बाढीको त्रासमा लाखौंलाई घर छाड्ने आदेश

टोकियो, ३१ असार । जापानको दक्षिणपश्चिमी भागमा तेस्रो दिन पनि अतिवर्षा भएपछि सोही क्षेत्रअवस्थित क्युसु द्वीपका करिब दुई लाख ४० हजार बासिन्दालाई उनीहरूको निवास परित्याग गर्न आदेश दिइएको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् । यहाँ अधिक वर्षाका कारण हालसम्म २० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
जापानको जलवायुसम्बन्धी संस्थाले यस क्षेत्रमा थप पहिरो जाने तथा बाढी आउने चेतावनी दिएको छ । यहाँ शनिबार बिहानै प्रतिघन्टा ११ सेन्टिमिटरको दरले वर्षा भएको देखिएको छ । क्युसुका उत्तरी क्षेत्रका करिब दुई लाख ४० हजार व्यक्तिलाई अन्यत्र सार्न आदेश दिइएको सार्वजनिक प्रसारण संस्था एनएचके तथा जिजी प्रेसले समाचार दिएका छन् ।
यहाँका जनतालाई विद्यालय तथा सार्वजनिक स्थलमा जान भनिएको छ । टेलिभिजनले घरका भग्नावशेषसहितका बाढीको चित्र देखाएका छन् । आसो नगरको भित्री भागमै ७२ घन्टाभित्र ७५ सेन्टिमिटर वर्षा भएको देखिएको छ । यहाँ बाढीका कारण मर्नेको संख्या २० पुगेको छ भने सात हराइरहेको देखिएको छ । तीमध्ये १९ व्यक्तिको पहिरो तथा आसोनजिकै घर ढल्दा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया