काठमाडौं, ३१ असार । वैदेशिक रोजगारीका नाममा विनास्वीकृति एजेन्ट र शाखा कार्यालयका रूपमा काम गर्नेमाथि सरकारले कडा कारबाही अघि बढाएको छ । वैदेशिक रोजगारीका नाममा ठगीका घटना र विभागमा आउने उजुरी बढेपछि सरकारले केही दिनयता यस्ता अवैध रूपमा सञ्चालनमा रहेका शाखा र एजेन्टमाथिको निगरानीमा कडा गरेको हो ।
रोजगारीका नाममा विदेश पठाउने भन्दै लाखाँ रुपियाँ ठगी गर्ने तथा नक्कली सम्झौता पत्र बनाएर विदेश पठाई अलपत्र पार्ने क्रम तीव्र भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार लागेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरे पनि विनाअनुमति एजेन्ट र शाखा कर्यालयका रूपमा काम गर्नेबाट सर्वसाधरण बढी ठगिएको भन्दै यसमा कडाइ गरिएको हो । सरकारी प्रावधानअनुसार अहिले कुनै पनि म्यानपावर कम्पनीले शाखा कार्यालय राख्न अनुमति पाउँदैन । तर, विभागको आँखा छलेर यस्ता काम भइरहेकाले उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाएको वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले जनाए ।
विभिन्न क्षेत्र तथा जिल्ला स्तरमा अनुमति नलिई शाखा कार्यालय राखी काम गरेको तथा एजेन्टका भरमा पासपोर्ट संकलन भइरहेको पाएपछि विभागले कारबाही सुरु गरेको उनले बताए । सरकारी मापदण्ड र कानुनविपरीत काम गर्ने अधिकार कसैलाई पनि नभएकाले त्यस्तो काम गर्ने जो कोहीलाई पनि विभागले कडा कारबाही गर्ने उनको भनाइ छ ।
विभागका अनुसार विभिन्न अञ्चल र जिल्लामा सञ्चालित त्यस्ता करिब एक दर्जन बढी शाखा कार्यालय कारबाहीमा परेका छन् । यद्यपि शाखा कार्यालय स्थापना गर्न नपाउने सरकारी निर्णयअघि नै स्थापना भएका शाखाभने यो कारबाहीमा नपरेको विभागको भनाइ छ । विभागमा पर्ने कतिपय उजुरी शाखा कार्यालय र त्यहाँ काम गर्ने एजेन्टको नाममा पर्ने गरेको तर तिनले यसअघि विभागबाट अनुमति लिएको नदेखिएकाले उनीहरूविरुद्ध कारबाही सशक्त बनाएको विभागका अधिकारीको भनाइ छ ।
सरकारले अहिले यो पेसा व्यवस्थित बनाउन नयाँ रणनीति र कार्याक्रम तयार पारेर अघि बढिरहेकाले पनि कानुनविपरीत सञ्चालनमा रहेका म्यानपावर, तिनका शाखा र एजेन्टमाथि निगरानी बढाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । बर्सेनि चार लाख मानिस वैदेशिक रोजगारीमा जानेगरेको र हजारौँ ठगीमा पर्ने गरेको भन्दै सरकारले यसलाई व्यस्थित बनाउन खोजेको मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्का बताउँछन् । उनले कानुनविपरीत काम गर्नेलाई सरकारले नछोड्ने तर कानुनी रूपमा काम गर्नेले भने अत्तालिनु नपर्ने बताए ।
सरकारले व्यवसायीसँग समेत विभिन्न चरणमा यो व्यवसायलाई मर्यादित बनाउन छलफल गरेको र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ । अहिले विभागमा संस्थागतभन्दा व्यक्तिगत उजुरी संख्या अत्यधिक रहेकाले त्यसलाई न्युनीकरण गर्न विभागले आवश्यक काम अघिबढाएको जनाएको छ । चालु आर्थिक वर्षको जेठमा मात्र रोजगारीका लागि विभिन्न मुलुक पठाउने भन्दै व्यक्तिगत तथा संस्थागत रूपमा १० करोड ५१ लाख आठ हजार नौ सय ५० रुपियाँ ठगी भएको विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागका अनुासार संस्थागत तथा व्यक्तिगत रूपमा झुटा कागजात बनाउने, झुटो विवरण राखी सम्झौता गराउने र मोटो रकम लिएर विदेश पठाउने भन्दै ठगी गरेका उजुरी विभागमा पर्ने गरेका छन् । चालु आवको जेठ महिनामा मात्र यस्ता ठगीका घटनालाई लिएर दुई सय ४५ वटा उजुरी विभागमा परेका छन् ।
विभागमा परेका उजुरीमध्ये सबैभन्दा बढी व्यक्तिगत ठगीका छन् । जेठमा मात्र आठ करोड ७१ लाख ७७ हजार चार सय ५० रुपियाँ बिगो दाबीसहित विभागमा व्यक्तिगत ठगीका एक सय ३६ उजुरी परेका छन् । ती उजुरीमा अधिकांश सम्झौताअनुसार सेवा/सुविधा नपाएको तथा मोटो रकम लिएर विदेश पठाउने भन्दै फरार भएको उल्लेख छ ।
यस्तै सोही महिना संस्थागत रूपमा विदेश पठाउने भन्दै एक करोड ७९ लाख ३१ हजार पाँच सय रुपियाँ ठगी भएको भन्दै विभागमा एक सय नौवटा उजुरी परेका छन् । योसहित चालु आवको ११ महिनामा वैदेशिक रोजगारीका नाममा भएको ठगीका घटनालाई लिएर विभागमा परेको उजुरीको संख्या एक हजार आठ सय ९८ वटा पुगेका छन् । यी उजुरीमा बिगो दाबी भएको रकम एक अर्ब चार करोड ८९ लाख ४२ हजार नौ सय ३५ रुपियाँ छ ।
प्रतिक्रिया