काठमाडौं, ३ साउन । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकबाटै पार्टीभित्रका गुट तथा उपगुटको अन्त्य गर्ने अभियान थालिने बताएका छन् । भृकुटीमण्डपमा मंगलबार पार्टीको विस्तारित बैठकको उद्घाटन गर्दै अध्यक्ष दाहालले पार्टीलाई एकढिक्का बनाउन शुद्धीकरण अभियान थाल्ने प्रतिबद्धतासमेत गरे ।
‘यो विस्तारित बैठकबाटै गुट उपगुट अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाउने अभियानको सुरुवात हुनेछ, त्यसका लागि नेतृत्वले पहल थाल्नेछ,’ दाहालले भने ।
गुटले पार्टीलाई गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै उनले विगतमा पार्टीभित्र विचार समूह चलाउन दिएर पार्टी विभाजनसम्मको क्षति बेहोर्नुपरेको धारणा राखे । अब भने गुट र विचार समूह बनाउने छुट कसैलाई नदिइने उनको भनाइ थियो । ‘कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयतालाई कडाइका साथ लागू गरिनेछ,’ उनले भने, ‘अब कसैलाई केही छुट दिइँदैन ।’
तात्कालीन पार्टी उपाध्यक्ष मोहन वैद्यले एक दशक लामो क्रान्ति, जनता र सहिदको भावना र पार्टीलाई धोखा दिएर पार्टी विभाजन गरेको आरोप उनले लगाए । उनले पार्टी विभाजनको औचित्य पुष्टि गर्न वैद्यलाई चुनौतीसमेत दिए ।
कांग्रेस र एमालेलगायत संसद्वादी दलका कारण नयाँ संविधान नबनाई संविधानसभा विघटन भएको जिकिर उनले गरे । अब पनि संविधानसभाबाटै बाँकी काम पूरा गरेर संविधान जारी गरिनुपर्ने उनको भनाइ थियो ।
पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि विस्तारित बैठकबाट गुटहरू समाप्त भएर जाने विश्वास व्यक्त गरे । ‘यो विस्तारित बैठक ऐतिहासिक हुनेछ, पार्टीभित्रका गुटउपगुट सबै अन्त्य यो बैठकले गर्नेछ,’ उनले भने । फुटपरस्तहरू पार्टी विभाजन गरेर गए पनि अब पार्टी नेतृत्व एकढिक्का भएर अगाडि बढ्ने उनको भनाइ थियो । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटउपगुट बनाउनु विषवृक्ष रोप्नुसरह भएको बताएका थिए ।
१४ समूहमा छलफल
उद्घाटनलगत्तै विस्तारित बैठकको बन्दसत्रमा अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । बैठकमा सहभागी कार्यकर्तालाई १४ समूहमा विभाजन गरी छलफल थालिएको हो । बन्दसत्रको सुरुमै दाहालले ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न संकट र सर्वहारा वर्गको आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा एमाओवादी शान्तिप्रक्रियामा आएदेखि पार्टी विभाजनसम्मका घटनाको विश्लेषण र समीक्षा गरिएको छ ।
प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलालका अनुसार १३ राज्य समिति र ‘जनमुक्ति सेना’लाई मिलाएर १४ बटा समूह बनाइएको छ । हरेक समूहका सहभागीले बुधबार बिहानसम्म प्रतिवेदनमाथि छलफल गर्नेछन् । दिउँसो छलफलबाट आएका निष्कर्षहरू समूह नेताहरूले बन्दसत्रमा प्रस्तुत गर्नेछन् । बैठकमा चार हजार आठ सय अगुवा कार्यकर्ता सहभागी छन् ।
पार्टी विभाजनपछि पहिलोपटक बसेको विस्तारित बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्ने दुलालले बताए । यसअघि चार दिनसम्म चलेको पोलिटब्युरो र केन्द्रीय समिति बैठकले दाहालको प्रतिवेदनमाथि छलफल गरिसकेको छ ।
प्रतिक्रिया