मावि र निमाविमा अपुग प्राविमा बढी

बाग्लुङ, ३१ असार । म्याग्दीका निम्नमाध्यमिक र माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी अपुग र प्रावि तहमा आवश्यकताभन्दा बढी शिक्षक दरबन्दी रहेको पाइएको छ ।
दरबन्दी अभावमा समुदायले निजी स्रोतका निमावि र मावि तहका शिक्षकलाई तलब खुवाउँदै आएका छन् । तर जिल्ला शिक्षा कार्यालयका अनुसार प्रावि तहमा एक सय ३२ दरबन्दी बढी छ । जिल्लाका निमाविमा ६७ र माविमा ५४ दरबन्दी अपुग रहेको छ ।
विद्यार्थी र विद्यालय संख्याका आधारमा मूल्याङ्कन गर्दा प्रावि तहमा बढी शिक्षक कार्यरत भएको तर निमावि, माविमा शिक्षक अपुग भएको कार्यालयका उपसचिव युक्तप्रसाद शर्माले बताए । जिल्लाका दुई सय ४४ विद्यालयमध्ये विद्यार्थी संख्या कम र थोरै कक्षा सञ्चालन भएका प्राथमिक विद्यालयमा शिक्षक संख्या बढी र अर्को व्यवस्था नहुन्जेलसम्मका लागि समुदायबाट स्रोत जुटाउने सर्तमा निमावि, मावि तह सञ्चालन भएका विद्यालयमा शिक्षक कम भएका हुन् ।
प्रावि तहमा ६ सय ९८ दरबन्दी आवश्यक भए पनि ८ सय ३० शिक्षक कार्यरत छन् । एक सय ४२ शिक्षक कटौती गर्नुपर्ने देखिए पनि विभिन्न विद्यालयमा आवश्यक १० प्रावि तहका दरबन्दी थप गर्नुपर्दा १ सय ४२ दरबन्दी बढी हुने जिशिअ विष्णुनारायण श्रेष्ठले बताए । निम्नमाध्यमिक तहमा तीन सय १३ शिक्षक दरबन्दी आवश्यक रहेकोमा २ सय ४६ मात्र दरबन्दीका शिक्षक कार्यरत छन् ।
विभिन्न विद्यालयमा १० दरबन्दी कटौती गर्नुपर्ने र ७७ दरबन्दी थप गर्नुपर्ने भएकाले निमाविमा ६७ दरबन्दी आवश्यक पर्ने श्रेष्ठको भनाइ छ । माध्यमिक तहमा दुई सय १७ दरबन्दी आवश्यक भए पनि एक सय ६३ शिक्षक मात्र कार्यरत छन् । चारवटा माविका दरबन्दी कटौती गर्नुपर्ने भएकाले थप गर्नुपर्ने ५८ दरबन्दीमध्ये ५४ आवश्यक रहेको बताइएको छ । प्रावि तहमा बढी भएका एक सय ३२ जना शिक्षक दरबन्दीलाई पुलमा कायम गरिएको र काजफिर्तालगायत ५८ शिक्षकको शिक्षक व्यवस्थापन गरिएको उपसचिव शर्माले बताए ।
विभिन्न विद्यालयमा नियमित ढंगबाट रिक्त दरबन्दी पदपूर्तिका लागि क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा फुकुवाका लागि अनुमति माग गरिएको शिक्षा कार्यालयले जनाएको छ । कुनै विद्यालयमा आवश्यकताभन्दा बढी र कुनै विद्यालयमा कम शिक्षक भएपछि कार्यालयले दरबन्दीमिलानको प्रक्रिया अघि बढाएको छ ।
यसैबीच, म्याग्दीका न्यून विद्यार्थी संख्या भएका तीन विद्यालयलाई पूरै र दुईवटालाई आंशिक एकीकरण गरिएको छ । देउराली स्थापना प्रावि राम्चेलाई काफलडाँडा निमाविमा, बालज्योति प्रावि रुमलाई राष्ट्रिय मावि रुममा र धौलागिरि प्रावि धारापानीलाई किसानी माविमा एकीकरण गरिएको हो ।

प्रतिक्रिया