कर्मचारीले गरे हडताल

काठमाडौं, २ साउन । लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदय तिवारीले उच्च माध्यमिक शिक्षा परिषद्मा वितण्डा मञ्चाएका छन् । परिषद्मा करारमा जागिर खाएका तिवारीले समयअवधि नथपिएको झोकमा पदाधिकारीकै अघि ‘गुन्डा हुँ’ भन्दै सोमबार कर्मचारीलाई दुव्र्यवहार गर्दै टेबल फुटाएका थिए ।
असार मसान्तबाट परिषद्का उपाध्यक्षको सल्लाहकारको करार अवधि सकिएपछि तिवारीले आक्रोश पोखेका हुन् । सोमबार परिषद् पुगेका तिवारीले परिषद्का कर्मचारी प्रशासनका महाउपसचिव कृष्णप्रसाद शर्मालाई दुव्र्यवहार गर्दै कुट्न खोज्दा अन्य कर्मचारीले छेकेका थिए । तिवारीले यसअघि परिषद्का प्रशासन महाशाखा प्रमुख डिबी खड्का, अधिकृत अम्बिका पोख्रेललाई समेत दुव्र्यवहार गरेका थिए ।
परिषद्का उपाध्यक्षकै कार्यकक्षमा तिवारीले उपसचिव शर्मालाई दुव्र्यवहार गरेका हुन् । ‘मलाई उपाध्यक्षको कोठामा बोलाइयो,’ शर्माले भने, ‘समय सकिएका उदय तिवारी र उदय कर्णले ‘हाम्रो म्याद नथप्ने साला’ भनेर टेबल ठोके र ममाथि जाइलागे ।’ हात हाल्न थालेपछि प्रकाश अवाले, बालगोपाल उपाध्याय र अशोक न्यौपाने आएर छुट्याएको शर्माले बताए । उनले करारको समयावधि सकिएको र हाजिर गराउनु भन्ने आदेश नआएकाले आफूले केही गर्न नसक्ने अवस्थामा तिवारी जाइलागेको बताए ।
संघका अध्यक्ष घिमिरे र संगठनका अध्यक्ष प्रकाश अवालेले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कर्मचारीप्रति बारम्बार दुव्र्यवहार गर्ने उदय तिवारी र उदय कर्णलाई परिषद्को करार सेवामा नियुक्ति नगर्न आग्रह गरिएको छ । कर्मचारीका अनुसार आफ्नै कार्यकक्षमा कर्मचारीमाथि जाइलाग्दा पनि उपाध्यक्ष डा. हेमकुमार मिश्र मौन बसेका थिए । उनले आक्रमण र जथाभावी नबोल्न समेत भन्न सकेनन् ।
कर्मचारीले परिषद्मा गुन्डागर्दी शैलीमा कर्मचारीमाथि जाइलागेको भन्दै सोमबार हड्तालसमेत गरेका छन् । उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरी खेद व्यक्त गरेका छन् । कर्मचारीले गुन्डागर्दी शैलीमा कर्मचारीमाथि जाइलाग्ने तिवारीलाई नियुक्तिको म्याद नथप्न र कारबाही गर्न माग गरेका छन् ।
कर्मचारी संघका कार्यबाहक अध्यक्ष कृष्ण घिमिरेले विगतमा पनि महाशाखा प्रमुख र अधिकृतमाथि तिवारीले अभद्र व्यवहार गरेको बताए । ‘राजनीतिक आडमा कर्मचारीमाथि दुव्र्यवहार बढेकाले सोमबार काम नै बन्द गर्न बाध्य भयौँ,’ उनले भने, ‘तिवारीले सदस्य सचिवको कार्यकक्षमा सबैका सामु ‘म गुन्डा हुँ’ भन्नसमेत पछि परेनन् ।’

प्रतिक्रिया