हेटौंडा/चितवन, ५ साउन । ‘भाउ बढेर तेल किन्न नसक्ने भयो,’ सिद्धि–९ नान्दारका साहिँला चेपाङले भने, ‘चिउरीका बियाँ पेलेर भुटुन खान थालेका छौँ ।’
साहिँलाजस्तै मकवानपुर र चितवनका चेपाङ यतिखेर चिउरीका बियाँ पेलेर घिउ निकाल्ने चटारोमा जुटेका छन् । जेठको अन्तिम सातादेखि पाक्न सुरु गरेको चिउरीको बियाँ पेलेर घिउ निकालेपछि उनीहरू भुटुनका रूपमा प्रयोग गर्छन् भने केहीले लोथर, मनहरी, भण्डारा, नारायणगढ र मुग्लिन बजारमा ल्याएर बेचेर अन्य उपभोग्य सामग्री किनेर लैजाने गरेका छन् । चिउरीको बियाँ चेपाङका लागि आम्दानीको आधार बनेको छ ।
‘तेलले छाक नटर्ने भएकाले चिउरीको घिउ बेचेर अरू सामान पनि ल्याउँछौँ,’ मकवानपुर काँकडा–१, सिलिङेका हरिराम चेपाङले भने, ‘चिउरी र चिउरीका बियाँ आम्दानीको स्रोत बनेको छ ।’ उनले चिउरी र चिउरीका बियाँ लोथर बजारमा ल्याएर बेचेर आवश्यक नुनतेल किन्ने गरेको बताए । सिलिङेकै केही चेपाङ चिउरी बेच्न चितवनको भण्डारा बजार आउने गरेका छन् ।
फागुनमा चिउरी फुलेपछि चेपाङहरू खुसी हुन्छन् । ‘चेपाङ, चिउरी र चमेरो, एक अर्काका परिपूरक भएका छन्,’ संविधानसभाका निवर्तमान सदस्य गोविन्दराम चेपाङ भन्छन्, ‘चिउरीका फूल फुलेपछि गाउँमा चमेरो देखिएन भने चेपाङलाई चिन्ता हुन्छ ।’ चिउरीका फूलमा परागसेचनका लागि चमेरोको पनि भूमिका हुने भएकाले अचेल चेपाङहरू पहिलाजस्तो चमेरा मार्दैनन् । उनीहरू चिउरी र चेपाङसँग चमेरोको पनि सम्बन्ध भएकाबारे जानकार छन् ।
साउनसम्म गाउँमा चिउरी पाइन्छ । मकवानपुरका केही गाउँमा चेपाङहरू खाद्यान्नसँग चिउरी साट्छन् भने चिउरीको घिउको पनि मूल्य राम्रो पाइने भएकाले अरू आवश्यक सामग्री पनि किन्छन् । ‘बजारसम्म चिउरी, बियाँ अनि बियाँ पेलेर बनाइएको घिउ ल्याउन समस्या भएकाहरू चाहिँ चिउरी पेलेर वर्षभरि पुग्ने भुटुनको जोहो गर्छन्,’ नेपाल चेपाङ संघ मकवानपुरका सचिव महेश चेपाङले भने, ‘ढुवानी समस्याले धुसराङ, कोथलीटार, भार्ताका चेपाङले बजारसम्म चिउरी बेच्न ल्याउन सक्दैनन् र गाउँमा पनि अन्नसँग साट्न सक्दैनन् ।’
मकवानपुरका कतिपय चिउरीका वनहरू अहिले पनि चेपाङको आम्दानी र सम्पत्ति छन् । ‘विवाहमा छोरीलाई चिउरी दिने चलन छ,’ काँकडा–१ सिलिङेकी नन्दमाया चेपाङ भन्छिन्, ‘छोरीले दु:ख नपाओस् भनेर विवाहमा चिउरीको बोट दिने चेपाङको संस्कृति नै छ ।’
‘अन्नको अभावमा चिउरी खाएर पनि बाँच्न सकिन्छ,’ संविधानसभाका निवर्तमान सदस्य गोविन्दराम चेपाङ भन्छन्, ‘चिउरी खाएपछि बाँकी रहेको बियाँ पेलेर घिउ निकालेर पनि आम्दानी गर्न सकिने भएकाले चेपाङ समुदाय चिउरीसँग जोडिएका छन् ।’
चितवन सिद्धि–९, छेरवाङका हरिलाल चेपाङले भने, ‘बियाँ पेलेर घिउ निकालेपछि बाँकी बसेको छोक्रा पनि कीटनाशक औषधिका रूपमा बालीनालीमा प्रयोग गर्न सकिने भएकाले चेपाङ समुदायमा चिउरीको महत्त्व निकै छ ।’ चेपाङ सहकारी संस्था शक्तिखोरका अध्यक्ष महेन्द्र चेपाङ चिउरी चेपाङ समुदायको आयस्रोत मात्र नभएर बहुआयमिक जडीबुटीजन्य औषधि पनि भएको बताउँछन् । स्वास्थ्य विज्ञानका अनुसार चिउरीको घिउ कोलस्ट्रोलरहित हुने भएकाले मानवस्वास्थ्यका निम्ति लाभदायक छ भने बजारमा प्रतिकेजी ७० रुपियाँको दरले चिउरी बिक्री हुने भएकाले चेपाङ बस्तीका भिरालो जग्गामा लगाइएका चिउरी गतिलो आम्दानीको स्रोत पनि भएको छ ।
प्रतिक्रिया