हेटौंडा, २ साउन । स्वर्गीय प्रशिक्षक मानबहादुर तमाङको स्मृतिमा राष्ट्रिय तेक्वान्दो युनियन नेपाल, जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा हेटौंडामा सम्पन्न मध्यमाञ्चल क्षेत्रस्तरीय तेक्वान्दो प्रतियोगितामा बारा टिम च्याम्पियन भएको छ ।
टिम च्याम्पियन बाराले ६ स्वर्ण, चार रजत र दुई कास्य पदक जित्दा दोस्रो स्थानमा रहेको मकवानपुरले दुई स्वर्ण, चार रजत र एक कास्य पदक आफ्नो नाममा लेखाउन सफल भयो । तेस्रो स्थानम रहेर हेटौंडा यात्रा टुंग्याएको चितवनले दुई स्वर्ण, दुई रजत र ६ कास्य पदक प्राप्त गरेको थियो । मकवानपुरकी सिर्जना थापामगर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् ।
प्रतियोगिताको महिला ३०–३५ केजी तौल समूहमा काठमाडौंकी गंगा कार्कीले स्वर्ण चुम्दा अनिता चौलागाईं बाराले रजतमा चित्त बुझाइन् ।
महिला ३५–४० केजी तौल समूहमा मकवानपुरकी मनिता लम्साल प्रथम हुँदा रौतहटकी सीमा बाँस्कोटा द्वितीय भइन् । मकवानपुरकी सिर्जना थापा र बाराकी रीना लामाले ४५–५० केजी तौल समूहमा क्रमश: स्वर्ण र रजत पदक प्राप्त गरे । यस्तै, महिलातर्फ ४५–५० केजी तौल समूहको अन्तिम दुई खेलमा रौतहटकी संगीता पुलामीले बाराकी वन्दना कुँवरलाई पराजित गर्दा ५०–५४ केजी तौलको फाइनलमा बाराकी उमा थापाले मकवानपुरकी सुनीता लामाको चुनौती समाप्त पारिन् ।
पुरुष ०–२५ केजी तौल समूहमा बाराका सन्देश पुलामीले स्वर्ण चुम्दा मकवानपुरका इमोन लामा फाइनलमा पराजित भए । पुरुषतर्फकै २५–३० केजीतर्फ बाराका विश्वराज भ्लोन र चितवनका नीरज लामा क्रमश: प्रथम र द्वितीय भए । पुरुषतर्फकै ३०–३५ केजी तौलमा चितवनका विवेकविक्रम सोनामले फाइनलमा बाराका मिलन राउतलाई पन्छाए । यता, पुरुष ४०–४५ केजीमा बाराका सुरेन्द्र कुँवरले चितवनका सुमन थापालाई हराए । ५०–५४ केजीमा बाराका युवराज लामाले स्वर्ण पदक चुम्दा रौतहटका युवराज धिताल पराजित भए । पुरुष ५४–५८ केजीतर्फ चितवनका वीरेन्द्र श्रेष्ठले फाइनमा रौतहटका दीपक राउतलाई रजत पदकमा चित्त बुझाउन बाध्य पारे ।
पुरुष ५८–६२ केजी तौल समूहमा सौखिन थापाले स्वर्ण र मकवानपुरका समीर लामाले रजत पदक हात पारे । पुरुष ६२–६६ केजी तौल समूहमा पर्साका शेष कस्मत र सुनील सुनारले क्रमश: स्वर्ण र रजत पदक चुमे । प्रतियोगितामा मध्यमाञ्चलअन्तर्गत १० जिल्लाका एक सय खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा ८४ पुरुष र ३६ महिला सहभागी थिए । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकको छिनोफानो भएको थियो । समापन समारोहमा स्वर्गीय प्रशिक्षक तामाङकी पत्नी भगवती लामा प्रमुख अतिथि थिइन् ।
प्रतिक्रिया