अरूलाई राम्री बनाउने रञ्जु

आफ्नो सौन्दर्य निखार्न ब्युटिपार्लर नजाने सहरिया वा अर्धसहरिया महिला बिरलै भेटिएलान् । सौन्दर्य प्रसाधनहरूले नयाँ पुस्ताका महिलालाई आकर्षित मात्र गरेका छैनन्, तिनलाई बहुराष्ट्रियदेखि घरेलु उत्पादनको उम्कनै नसकिने माकुरे जालोमा फसाइदिएका छन् । केही वर्षअघिसम्म औँलामा गन्न मिल्ने पार्लरहरूको संख्या वृद्धि भएर हजारौँमा पुगेको छ । सायद यो सौन्दर्यकलामा अभिरुचि राख्नेहरूका लागि सुन्दर अवसर हो ।
बढ्दो उपभोक्तावादको संक्रमणले आत्मनिर्भर बन्न पार्लर व्यवसाय गर्ने महिलाको कमी छैन । पढेर पनि बेरोजगार भएकाहरूलाई त यो व्यवसाय आम्दानीको राम्रो स्रोत बनेको छ । आत्मनिर्भर पनि भइने र कसैको दबाबमा काम गर्नु पनि नपर्ने हुनाले सहरिया बेरोजगार महिलाको पहिलो रोजाइ हो पार्लर । काठमाडौ रातोपुलमा रहेको कोहिनुर ब्युटिपार्लर सञ्चालक हुन् सिन्धुलीकी रन्जु महतो । उनले पार्लर सञ्चालन गरेको पाचँ वर्ष भयो । उनलाई यो पार्लर गतिलो रोजगार बनेको छ ।
पार्लर व्यवसाय घाटामा चल्दैन । व्यापार राम्रो छ । चाडवाड र विवाह व्रतबन्धमा थेगी नसक्नुको काम आउँछ । भिडभाड हुन्छ । ग्राहकलाई कसरी चिटिक्क पार्ने, त्यसैमा रञ्जुको मन केन्द्रित हुन्छ । हुन त यो उनको सानैदेखिको सोख पनि हो । अबोधतावश नै भनौँ, उनी सबैलाई सुन्दर देख्न चाहन्थिन् । तर, नौ कक्षासम्म अध्ययन गरेकी उनको इच्छाले पछिचाहिँ पतिको साथ पायो । उनले सात महिनाको तालिम लिइन् । उनका लागि पहिले यो सोख थियो, पछि रोजगारीको बाटो बन्यो । पहिलेपहिले शनिबार एकदिन बन्द हुने उनको पार्लर ग्राहककै आग्रहमा हिजोआज शनिबार पनि खुल्छ । रञ्जुको पार्लरमा दैनिक चार पाँचजना ग्राहक भइ नै रहन्छन् । पार्लरमा फेसिएल, थ्रेडिङ, कपाल काट्ने, दुलही शृंगारगर्ने सुविधा छ । दुलही शृंगार गर्नुपर्‍यो भने उनी दुलहीको घरैमा पनि पुग्छिन् । सायद यसमा उनलाई आनन्द पनि आउँछ ।
उनको पार्लरमा महिलाका लागि आवश्यक धैरै खालका शृंगार प्रसाधन पाइन्छन्  । आज भोलि ग्राहकको रोजाइमा ब्रान्डेड सामग्री नै राख्ने गर्छिन् रञ्जु  । ‘के गर्नु ? सस्तो मात्र राखेर भएन, ग्राहकहरू राम्रो चाहियो भन्छन,् बिक्ने सामान राख्नुपर्‍यो नि †’ रञ्जुको निष्कर्ष यस्तो छ । पहिलेपहिलेजस्तो चाइनिज कस्मेटिक सामग्री प्रयोग गर्ने ग्राहकको संख्या उति नभएको उल्लेख गर्छिन् उनी । रञ्जु बेच्नलाई कस्मेटिकका सबै सामान बेच्छिन् । सबैलाई अनुमान हुन्छ, पसलमा भन्दा पार्लरमा किन्दा महँगो पर्छ त्यस्ता प्रसाधनहरू । तर, उनको दाबीअनुसार कोहिनुरमा त्यस्तो हुँदैन । भन्छिन्, ‘म एकपटक आएका ग्राहक फेरि पनि आइराखून् भन्ने चाहन्छु, महँगो बेचेर के गर्नु ? प्रयोगकर्तालाई सामानको मूल्य र क्वालिटी सबै थाहा हुन्छ ।’ भ्याउँदा पार्लरबारे सिप पनि सिकाउने गर्छिन्, उनलाई खाली हात बस्न मन छैन । उनको सूत्र हो, ‘केही न केही गरिरहूँ र आम्दानी गरिरहूँ ।’
विगत दुई वर्षदेखि उनीकहाँ सेवा लिने गरेकी शारदा कार्कीलाई हिजोआज अरूले चलाएका पार्लरमा विश्वास नै छैन । कोहिनुरकी नम्बर एक भन्न मिल्ने ग्राहक शारदा भन्छिन्, ‘रञ्जुले थ्रेडिङ गर्दा कत्ति पनि दुख्दैन, त्यसैले त यहाँ आउन थालेपछि अन्त जानै छोडेँ । चाहिने कस्मेटिक सामान पनि यही किन्छु । चिनेको छ, नक्कली भए भन्न पनि पाइन्छ ।’ बजारमा ब्रान्डेड नाम राखेर बेचिने नक्कली सामानबाट सचेत छिन् उनी । उनका भनाइमा जस्तो पायो त्यस्तै सामान प्रयोग गर्दा अनुहार मात्र बिग्रन्छ । अत: शारदाले क्रिम, स्याम्पु, फेसवासजस्ता सामान कोहिनुरबाटै किन्ने गरेको रञ्जुको अनुभव छ । रातो पुलकी सुषमा राई पनि तीन वर्षदेखि कोहिनुर पार्लर जान थालेकी छन् । भन्छिन्, ‘यहाँ बन्द भयो भने घरै फर्कन्छु तर म अर्को पार्लर खोज्दै हिँड्दिनँ । सुषमालाई नियमितजसो पार्लर धाउनुपर्छ । अनि, पार्लरमा पाइने सामान उनी अन्य खाले पसलमा गएर किन्दिनन् ।
ओखलढुंगाबाट काठमाडौं उक्लेकी गोमा घिमिरे पनि शारदा कार्कीझैँ कोहिनुरकी नियमित ग्राहक हुन् । उनलाई पन्ध्रपन्ध्र दिनमा थ्रेडिङ गर्न बानी परेको छ । उनी मात्र होइन, थ्रेडिङ गर्ने बानी परेका सबै महिला पन्ध्रपन्ध्र दिनमा पार्लर धाउँछन् । गोमा फेसिएल गर्न भने चाडवाड वा विवाह व्रतबन्धमा आउने गर्छिन् ।
रञ्जुको पसल सुरुमा सानो थियो । उनका श्रीमान्ले नै सुरुमा लगानी गरिदिएका थिए । घरको सहयोगले नै काम गर्न सकेको बताउँछिन् रञ्जु । आफ्नो कमाइले श्रीमान् र घरलाई सहयोग गर्न पाएकोमा दंग परेकी छन् । श्रीमान्को कमाइ खाएर आनन्दले बस्ने उनको रहर होइन । आफैँ केही गर्नुपर्छ भन्ने आत्मनिर्भरपनले हो, उनलाई पार्लर साहुनी बनाएको । अरूको सौन्दर्य निखार्दानिखार्दै दिन गएको वर्ष बितेको पत्तो हुन्न ।
–चमिना

प्रतिक्रिया