काठमाडौ, ३ साउन । नायिका केकी अधिकारी हिजोआज आफूले अभिनय नै नगरेको चलचित्रको प्रचारमा व्यस्त हुन थालेकी छन् । उस्तै परे कलाकारहरू आफैंले अभिनय गरेको चलचित्रको प्रमोसनमा पनि हिँड्दैनन् । तर, केकी भने प्रदर्शनको तयारीमा रहेको चलचित्र ज्यान हाजिर छलाई सफल बनाउन खुलेरै लागेकी छन्, जसमा उनको कुनै भूमिका छैन । यसको कारण हो, यो चलचित्र उनका पिता बद्री अधिकारीले निर्देशन गरेका हुन् । केकी केही समयअगाडि मात्र एक चलचित्रको सुटिङ सकेर काठमाडौं फर्किएकी हुन् । अविरल बग्दछ इन्द्रावतीजस्तो प्रसिद्ध टेलिफिल्म निर्देशन गरे पनि चलचित्र निर्देशनमा भने बद्री उति जम्न सकिरहेका छैनन् ।
पछिल्लो समय सेक्स, एक्सन र कमेडीले चलचित्र बजार तातिरहँदा निर्देशक अधिकारीले भने यिनै तीन मसालाविनाको नारालाई आफ्नो चलचित्र प्रचारको हतियार बनाएका छन् । पोस्टरमै लेखिएको छ, नो सेक्स, नो एक्सन, नो कमेडी वन्ली लव ।
ज्यान हाजिर छले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन केकीले नै सञ्चालन गरेकी थिइन् । सबैका चलचित्रमा खेल्ने उनले आफ्नै पिताको चलचित्रमा चाहिँ किन नखेलेकी त ? ‘यो चलचित्रको छायांकनका क्रममा म अरू नै चलचित्रमा व्यस्त हुन पर्यो, त्यसैले खेल्न पाइनँ’, उनले भनिन्, ‘खेल्न नपाए पनि बाबाको चलचित्र प्रमोसनमा चाहिँ सकेजति सहयोग गर्नेछु ।’
ज्यान हाजिर छ आगामी शुक्रबारबाट अलनेपाल रिलिजको तयारी भइरहेको निर्माण समूहले जानकारी गरायो । चलचित्रमा बेनिसा हमाल, प्रसन्न गोपाली, विकास चापागाईं, राज लामा, सुशील श्रेष्ठ, काजल खड्का, जुनु श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
प्रतिक्रिया