लडाकुको स्वाभाविक आक्रोश

एकीकृत नेकपा (माओवादी) का लडाकुले आफ्नै पार्टीका नेता र सहयोद्धाहरूबाट शोषित हुनुपरेको पीडा पोखे । उनीहरूले जारी विस्तारित बैठक अवरुद्ध हुनेगरी आक्रोशित हुँदै नारा लगाएर चरम शोषण भएको वास्तविकता खोले । अथाह सम्पत्तिको मालिक बनेर नवसामन्त भएका नेताहरूप्रति घृणा व्यक्त गर्दै लडाकुले नेताहरूको सम्पत्ति विवरण प्रस्तुत गर्न र पारदर्शी हुन जोडदार आवाज उठाए । उनीहरूको आक्रोशका कारण बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष पुष्पकमल दाहाल बुधबारको बैठक स्थगित गर्न बाध्य भए । तर, माओवादी नेताले हिसाब– किताब दुरुस्त गर्न सक्ने अवस्था छैन । र, लडाकुका अध्यक्ष पुष्पकमल दाहाल आइलागेका यस्ता घटनालाई झिनामसिना बनाउँदै पन्छाउन सिपालु छन् । तथापि, लडाकुले पहिलोपटक आफ्नै नेता र कमान्डरविरुद्ध मुख खोल्न सके, यही नै ठूलो कुरा हो । शिविरमा रहेका लडाकु मुस्किलले जीवन निर्वाह गरिरहेका थिए । अति भएपछि बोल्ने शक्ति जुटाए । सरकारले उपलब्ध गराएको लडाकु भत्ताबाट मासिक एक हजारका दरले पार्टीले लिने गरेको थियो । उक्त सबै रकम हिनामिना भएको लडाकुको आरोप छ । द्वन्द्वकालमा आर्थिक कारोबार गर्ने संस्थाहरूबाट लुटिएको नगद, सुनचाँदी र अन्य सम्पत्तिको पनि हिसाबकिताब छैन । निरन्तर चलाइएको जबर्जस्ती चन्दा असुली र कब्जा गरिएका सम्पत्ति पनि सर्वहारा वर्गका नेताबाट नवसामन्तमा रूपान्तरण भएका आफ्नै नेताहरूले एकलौटी बनाएको ठहर लडाकुले गरेका छन् । वास्तवमा पार्टी विभाजनको कारणमध्ये आर्थिक पक्ष पनि एउटा थियो । विस्तारित बैठकमा सहभागीको आक्रोश र पीडा पनि आर्थिक हिनामिनाकै बारेमा देखिएको छ ।
एमाओवादीलाई अहिलेसम्म सबैभन्दा धनी पार्टी भन्ने गरिएको छ । सर्वसाधारण जनता र उद्योगपतिले समेत यस पार्टीका नेतालाई सिद्धान्त होइन, सम्पत्ति भए पुग्छ भन्न थालेका छन् । यसका कार्यकर्ता पनि सहरबजार र गाउँघरमा त्यही नीति लिएर हिँड्ने गरेका छन् । लवाइखवाइ, उठाइबसाइ र सानसौकत हेर्दा यस पार्टीका अधिकांश नेता सामन्त वर्गमा रूपान्तरित भएको पाइन्छ । तर, यस पार्टीका नेतालाई सत्ता, शक्ति र सम्पत्तिको ढुकुटीसम्म पुर्‍याइदिने लडाकुको हविगत भने साँच्चै सर्वहारा वर्गको छ । सर्वहारा वर्गको नेतृत्वमा राज्यसत्ता प्राप्त गर्ने महान् उद्देश्य लिएर मुक्तिका लागि लडेका मोर्चाका अग्रपंक्तिका सिपाही आज आफ्नै नेताप्रति आक्रोशित छन् र वर्गीय मुक्ति होइन, आफ्नै नेताको शोषण र दमनबाट मुक्ति चाहन्छन् । विडम्बना नै मान्नुपर्छ, जसले शोषण, दमन, उत्पीडन र थिचोमिचोविरुद्ध महान् गौरवशाली युद्ध लडेको ठाने उनै लडाकु आफ्नै नेताबाट शोषित भए । आफ्नै लडाकुकको हविगत यो छ भने त्यस पार्टीबाट सर्वसाधारणले के अपेक्षा गर्ने ? आफ्ना नेताप्रतिको घृणा, आक्रोश र प्राप्त पीडा शिविरका लडाकुसँग मनग्गे छन् । अहिले बल्ल लडाकुले मुख खोले । हिम्मती लडाकुलाई धन्यवाद दिँदै नेतृत्वले अब पनि आफूलाई सच्याएन भने यसले नेतृत्वकै लागि घातक परिणाम निम्त्याउन सक्छ । तसर्थ, एमाओवादी नेताले लडाकुको जायज मागको तुरुन्त सुनुवाइ गर्नुपर्छ ।
नयाँ नेपालको निर्माण गर्न कस्सिएका आफ्ना नेता नै नयाँ सामन्त बन्दै गएपछि लडाकुले आफूले १५ वर्षसम्म बगाएको रगत, पसिना, परिश्रमका साथै भोगेको दु:खकष्ट निरर्थक भएको ठान्नु स्वाभाविक हो । एमाओवादी नेतालाई अथाह सम्पत्तिको मालिक बनाउँदै सत्ता र शक्तिको लगाम समाउन दिने उनै लडाकु थिए । ‘खोलो तर्‍यो, लौरो बिर्सियो’ सम्म त लडाकुले त्यति ठूलो कुरो ठानेनन्, तर जब पूर्वलडाकुलाई दिएको चेक खोसियो, जब पैसाकै लागि कमान्डरबाट कुटाइ खाएको दृश्य देखियो, भएको साथै संकलन गरेको सम्पत्तिबाट लडाकुलाई बेदखल गरियो र पारदर्शिता अपनाइएन तब लडाकुको पारो बढ्यो । यसले शोषण, दमन, उत्पीडनविरुद्ध लागेकाहरूलाई स्वाभाविक रूपले उत्तेजित बनायो । वास्तवमा अहिले नेताहरूलाई सच्चिने मौका लडाकुले उपलब्ध गराए । यसलाई सकारात्मक रूपमा लिएर एमाओवादीले आफूलाई सच्याउँदै पारदर्शिता अपनाउनु अत्यन्त जरुरी छ ।

प्रतिक्रिया