बिदा भए राजेश

मौत तो एक कविता है…
चलचित्र आनन्दको कथामा बलिउडका सदाबहार अभिनेता राजेश खन्नाले बोलेको संवादको यो दार्शनिक अंश अब दर्शकले उनको मुखबाट प्रत्यक्ष सुन्न पाउने छैनन् । किनभने बलिउडको एक कालखण्डका बादशाह खन्नाले बुधबार आफ्नो ७० वर्षे देहलाई सधैँभरिका लागि बिसाए । केही दिनको अस्पताल बसाइपछि घर फर्किएका उनले त्यहीँ प्राण त्यागे ।
फिल्ममा बोल्ने कविताजस्ता सुन्दर र कोमल संवादले उनको चर्चा भारतमा खुबै चुलिन्थ्यो । सन् १९६५ बाट चलचित्रयात्रा सुरु गरेका उनी आफ्नो उर्वर समयमा यति सफल मानिए कि उनलाई बलिउडको पहिलो ‘सुपरस्टार भनियो । ६० र ७० को दशकमा फिल्मी पर्दाको रोमान्सलाई उनैले गति दिए । अभिनयका माध्यमबाट बलिउड उद्योगलाई आधुनिक धारामा प्रवेश गराएको श्रेय उनैलाई दिइन्छ । उनको फिल्मी यात्रा उनैले अभिनय गरेको कुनै एउटा फिल्म जस्तै छ, अब त त्यस कहानीको रिल पनि पुरानियो । उनको वास्तविक जीवनकहानीको फ्ल्यासब्याक यस्तो छ–
सन् १९६५ मा एउटा ‘ट्यालेन्ट हन्ट’को विजेता बनेर बलिउडमा प्रवेश गरेका खन्नाले निकै लामो समयलाई ‘आफ्नो’  बनाए । सायद भारतीय फिल्म उद्योगमा आगमनको छोटो अवधिमै धमाका मच्चाउने उनै एक नायक हुन् । सन् १९४२ डिसेम्बर २९ मा भारतको अमृतसरमा जन्मेका खन्नाको वास्तविक नाम जतिन खन्ना हो । राजेशका रूपमा बलिउडमा पसेपछि उनले ‘आखिरी खत’, ‘बहारोंके सपने’लगायत चलचित्रबाट रिल–संघर्ष सुरु गरे । दिलीपकुमार, देवानन्द र राजकपुरले अरू नायकलाई ढिम्किनै नदिएको उस–समय खन्ना अभिनित ‘अराधना’ फिल्मले उनलाई रातारात ‘सुपरस्टार’ बनाइदियो । त्यसपछि लगातार उनका १५ फिल्म हिट भए । उनको सक्रियतामा कमी भएपछि नै अमिताभ बच्चन बलिउड स्टार भए । ९० को दशकबाट फिल्मी क्षेत्रमा हात हालेका खन्ना राजनीतिमा पनि सफल मानिन्छन् । उनी भारतीय कंग्रेस पार्टीका तर्फबाट लोकसभाको सासंद बनेका थिए, सन् ११९२ मा । उनलाई बलिउडका ‘काका’ पनि भनिन्छ । उनले १९७३ मा अभिनेत्री डिम्पल कापडियासँग बिहे गरेका थिए भने उनका दुई छोरी पनि बलिउडमै छन् । जेठी छोरी नायिका ट्विंकलको विवाह अहिलेका स्टार अक्षयकुमारसँग भएको छ ।
यी सदाबहार नायकको अन्त्येष्टि बिहीबार गरिने भएको छ । निधनको समयमा पत्नी डिंपल, छोरीहरू ट्विंकल र रिंकी साथै ज्वाइँ अक्षयकुमार पनि राजेशसँगै थिए । निधनपछि आफ्ना ससुराको आत्माले शान्ति पाओस् भनी अक्षयले प्रार्थनासमेत गरे । निधनको खबर फैलिएलगत्तै प्रशंसक एवं बलिउडका शोकमग्न हस्तीहरू उनको आशीर्वाद बंगलामा पुगे ।
निर्जीव बनिरहेका राजेशलाई देख्दा बलिउड महानायक अमिताभ बच्चन शोकले आकुल बनिरहेका देखिन्थे । उनले अक्षयलाई अँगाले र नजिकै रहेका डिम्पललाई ढाडस दिए । अनि राजेशको पार्थिव शरीरलाई छोए । यति बेला उनका आँखा रसाउन थालिसकेका थिए । चस्मा निकालेर आँसु पुछ्न थाले, छोरो अभिषेकले आएर उनलाई सम्हाले । खन्ना गत अप्रिल १ देखि बिरामी थिए । मुम्बईस्थित लीलावती अस्पताल भर्ना भएका उनलाई सोमबार मात्रै अस्पतालले डिस्चार्ज गरेको थियो । फर्केलगत्तै खन्नाले आफ्नो घरको बार्दलीमा बसेर पत्नी डिम्पल र ज्वाइँ अक्षयकुमारसँग बसेर आफू ठीक रहेको संकेत दिएका थिए । तर, उनले कुनैबेला बोलेको संवाद ‘मौत तो एक कविता है’ जस्तै उनी पनि पुरानो कविताजस्तै बनेर रहे । तर, युगले सम्झिरहने कहिल्यै नओइलाने कञ्चन कविता †
(एजेन्सीको सहयोगमा)

यादगार चलचित्र
अमर प्रेम
आनन्द
अवतार
सौतन
बावर्ची
कटी पतंग
आविष्कार
आपकी कसम
रोटी
प्रेमनगर
बाबु
अवतार
इत्तेफाक
धनवान
अजनबी
प्रेमकहानी
अधिकार
बन्दिस
सफर
नौकरी
हम दोनों
अनुरोध
आँचल
अमृत
अगर तुम ना होते
आवाज
खामासी
मेहबुबकी मेहन्दी
दुस्मन
मेरे जीवनसाथी–१९७२
नमक हराम
आराधना
आखिरी खत
आन मिलो सजना
राज–१९६७
दाग
मेहबुबा
छैला बाबु
अगर तुम ना होते
हाथी मेरो साथी
त्याग
आसिक हुँ बहारोंका
अमरदीप
स्वर्ग
आखिर क्यों
चल्तापुर्जा
आवारा बाप
आपकी कसम
दो रास्तें

प्रतिक्रिया