निगमको नाफा एक करोडमा झर्‍यो

काठमाडौं, २ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले १५ दिनअघि १३ करोड ११ लाख नाफामा रहेको नेपाल आयल निगम फेरि एक करोड ३२ लाख रुपियाँमा सीमित भएको छ ।
नेपाली बजारमा भएको मूल्य वृद्धि र विदेशी बजारमा कच्चा तेलको मूल्य गिरावटले आशलाग्दो नाफामा देखिएको निगम १६ जुलाईमा भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार एक करोड ३२ लाख रुपियाँको नाफामा झरेको हो ।
नेपाल आयल निगमका अनुसार १५ दिनबीचमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नाफा घटेको हो । निगम प्रवक्ता मुकुन्द ढुंगेलले जुलाइ एकदेखि १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय डलरभन्दा बढी महंगो भएपछि नाफा घटेको जनाए । चार वर्षपछि पहिलोपटक १३ करोड रुपियाँ नाफामा आएको निगम कच्चा तेलको मूल्य वृद्धिले प्रभावित भएको उनको भनाइ छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १३ रुपियाँ ९ पैसा नाफा हुने निगमले जनाएको छ । योसँगै पेट्रोलको कुल नाफा २२ करोड २५ लाखमा झरेको छ । यसअघि निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ ३५ पैसा तथा २६ करोड १० लाख कुल नाफा थियो । यस्तै, नयाँ मूल्य सूचीअनुसार डिजेलमा समेत प्रतिलिटर एक रुपियाँ ८६ पैसा घाटा रहेको जनाएको छ । १५ दिनअघि डिजेलमा प्रतिलिटर ६४ पैसा मात्र घाटा थियो । तर, अन्य पेट्रोलियम र एलपी ग्यासको नाफाघाटा भने १५ अघिकै अवस्थामा रहेको निगमले जनाएको छ ।
गत १ जुलाईको मूल्यअनुसार मट्टीतेलमा १२ रुपियाँ ८० पैसा, आन्तरिक हवाई इन्धनमा १८ रुपियाँ ६६ पैसा र हवाई कर छुटसहित अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३० रुपियाँ पाँच पैसा नाफा छ । यो मूल्यअनुसार मट्टीतेलमा सात करोड ६८ लाख, आन्तरिक हवाई इन्धनमा पाँच करोड ६० लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ करोड चार लाख रुपियाँ कुल नाफा रहेको निगमले जनाएको छ । तर, एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय ५९ रुपियाँ ६३ पैसा घाटा रहेको निगमको दाबी छ । यो मूल्यअनुसार एलपी ग्यासमा कुल घाटा ४३ करोड १६ लाख र डिजेलमा चार करोड १६ लाख रुपियाँ कुल घाटा छ ।
भारतीय आयल निगमले पठाएको जुलाई १ को मूल्य सूचीअनुसार चार वर्षपछि निगमलाई १३ करोड ११ लाख रुपियाँ मासिक नाफा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्य गिरावटसँगै पछिल्लोपटक निगमले डिजेल र मट्टीतेलमा गरेको मूल्य वृद्धिपछि सो नाफा देखिएको थियो । आर्थिक वर्ष ०६५/६६ पछि निगम नाफामा आएको यो नै पहिलो पटक हो ।
अन्तर्राष्ट्रिय बजार मूल्य गिरावट र आपूर्ति कटौतीले गत महिना भने निगम ७० करोड ४२ लाख रुपिायाँ घाटामा थियो । नेपाल आयल निगमका अनुसार आइओसीले १ जुनमा पठाएको मूल्य सूचीअनुसार निगमको मासिक घाटा ७० करोड ४२ लाखमा झरेको थियो भने भारतीय आयल निगमले १६ जुनमा पठाएको मूल्य सूचीअनुसार मासिक घाटा १३ करोड नौ लाख रुपियाँमा सीमित रहेको थियो ।
अघिल्लो महिना अर्थात् १ मेको मूल्य सूचीअनुसार निगम घाटा एक अर्ब १४ करोड ४७ लाख रुपियाँ थियो । यस्तै, अघिल्लो महिना अर्थात् अप्रिलमा निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको थियो ।

प्रतिक्रिया