्रस्तुत गर्नेछिन् भने सडक बालबा–लिकासम्बन्धी प्रवचन पनि दिनेछिन् । यस वर्षदेखि मिस टिन इन्टरनेसनल, मिस इन्टरनेसनल तथा मिसेज इन्टरनेसनल प्रतियोगितामा नियमित रूपमा नेपालबाट प्रतियोगी पठाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको प्रबन्धनिर्देशक सन्तोषले जानकारी गराए । (विस्मिता श्रेष्ठ/प्रशिक्षार्थी)

प्रतिक्रिया