आर्थिक वृद्धिदर ४.५६ प्रतिशतमा सीमित

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५६ प्रतिशत मात्र रहन पुगेको छ । चालु आवमा ५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएता पनि आधारभूत मूल्यमा ४ दशमलव ५६ प्रतिशत र उत्पादनमा ४ दशमलव ६३ प्रतिशत कायम रहेको अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आव ०६८/६९ को पहिलो आठ महिनाको मुलुकको आर्थिक गतिविधिलाई समेटी तयार पारिएको सो आर्थिक सर्वेक्षणमा उल्लेखित वृद्धिदर विगत तीन वर्षकै उच्च वृद्धिदर हो ।
चालु आवमा कृषि क्षेत्रको वृद्धिदर ४ दशमलव ९३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४ दशमलव २७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आवमा कृषि क्षेत्रको वृद्धिदर ४ दशमलव ५१ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ४ प्रतिशत रहेको थियो ।
नेपाली अर्थतन्त्रको संरचनामा क्रमश: परिर्वतन आइरहेको सरकारले बताएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा प्रचलित मूल्यमा चालु आवको कुल गार्हस्थ उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमश: ३५ दशमलव ६८ प्रतिशत, १४ दशमलव ०२ प्रतिशत र ५० दशमलव ३१ प्रतिशत हुने अनुमान गरिएको छ । प्राथमिक र द्वितीय क्षेत्रर्तफ यो योगदान गत आर्थिक वर्षभन्दा क्रमश: १ दशमलव ७५ प्रतिशत र ० दशमलव २७ प्रतिशत विन्दुले कम हो । तृतीय क्षेत्रको योगदानमा भने गत आवका तुलनामा २ दशमलव ०३ प्रतिशतले वृद्धि भएको छ । तृतीय क्षेत्रमा समावेश हुने सबै सेवाको उत्पादनमा वृद्धि भएकाले कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान बढेको देखिएको सर्वेक्षणमा उल्लेख छ ।
अर्थविद्हरूले समग्र अर्थतन्त्रमा उपभोगको अंश बढेको चिन्ता व्यक्त गरिरहेका बेला चालु आवमा भने यो अंश घटेको छ । गत आवमा कुल गार्हस्थ उत्पादनमा ९१ दशमलव ४ प्रतिशत अंश उपभोगको रहेकामा चालु आवमा यो घटेर ९० प्रतिशत पुगेको छ । कुल खर्चयोग्य आम्दानीमध्ये १० प्रतिशत अंश बचत हुन थालेको छ जुन बचत कालान्तरमा पुँजी निर्माणमा नै लगानी हुने अनुमान गरिन्छ । कुल उपभोगमा खाद्यान्नको अंश ६२ दशमलव ७ प्रतिशत र सेवाको अंश ११ प्रतिशत रहेको छ ।
चालु आवमा कुल गार्हस्थ उत्पादनमा लगानीको अंश बढेको देखाएको छ । २२ दशमलव ३ प्रतिशतमा सीमित लगानी अंश चालु आवमा भने ३२ दशमलव ८ प्रतिशत पुग्ने अर्थ मन्त्रालयको अनुमान छ । सरकारको मूल्य वृद्धि भने चालु आवमा ८ प्रतिशतमा रहने अनुमान गरिएको छ । यद्यपि बजेट भाषणमा सरकारको मूल्य वृद्धिलाई ७ प्रतिशतमा राख्ने लक्ष्य थियो । लक्ष्यअनुरूप चैत मसान्तसम्म ७ प्रतिशतकै हाराहारीमा राख्न सफल भए पनि जेठ १४ अगाडि भए गरेका बन्द, चक्काजाम एवं पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सिर्जना गरेको थप भारका कारण मूल्य वृद्धिमा चाप परेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बताए ।
यसैगरी चालु आवको पहिलो आठ महिनामा नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ५७ हजार सात सय २६ र राष्ट्रिय आयको आधारमा भने ५८ हजार दुई सय ७४ रुपियाँ पुगेको छ ।
यस्तै स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो उपलब्धी हासिल गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् १९९६ मा बाल मृत्युदर ४३ प्रतिहजार जीवित जन्म रहेकामा यसवर्ष नौमा झरेको देखिएको छ । मातृ मृत्युदर पाँच सय ३९ प्रतिलाख रहेकामा दुई सय २९ मा झरेको छ ।
कुल गार्हस्थ उत्पादनमा कुल तिर्न बाँकी रकमको अनुपात बढेर गएको छ । गत आवमा यस्तो अनुपात ३० दशमलव ३ प्रतिशत रहेकामा चालु आवमा ३२ दशमलव सात प्रतिशत रहेको छ । वैदेशिक ऋणको अनुपात गत आर्थिक वर्षको १९ बाट बढेर चालु आवमा १० दशमलव ८ प्रतिशत पुगेको छ भने आन्तरिक ऋणको अनुपात ११ दशमलव ३ प्रतिशतबाट बढेर १२ दशमलव ९ प्रतिशत पुगेको छ । नेपालले आव ०६६।०६७ मा दुई खर्ब ५६ अर्ब २४ करोड ३३ लाख खुद तिर्न बाँकी वैदेशिक ऋण रहेकामा आव ०६७।०६८ मा १ दशमलव ३ प्रतिशतले बढेर दुई खर्ब ५९ अर्ब ५५ करोड १८ लाख पुगेको छ ।

प्रतिक्रिया