बमजनद्वारा शान्ति सुरक्षाको माग

काठमाडौ, २९ असार । आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बमजनले शान्ति सुरक्षाको माग गरेका छन् ।
उनका समर्थकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारसँग तपस्याका लागि सुरक्षा आवश्यक रहेको भन्दै बमजनलाई सुरक्षा उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले हलखोरियामा बन फडानी गरेको अभियोगमा लागेको मुद्धा खारेजी गर्न समेत माग गरेका छन् ।
बमजनका समर्थकले सार्वजनिक जंगल अतिक्रमण गरेर फडान गरेको भन्दै जिल्ला बन कार्यालय बाराले पक्राउ पूर्जी समेत काटिसेको समाचार सार्वजनिक भईसकेका छन् ।
बोधी श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ, उर्गेन छ्योइलिङ गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदीबासी जनजाती महासंघले बमजन विरुद्धका मुद्धा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
उनीहरुले बमजनको सुरक्षाका साथै बाराको हलखोरिया बनलाई धार्मिक बन घोषणा गरी विश्वसम्पदा सूचिमा सूचिकरण गर्नु पर्ने, बमजनका अनुयायी र भक्तजनहरुमाथि लगाएको बन फडानीको झुठा मुद्दा खारेज गर्नु पर्ने लगायतका माग गरेका छन् ।
बमजनका समर्थकलाई बन फडानीको अभियोगमा मुद्धा लागेपछि आफू तपस्वी रहेको दाबी गर्ने बमजन हलखोरिया जंगल छाडेर केही समर्थक सहित सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थीत जनकल्याण सामूदायिक बनमा कब्जा जमाई बसेका छन् । उनी टाटापिकअप गाडीबाट केही साता अघि राति सिन्धुली गएका हुन् ।
बिदेशी महिला बन्धक बनाउने, पत्रकारलाई कुटपिट गर्ने, सार्वजनिक बन फडानी गर्ने, सडक अबरोध गर्ने, स्थानीय गाउँलेसँग झडप गर्ने लगायतका कार्य गरेर विवादमा आईरहने बमजन र उनका समर्थकले पुनः शान्ति सुरक्षाको माग गरेर चकित बनाएका छन् । शान्ति र ज्ञानका लागि तपस्या बसेको दाबी गर्ने बमजनले सुरक्षा माग गरेर सबैलाई आफू तर्फ आकर्षित गरेका छन् ।

प्रतिक्रिया