काठमाडौं, ३१असार । सद्भावना पार्टीको आयोजना भएको दुईदिने सर्वपक्षीय महासभाले नयाँ संविधान संविधानसभाबाटै आउनुपर्ने ठहर गरेको छ । कुनै प्रकारको आयोग वा अन्य बाटोबाट नयाँ संविधान ल्याउँदा मान्य नहुने निष्कर्ष महासभाले निकालेको छ ।
महासभाले नयाँ संविधानका लागि संविधानसभा पुन:स्थापना वा संविधानसभाको नयाँ चुनावमा सहमति हुनुुपर्ने, पुन:स्थापनामा जानुपरे १४ जेठसम्म भएका सहमति सबैलाई कायम राख्दै विवादित राज्य पुन:संरचनाको विषयबाट सहमतिको पहल थाल्नुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै, उच्चस्तरीय राज्य पुन:संरचना सुझाव आयोगको बहुमतद्वारा पारित प्रतिवेदनका आधारमा संघीय इकाइको संख्या, सीमांकन र नामांकनका लागि सहमति जुटाउनुपर्ने सुझाव दिइएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी महासभाको निष्कर्ष सुनाउँदै सद्भावना अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय समस्याको निकासका लागि सर्वपक्षीय सभाले गरेको निर्णयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘संविधानका विषयमा सहमति बनेको खण्डमा सर्वदलीय र सर्वपक्षीय सहमतिअनुरूप छोटो समयका लागि संविधानसभा पुन:स्थापना गरेर नयाँ संविधान घोषणा गर्न सकिन्छ,’ महतोले भने, ‘त्यसपछि पाँचबुँदे सहमतिअनुरूप नेपाली कांग्रेसको नेतृत्वमा सर्वदलीय चुनावी सरकार गठन हुनुपर्छ र यथाशीघ्र संसदीय चुनावमा जानुपर्छ ।’
प्रतिक्रिया