एउटै योजनामा दोहोरो भुक्तानीको प्रयास

जाजरकोट, १ साउन । जाजरकोटको एक विद्यालयले एउटा भवन बनाएर दुई निकायबाट भुक्तानी लिन खोजेको पाइएको छ ।
सीमा–९ स्यापीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले एउटा भवन बनाएर दुईवटा भवन निर्माणको भुक्तानी लिन खोजेको हो । विद्यालयले जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयको छुट्टाछुट्टै बजेटबाट दुईवटा भवन बनाउनुपर्नेमा एउटै भवन बनाएर दुई ठाउँमा भुक्तानीका लागि बिल पेस गरेको हो । विद्यालयले अनियमितता गरेको खुलासा भएपछि खातामा पठाइएको रकमसमेत रोक्का गरिएको छ ।
शान्ति तथा पुन:निर्माण मन्त्रालयअन्तर्गत जिल्ला प्राविधिक कार्यालयबाट प्राप्त पाँच लाख रुपियाँ भुक्तानी गरिएको छ भने शिक्षा कार्यालयबाट ६ लाख ५० हजार रुपियाँ भुक्तानी पठाइएकोमा अनियमितता गरेको पाइएपछि निकासा भइसकेको रकम पनि रोक्का गरिएको शिक्षा अधिकारी गिरमान थापाले जानकारी दिए ।
उनले भवन निर्माणबारे छानबिन नहुँदासम्म रकम फुकुुवा नगरिने बताए । विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद साह र शिक्षक मानबहादुर पुनको मिलेमतोमा अनियमितता भएको स्थानीयले बताए ।
दुईवटा भवन बनाउनुपर्नेमा एउटा भवन पनि पूर्णरूपमा निर्माण नगरी दोहोरो भुक्तानी लिने प्रयास भइरहेको पाइएपछि रोक्का गर्न लगाइएको अनुगमनमा गएका राप्रपा नेपालका गोपालविक्रम शाहले बताए । उनका अनुुसार बन्दै गरेको भवन जिल्ला शिक्षा कार्यालयको भएको र मन्त्रालयको पुन:निर्माण तथा पुन:स्थापना कार्यक्रमअन्तर्गतको भवन नै नबनाइएको बताए ।

प्रतिक्रिया