आर्थिक लेनदेनमा गुण्डा प्रयोग बढ्दो

काठमाडौं,३  साउन । ३१ जेठ २०६९ रातको ९ बजे । पानीपोखरीतर्फबाट आएका चारवटा मोटरसाइकलले ‘रोल डा रोलर रेस्टुरेन्ट’ को ठीक अगाडि एउटा रातो कारलाई घेरा हाले । कारमा सवार तीनजनालाई बाहिर उतारे । कन्चटमा पेस्तोल तेस्र्याउँदै अगाडि रोकिराखेको सेतो कारभित्र कोचे अनि लाजिम्पाटतर्फ हुइँकिए ।
घटनाका प्रत्यक्षदर्शी थिए, इमेज टेलिभिजनका अंग्रेजी समाचारवाचक गौरवचन्द्र गुरुङ र दोर्णाशिष न्यौपाने । टेलिभिजनले लाजिम्पाटमा संदिग्ध हतियाधारीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिई अज्ञात स्थलतर्फ लगेको भन्दै फ्ल्यास समाचार प्रसारण गर्‍यो । केही मिनेटभित्रै प्रहरीले सडक सिल गर्‍यो । निजीदेखि सार्वजनिक यातायातका सबै सवारीसाधन प्रहरीको निगरानीमा परे । प्रहरीको अपरेसन रातभरजसो नै चल्यो । ड्युटीका कर्मचारी रातभर नै अलर्टमा रहे । तर, न अपहरणमा परेका भनिएका व्यक्ति फेला परे न कतैबाट उजुरी नै आयो । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी हृदय थापा घटनाको भोलिपल्ट भन्दै थिए, ‘घटनाबारे कतैबाट पनि उजुरी आएको छैन ।’
बौद्ध महाँकालका गोविन्द नेपाललाई केही दिनअघि मोटरसाइकलमा आएका अज्ञात समूहले चाबहिलस्थित गोपीकृष्ण हलपछाडिबाट अपहरण गरे । नेपाललाई उनीहरूले भक्तपुरस्थित भर्खर बन्दै गरेको ६ तल्ले घरको छतमा लगे । अनि, मोटो रकमको माग गर्दै जबरजस्ती कागज गराउन खोजे । भक्तपुरकै चर्चित डन उमेश श्रेष्ठको सहयोगमा उनी अपहरणकारीको पन्जाबाट फुत्के । तर, प्रहरी कार्यालयमा उनले उजुरी नै गरेनन् ।
ढुकुटीका कारण आत्महत्या गरेका विराटनगरका ३० वर्षीय नारायण अधिकारी पनि आत्महत्या गर्नुअघि अपहरणमा परेका थिए । ढुकुटीका साझेदार विमला वलीको निर्देशनमा उनकै भाइ पर्ने हिक्मत थपलियाले अधिकारीलाई गौशालाबाट अपहरण गरेका थिए । मोटरसाइकलममा आएका हिक्मतले अधिकारीलाई पिंगलास्थानस्थित कार्की किचेनमा लगे । किचेनमा जम्मा भएका विमला तथा उनका अर्का भाइ गंगा सेढाईं र रमेश वलीले किचेनकै गोप्य कोठमा लगे । कुटपिट गर्दै १८ लाखको कागज गराए । अधिकारीले गौशला प्रहरी प्रभागमा उजुरी गरे । आर्थिक लेनदेनको विषय भन्दै प्रभागले अधिकारीको उजुरी नै लिएन ।
आर्थिक लेनदेनका विषयमा यस्ता घटना हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार विशेषत: ढुकुटी र घरजग्गासम्बन्धी आर्थिक कारोबारमा यस्ता घटना धेरै हुने गर्छन् । नियमअनुसार ऋण कारोबार गर्दा १० प्रतिशत मात्रै ब्याज लिने व्यवस्था छ । तर, घरजग्गा कारोबारीले ६० प्रतिशतसम्म ब्याज दिने सर्तमा आर्थिक कारोबार गरेका हुन्छन् । ढुकुटी खेल्नेहरूले त एक दिनमा एक लाखको १० हजार रुपैयाँसम्म ब्याज दिने सर्तमा ऋण लेनदेन गरेको पाइन्छ ।
सुरुको केही किस्ता कबुल गरेबमोजिमकै ब्याज तिरे पनि पछि नसक्ने अवस्था हुन्छ । यस्ता कार्यमा आर्थिक कारोबार गर्ने दुवै पक्ष कानुनी नजरमा दोषी देखिने हुँदा उनीहरू उजुरी लिएर प्रहरीकहाँ जाँदैनन् । प्रहरीका अनुसार पीडित हुँदाहुँदै पनि आफैँ फसिने डरले उनीहरू उजुरी गर्दैनन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार यस्ता घटनामा दुवै पक्ष दोषी हुने हुँदा उजुरी दिँदैनन्, बरु उनीहरू गुन्डा प्रयोग गर्छन् । उनले भने, ‘बेलबखतमा हुने गरेका नाटकीय अपहरणका पछाडि यस्तै कारण देखिन्छन् ।’ विशेषगरी ढुकुटी र घरजग्गा कारोबारमा संलग्न हुनेहरूबाट यस्ता घटना धेरै हुने गरेको उनको दाबी छ ।
ठगीको परिभाषाभित्र पर्ने आर्थिक अपराधबाहेक लेनदेनका अन्य अपराध प्रहरीलाई हेर्ने छुट छैन तर यस्ता अपराध नै धेरै हुने गरेको प्रहरीको दाबी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार आर्थिक अपराधका उजुरीमध्ये ६० प्रतिशत ठगीको परिभाषाभित्र नपर्ने प्रकृतिका छन् । उनले भने, ‘यस्ता मुद्दा प्रहरीले हेर्न नमिल्ने भएकाले उजुरी लिन मिल्दैन ।’
प्रहरीका अनुसार यस्ता अपराधका मुद्दा अदालतबाट चल्ने भए पनि फैसला हुन समय लाग्छ । तर, पीडित अदालतले फैसला गर्ने अवधिसम्म पर्खन चाहँदैन । पैसा असुल्ने छोटो बाटो रोज्ने क्रममा टोलका ‘डन’ हरू प्रयोग हुन्छन् । परिसरका प्रमुख एसएसपी चन्दले यस तथ्यलाई स्विकार्दै भने, ‘हो, यस्ता केसमा टोलका गुन्डा प्रयोग हुने गरेको सुनेको छु ।’

प्रतिक्रिया