ऊर्जाद्वारा दोस्रो प्रसारण लाइन बनाउन प्रस्ताव


काठमाडौं, ३० असार । ऊर्जा मन्त्रालयले दोस्रो नेपाल–भारत क्रस बोर्डर प्रसारण लाइन बनाउन प्रस्ताव अघि बढाएको छ । पहिलो क्रस बोर्डर प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको एक साता नबित्दै मन्त्रालयले दोस्रो प्रसारण लाइन बनाउन प्रक्रिया थालेको हो । पहिलो प्रसारण लाइन बनाउने समझदारी भएको पाँच वर्षपछि दुई देशबीच गत २५ असारमा मात्र लगानी सम्झौता भएको थियो । नेपालकै पहिलो नेपाल र भारतबीच ४०० केभीको ढल्केबर–मुजफपुर प्रसारण लाइन डिसेम्बर २०१४ भित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
पहिलो क्रस बोर्डर प्रसारण लाइन बनाउनै ढिला भइरहेका बेला ऊर्जाले दोस्रो क्रस बोर्डर प्रसारण लाइन बनाउने प्रस्ताव अघि बढाउन शुक्रबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । ‘लोडसेडिङ न्यूनीकरण गर्न सहयोग पुग्ने तथा नेपालमा उत्पादित बिजुली भारतलाई बेच्नसमेत सजिलो होस् भनेर दोस्रो क्रस बोर्डर लाइन बनाउन प्रस्ताव अघि बढाइएको छ,’ ऊर्जासचिव हरिराम कोइरालाले भने, ‘दुई देशबीच छलफल गर्नुपर्ने भएकाले परराष्ट्र पठाइएको हो ।’ ऊर्जा मन्त्रालयका अनुसार कहाँदेखि कहाँसम्म क्रस बोर्डर बनाउने भन्नेबारे भने दुई देशबीच सहमति भएपछि अध्ययन प्रक्रिया अगाडि बढाइनेछ ।
पहिलो क्रस बोर्डर लाइनबाट एक हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने भएकाले नेपालमा उत्पादित थप विद्युत् भारत निर्यात गर्न सजिलो होस् भनेर दोस्रो क्रस बोर्डर बनाउनका लागि ऊर्जा अगाडि बढेको हो । ‘पहिलो क्रस बोर्डर लाइनबाट एक हजार मेगावाट मात्र विद्युत् आदानप्रदान गर्न सकिन्छ, थप आदानप्रदानका लागि अर्को क्रस बोर्डर लाइन आवश्यक छ,’ नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक शेरसिंह भाटले भने । क्रस बोर्डर लाइनको अभाव, उत्पादन हुने विद्युत् प्राधिकरणले खपत गर्न नसक्ने र आयोजना निर्माणपछि विद्युत् बेच्न नसकेर घाटा पर्न सक्ने निजी क्षेत्र र ठूला आयोजनाका लगानीकर्ताको चिन्तालाई दृष्टिगत गरी भारतलगायत देशलाई विद्युत् बेच्न सजिलो बनाउने उद्देश्यले ऊर्जाले प्रस्ताव अघि सारेको हो । दोस्रो क्रस बोर्डर लाइन अघि बढाउन सके निजी लगानीकर्ता उत्साहित भई छिटो जलविद्युत् उत्पादन अघि बढ्ने आशा प्राधिकरणको छ ।
ऊर्जा मन्त्रालयले नेपाल–भारतबीचको पावर ट्रेड एग्रिमेन्ट गर्नसमेत छलफल अगाडि बढाएको छ । एक वर्षभित्र सम्झौता गर्न सके अझ निजी क्षेत्र ढुक्क हुने ऊर्जाको दाबी छ ।

प्रतिक्रिया