चमेलियाको सुरुङ साँघुरिदै

काठमाडौं, २ साउन । निर्माणाधीन चमेलिया जलविद्युत्् आयोजनको मुख्य सुरुङको पाँच सय ५० मिटर क्षेत्र साँघुरिएको छ । सुरुङ साँघुरिएपछि भारतीय विशेषज्ञसहितको टोली त्यसतर्फ गएको छ ।
मुख्य सुरुङमा रक प्रेसरले स्विजिङ समस्या देखिएपछि नेपाल विद्युत्् प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार विशेषज्ञ टोली पठाइएको हो । विशेषज्ञ डा. मनोज बर्मनको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण आयोजना विकास विभागलगायतका सहभागी टोलीले नौ दिनभित्र सुरुङमा देखिएको समस्या समाधानका लागि निर्णय दिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुरुङको साँघुरिने क्रम १.६ मिटर पुगेको छ ।
निर्माण सम्पन्न भएको सुरुङको ढलान गरी फिनिसिङ गर्ने क्रममा खुम्चिएको पाएपछि विशेषज्ञ टोली पठाइएको प्राधिकरण उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डेले जानकारी दिए ।
विशेषज्ञ टोलीले चमेलिया पुगेर अध्ययन गरिरहेको छ । आयोजना प्रमुख गोपालबाबु भट्टराईले टोलीले अध्ययन गरिरहेको र अध्ययनपछि दिने प्रतिवेदनका आधारमा आयोजना अघि बढ्ने बताए । गत वैशाख अन्तिम साता आयोजनाको सुरुङमा ब्रेक थ्रु भएको थियो । सुरुङ निर्माणपछि फिनिसिङ गर्ने क्रममा सुरुङ खुम्चदै गएपछि प्राधिकरणको हालैको सञ्चालक समितिको बैठकले १६ हजार चार सय ६ युरो अर्थात् नेपाली रुपियाँ एक लाख १२ हजार तीन सय ५० दिने निर्णय गरेको थियो ।
दक्षिण कोरियाको सहयोगमा निर्माणाधीन सो आयोजना ३० मेगावाट क्षमताको छ । दार्चुलाको शिखर गाविस–४ मा बन्न लागेको चमेलिया सन् ०१३ अगस्टमा सिध्याउने लक्ष्य छ ।

दूधकोसीको विद्युत् गृह सर्‍यो

दूधकोसी जलाशययुक्त आयोजनाको विद्युत् गृह २५ मिटर माथि सारेर नेपाल विद्युत् प्राधिकरणको आयोजना विकास विभागले अध्ययन अघि बढाएको छ ।
सप्तकोसी उच्च बाँध बनाउँदा दूधकोसीको विद्युत् गृह डुब्ने अध्ययनले देखाएपछि विभागले गृह नै २५ मिटर माथि सारेर अध्ययन अगाडि बढाइएको हो । अहिले प्राधिकरणले दूधकोसीको सम्भाव्यता अध्ययन गरिरहेको छ । प्राधिकरण सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले गरेको अध्ययनबाट छनोट १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये दूधकोसी एक हो ।
प्राधिकरणले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत आयोजना रिपोर्ट (डिपिआर) तथा  निर्माण अघि बढाउनका लागि कोरिया सरकारलाई प्रस्ताव पठाइसकेको छ । सो आयोजना ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्छ ।

प्रतिक्रिया