लन्डन, ५ साउन । निर्वाचनका बेला भोट खरिद गर्ने प्रयास गरेको अभियोगमा फुटबलमा आजीवन प्रतिबन्धको सजाय पाएका विश्व फुटबल महासंघ (फिफा)का तत्कालीन अध्यक्ष उम्मेदवार तथा एसियाली फुटबल महासंघ
(एएफसी) का निलम्बित अध्यक्ष मोहमद बिन हमामले उक्त सजायका विरुद्ध खेलकुदको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर््स’ (सिएएस) मा गरेको अपिल जितेका छन् ।
गत वर्ष फिफाको कार्यसमिति निर्वाचनताका अध्यक्षका प्रत्यासी कतारी नागरिक हमामले ठूलो रकम खर्च गरी क्यारेवियन क्षेत्रका मतदातासँग भोट खरिद गर्ने प्रयास गरेको भन्दै फिफाअन्तर्गतका सबै निकायबाट आजीवन प्रतिबन्ध लगाइएको थियो । घुस प्रकरणमा फसेपछि हमामले फिफा अध्यक्षको उम्मेदवारबाट नाम फिर्ता लिएका थिए भने त्यसपछि अर्का प्रत्यासी सेप ब्लाटर निर्विरोध निर्वाचित भएका थिए ।
सिएएसले गठित प्यानल हमाम निर्दोष हुन् भन्नेमा ‘कन्भिन्स’ नभए पनि आजीवन प्रतिबन्धका लागि पर्याप्त प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ । फिफाको अनुसन्धानले आवश्यक प्रमाण दिन नसकेको सिएएसको निष्कर्ष छ । ‘मुद्दा पुष्टि भइनसकेको अवस्था हो यो । फिफाद्वारा गठित प्यानलले गरेको अनुसन्धानबाट आवश्यक प्रमाण जुट्न सकेन ।’ सिएएसले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, हमाम निर्दोष भएको भन्नेबारे पनि प्रमाण पर्याप्त नभएको जनाइएको छ ।
फिफाले निर्वाचनअघि क्यारेबियन मुलुक भ्रमण गर्ने क्रममा ६३ वर्षीय हमामले ४० हजार डलर ‘अफर’ गरेको प्रमाणमा उनलाई फुटबलमा आजीवन प्रतिबन्ध लगाएको थियो । हमामले उक्त आरोप ठाडै अस्वीकार गर्दै निर्वाचनमा आफू विजयी हुन ब्लाटरले षड्यन्त्र गरेको दाबी गरेका थिए । नयाँ प्रमाण फेला परे फिफाले यो मुद्दा फेरि ब्यँुताउन सक्ने सिएएसले जनाएको छ । २०२२ को विश्वकप आयोजना अधिकार कतारलाई दिलाएको केही महिनापछि हमामले फिफा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।
सिएएसको यो निर्णयसँगै फुटबलमा फर्कने अधिकार पाएका हमाम तत्काल भने अर्को आरोपमा फसिरहेका कारण पद सम्हाल्न पाउने छैनन् । आर्थिक अनियमितता गरेको आरोपमा हालसालै एएफसीले हमामलाई ३० दिनका लागि निलम्बन गरेको थियो । यसले तत्कालका लागि फिफा कार्यसमितिमा समेत उनी पुनर्बहाली हुन सक्ने छैनन् । हमामले सन् १९९६ देखि फिफा कार्यसमितिमा लगातार प्रतिनिधित्व गर्दै आएका छन् । सन् २००२ मा उनी एएफसी अध्यक्षमा निर्वाचित भएका थिए । फिफाले आजीवन प्रतिबन्धको फैसला गर्नुअघि हमाम थप चार वर्षको अर्को कार्यकालका लागि एएफसी अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया