बझाङमा स्वास्थ्यकर्मीको अभाव

कैलाली : बझाङका दुई प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै डाक्टरविहीन भएपछि स्थानीयले आक्रोश पोखेका छन् ।
०५३ सालमा स्थापना भएका देउलेख र रायल प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि अहिलेसम्म डाक्टर गएका छैनन् । ग्रामीण क्षेत्रका जनताले विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पाउने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । देउलेखमा डा. रुपेश क्षत्री दुई दिन हाजिर भएर जिल्ला अस्पताल सिमखेतमा काजमा बसेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद खत्री देउलेखमा दरबन्दी रहेका डाक्टर तालिममा गएको र रायलमा दरबन्दी भएका डाक्टर अध्ययन बिदामा गएकाले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर दरबन्दी कागजमा मात्र सीमित रहेको बताए । बझाङमा दुई सय ५४ स्वास्थ्यकर्मीको दरबन्दी भए पनि दुई दर्जनजति स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको जनस्वास्थ्य अधिकृत खत्रीले जानकारी दिए । दुई डाक्टर, सात अहेव, तीन हेल्थ असिस्टेन्ट, तीन अनमी र केही अन्य पद रिक्त रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया