दुई दलीय अधिनायकवादको जन्म

वीरगन्ज, ३० असार । एमाले अध्यक्ष झलनाथ खनालले मुलुकमा एमाओवादी र मधेसवादी दलको दुई दलीय गठबन्धनले मुलुकमा अधिनायकवादको जन्म गराएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘एमाओवादी र मधेसी मोर्चाको अपवित्र गठबन्धनले मुलुकलाई समस्या तर्फ धकेलेको छ ।’ बाराको सीमरा विमानस्थलमा आज विहान सञ्चारकर्मीसँग कुरा गर्दै खनालले केहि हप्ताभित्र दलहरुका बीच सहमति भई राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे ।
एमाले, कांग्रेसलगायतका विपक्षी दलहरु राष्ट्रिय सहमतिका लागि तयार भएपनि वर्तमान सरकारले वाधा उत्पन्न गराईरहेको उनको आरोप छ ।
सरकारले सहमतिका लागि अटेर गरिरहे लोकतान्त्रिक शक्तिहरुबीचको ध्रुवीकरण बढ्ने उनले चेतावनी दिए ।
उनले सरकारको हैसियत नभएकै कारण सरकारले बोलाउने कुनै पनि छलफलमा सहभागी नहुने गरेको बताए । ‘एमाओवादीले बोलाउने छलफलमा जान तयार छौं,’ उनले भने, ‘तर कामचलाउ सरकारले बोलाउने छलफलमा जाँदैनौं ।’
असंवैधानिक सरकारले संवधिानसभाको नयाँ चुनाव घोषणा गरेका कारण निर्वाचनमा सहभागी नहुने घोषणा आफूहरुले बाध्य भएर गर्नुपरेको खनालले बताए ।

प्रतिक्रिया