दलित परिवारको बिचल्ली


नेपालगन्ज, ३ साउन । पतिको हत्या भएपछि बर्दिया, धधवारका दलित परिवारमा गुजाराकै समस्या परेको छ ।
गिलास छोएको निहुँमा गैरदलितको कुटाइबाट धधवार, वकलभारका रामबहादुर सार्कीको मृत्यु भएपछि परिवार बिचल्लीमा परेका हुन् । दैलेखबाट बसाइँ सरेर वकलभारमा बस्दै आएका सार्कीको हत्या भएपछि आयस्रोत नभएकाले दुई छोराको पढाइसमेत पूरा गर्न नसक्ने अवस्था आएको पत्नी खगिसराले बताइन् ।
गाउँमा रहेको पाँचकठ्ठा जग्गामा चार महिनालाई पुग्ने अन्न पनि उत्पादन नभएपछि सार्कीले भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका थिए । कक्षा ७ मा पढिरहेका १३ वर्षीय प्रकाश र कक्षा ३ मा पढिरहेका १० वर्षीय विशालको पढाइसमेत अगाडि बढाउन समस्या आएको खगिसराले बताइन् ।
१५ असारमा गाउँकै सीताराम थारू, रामकृष्ण थारू र लोहार थारूले चियाको गिलास छोएको निहुँमा कुटपिट गरेपछि घाइते भएका सार्कीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया